सजिलै बनाउन सकिन्छ खानेपानीलाई स्वच्छ !
काठमाडौँ, ३ भदौ । केही दिनयता बाढीपहिरोले गर्दा मुलुकका विभिन्न ठाउँमा अनेक विपत्ति निम्तिएका छन् । तिनैमध्येको एक हो– स्वच्छ खानेपानीको उपलब्धता । यही प्राकृतिक विपत्तिका कारण तराईका धेरैजसो भागमा सङ्लो पानी पाउन गाह्रो भइरहेको छ । बाढी प्रभावितहरू जस्तोसुकै पानी खान बाध्य भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्रदूषित पानीले झाडापखाला, हैजा, आउँ, रगतमासी, टाइफाइड, हेपाटाइटिस, पोलियोलगायतका रोग हुन सक्छ । प्रदूषित खानेपानीले गर्दा उत्पन्न झाडापखालाले बर्से्नि ५ लाख २ हजार जनाको मृत्यु हुने गरेको आँकलन छ ।
बाढी प्रभावित क्षेत्रमा शुद्घ खानेपानीको उपयोग गर्न सके सम्भावित महामारीलगायतका विभिन्न संक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारणले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य सुझाउँछन् ।
विपद् प्रभावित क्षेत्रका बासिन्दालाई खान र सरसफाइको लागि स्वच्छ पानी उपलब्ध हुन सके पानीजन्य रोगको जोखिमबाट जोगाउन सकिन्छ । किनभने हामी पानीबिनाको जीवनको कल्पनासम्म गर्न सक्दैनौं । हाम्रो शरीरलाई कति पानी चाहिन्छ भन्ने कुरा तपाईंको आकार, शारीरिक सक्रियताको स्तर र तपाईं बस्ने ठाउँको मौसममा निर्भर हुन्छ ।
पानी शुद्घ बनाउनको लागि पहिलो सर्त हो– यो सङ्लो हुनु । फोहोरमैला मिसिएर पानि धमिलो भएको हुन्छ । यसैले सबैभन्दा पहिले पानीको धमिलोपन हटाउनुपर्छ । पानी धमिलो हुनु भनेको त्यसमा जीवाणुहरू हुनु हो । सामान्यतः पानीको धमिलोपन हटाउँदा मात्रै पनि ९० प्रतिशतसम्म जीवाणु आफंै हट्छन् । यसपछि थप शुद्घीकरण गरेर पानीलाई अझ स्वच्छ बनाउन सकिन्छ । शुद्घीकरणको सुरुको अवस्था नै पानीको धमिलोपन हटाउनु हो ।
‘जसरी हामी कागती राखेर दूधलाई पटाउछौँ, ठीक त्यसरी नै पानीमा भएको फोहोर हटाउन फिटकिरी राख्ने गर्छौं,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड, पानी गुणस्तर महाशाखाका प्रमुख एवं माइक्रोबायोलजिस्ट ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘ठिक्क मात्रामा फिटकिरीको झोल बनाएर थोपाथोपा फोहोर पानीमा राख्दा हिलो, माटो, फोहोर आदि थिग्रिन्छ र पानी सफा हुन्छ ।’
पानीजन्य रोग नलागोस् भन्न
उमालेको पानी हालेर बनाइएको पेयपदार्थ मात्र खानुपर्छ ।
क्यान र व्यावसायिक रूपमा बोतलमा राखिएको कार्बोनेटेड पानीलगायत पेयपदार्थ मात्र लिनुपर्छ ।
बरफ प्रदूषित हुन सक्ने सम्भावना भएकाले यो खानुहुन्न ।
विज्ञानसम्मत प्रक्रियाले शुद्घ पारिएको पानी मात्र खानुपर्छ ।
यदि तपाइले फिटकिरी आदि पाउनुभएन भने सफा कपडालाई ६–७ पत्र बनाएर विस्तारै पानी छान्दासमेत पानीको फोहोर, धमिलोपन केही मात्रामा कम हुन्छ । धमिलोपना कम भएको पानीलाई उमालेर पूर्णशुद्घ बनाउनु सबैभन्दा भरपर्दो र राम्रो उपाय हो । यसो गर्दा पानी शुद्घ हुनुका साथै भरपर्दोसमेत हुन्छ ।
तर बाढीमा परेका बेला पानी उमाल्न सम्भव हुन्न । यस्तोमा धमिलोपन हटाएको एक लिटर पानीमा २–३ थोपा क्लोरिन झोल राखेर आधा घण्टा त्यत्तिकै छाडिदिने गरे पानी शुद्घ हुन्छ । यस्तै, पानीमा क्लोरिन चक्की हालेर पनि शुद्घ गर्न सकिन्छ । क्लोरिन झोल र चक्कीको बट्टामा यसलाई कसरी कति मात्रामा उपयोग गर्ने भन्नेबारे विस्तृत जानकारी लेखिएको हुन्छ । डा. आचार्यका अनुसार, क्लोरिन चक्की र झोल बाढी प्रभावित विभिन्न क्षेत्रमा प्रशस्त मात्रामा निस्शुल्क वितरण गरिएको छ ।
पानी सङ्लो छ भने यसलाई घामको माध्यमले समेत शुद्घ बनाउन सकिन्छ । यो ‘सोलर डिसइन्फेक्सन’ अर्थात् घामको सहयोगले पानी शुद्घीकरण गर्ने प्रक्रिया हो । यसलाई बोलचालमा ‘सोडिस’ प्रविधिसमेत भनिन्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, सोडिस प्रविधि सन् १९८० मा बिनाकुनै खर्च जीवनजलमा शुद्घ पानी मिसाउनका लागि विकसित गरिएको हो । यसअन्तर्गत प्लास्टिकको सेतो बोतलमा सङ्लो पानी भरिन्छ र यसलाई बेस्सरी हल्लाएपछि यसलाई सूर्यको दिशामा करिब ४५ डिग्रीको कोण बनाएर तेर्सो पारेर राखिन्छ । यसलाई घरको छानामा समेत राख्न सकिन्छ । घाम लागेको समय करिब ६ घण्टा र बादल लागेको मौसम भए करिब दुई दिनसम्म पानीलाई घाममै राख्दा यो खानयोग्य हुन्छ । सोडिस प्रविधिले झाडापखाला उत्पन्न गर्ने भाइरस, ब्याक्टेरिया र प्रोटोजोआलाई निस्क्रिय बनाउने तथ्य प्रयोगशालामा देखिएको छ । कार्कीका अनुसार, सोडिस प्रविधिले ९० प्रतिशतसम्म पानीको शुद्घता हुन्छ । तर यस्तो गर्नका लागि पानी सङ्लो हुनुपर्छ, प्लास्टिकको बोतल पारदर्शी हुनुपर्छ । एक हजार लिटर सफा पानीमा अन्दाजी आधा चम्चा ब्लिचिङ पाउडर हालेर आधा घण्टासम्म छोड्दासमेत पानी खानयोग्य हुने कार्की बताउँछन् ।
बाढीले वा अन्य कुनै विपद्ले गर्दा पानी धमिलो छ र यसको धमिलोपन हटाउने कुनै उपाय छैन भने, पानीलाई १० देखि १५ मिनेटसम्म उमाल्नुपर्छ । उमालेपछि पानीको धमिलोपना विस्तारै तल बस्छ र सफा शुद्घ पानी खान सकिन्छ ।
युनाइटेड स्टेटस् इन्भायरोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए) का अनुसार किटाणु, जीवाणु, विषाणु (ब्याक्टेरिया, भाइरस) र प्रोटोजोआ (एक कोषीय जीव) लाई मार्न पानी उमाल्नु पर्याप्त हुन्छ । यदि पानी धमिलो छ भने यसलाई सफा लुगालगायतको माध्यमले छान्न सकिन्छ । पानीलाई उमालेपछि यसलाई प्राकृतिक रूपमै चिसो हुन दिनुपर्छ, राम्ररी छोपेर राख्नुपर्छ ।
उमालेको पानीको स्वाद राम्रो बनाउन प्रतिलिटर पानीमा एक चिम्टी नुन राख्न सकिने ईपीएले जनाएको छ । हाल गाउँसहर सबैतिर प्रेसरकुकर पाइन्छ । सकिन्छ भने पानीलाई प्रेसर कुकरमा हालेर सिटी लगाएर उमाल्नुस् । यो शुद्घीकरणको सबैभन्दा राम्रो, प्रभावकारी र सुरक्षित उपाय रहेको कार्की औल्याउँछन् । तैपनि पानी शुद्घीकरण गरेपछि ढुक्क हुने स्थिति हुँदैन । यसलाई सुरक्षित रूपमा भण्डारण गरेर राख्नुसमेत थप चुनौती हो ।
पानी विकल्परहित
हाम्रो स्वास्थ्यका लागि पानी अत्यावश्यक छ नै, तर त्यो स्वादहीन, गन्धहीन र रंगहीन हुनु जरुरी छ । खाने पानी किटाणुरहित हुनुका साथै यसमा शरीरलाई नोक्सान र्पुयाउने कुनै पनि गन्ध, रसायन र स्वाद हुनु हुँदैन ।
खानाबिना हामी दुई साताभन्दा बढी समयसम्म बाँच्न सक्छौँ । तर पानीबिना एक साताभन्दा बढी बाँच्न सक्दैनौं ।
मायो क्लिनिकका अनुसार, एक दिनमा कुनै पनि स्वस्थ वयस्क पुरुषको लागि करिब तीन लिटर र महिलाका लागि करिब सवा दुई लिटर पानी पर्याप्त हुन्छ । तर, व्यक्तिविशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कारकमा निर्भर गर्छ ।
हाम्रो शरीरको करिब ६० देखि ७० प्रतिशत भाग पानीले बनेको छ । शरीरका सबै प्रणाली पानीमै निर्भर हुन्छन् । पानीले हाम्रो शरीरको महत्त्वपूर्ण अंगबाट विषाक्त पदार्थ बाहिर निकाल्ने गर्छ । कोषहरूमा पोषणसमेत र्पुयाउँछ । यसले कान, नाक र घाँटीका तन्तुलाई ओसिलो बनाइराख्न मद्दत पनि गर्छ ।
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>