पहिरोमा परि घाइते भएको सातादिन पछि अस्पताल
            चितवन, २ भदौ । पहिरोमा पुरिएर घाइते राप्ती नगरपालिका–१३ सार्लिङकी ६० वर्षीया मैयामाया चेपाङलाई एक सातापछि अस्पताल ल्याइएको छ । पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिएपछि आफन्तले तत्काल अस्पताल र्पुयाउन नसकेका हुन् ।
शनिबार राति पहिरोले घर पुरेपछि उनका पति ७० वर्षीय रणबहादुरले ज्यान गुमाए । मैयाँको पनि आधा शरीर पुुरियो । स्थानीयले थाहा पाएपछि आइतबार बिहान ८ बजे मात्र उनको उद्धार भयो । पहिरोले मलेखु–भण्डारा चेपाङ मार्गसमेत अवरुद्ध भएपछि सदरमुकाम पुग्न हिँड्नुको विकल्प रहेन । ‘छोराहरू ज्याला मजदुरी गर्न चरौंदी झरेका थिए, बुहारी माइत थिइन्,’ मैयाले बेडबाटै भनिन्, ‘घरमाथिबाट ठूलो आवाजसहित पहिरो आयो, बूढा मरे, बचाऊ भन्दै कराइरहेका थिए, मलाई पनि पुरिहाल्यो, राति भएकाले कसैले देखेन ।’
उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । पहिरोमा परेदेखि केही खान नपाएको मैयाले बताइन् । ‘पहिरोले कम्मरमुनि र्पुयो, माटो फाल्दै रातभर बसें, माथिबाट झरेका ढुंगाले टाउकामा लागेर घाउ भयो,’ उनले सम्झिइन्, ‘बिहान मात्र बूढा बितेको थाहा पाएँ, नातिले देखेर गाउँलेलाई खबर गरेपछि म बाँचें ।’ उनलाई पहिरोबाट झिक्न गाउँलेलाई झन्डै २ घण्टा लागेको थियो । गाउँको स्वाथ्यचौकीमा उपचार नहुने भएपछि १३ जनाले पालैपालो बोकेर अस्पताल ल्याएका हुन् ।
‘बुधबार बिहान ५ बजे हिँडेको राति साढे १२ बजे चौकीडाँडा आइपुगियो,’ गाउँका अगुवा आइतबहादुर चेपाङले भने, ‘पहिरोले गाउँ क्षतविक्षत बनाएको छ ।’ मैयामायालाई भरतपुर अस्पताल भर्ना गरिएको छ । उनका ४ छोरा र १ छोरी छन् । गाउँलेले मैयालाई घरभन्दा १ सय मिटर तल चिलेक्ती खोलामा फेला पारेका थिए । घर मात्र होइन पाकेको मकैसमेत पुरिएको छ । लगाएको लुगाबाहेक केही बचेन । ‘बारीमा ४० डोको मकै हुन्थ्यो,’ स्थानीय मणिलाल चेपाङले भने, ‘७ डोको मात्र भाँचेका थियौं, अरू सबै पहिराले लग्यो ।’ उनको ६ जनाको परिवार त्यही मकैले धानिनुपर्छ । ‘पहिले फागुन–चैतबाट अनिकाल लाग्थ्यो,’ उनले भने, ‘यसपालि भदौबाटै लाग्ने भयो ।’ अधिकांश गाउँलेका मकै पहिराले पुरेको छ । खहरेखोला बारीमा पसेर बगाएको हो ।
‘मकै भाँच्न नपाई पहिराले खायो,’ विमान चेपाङले भने, ‘मकै पाक्ने भएकाले यो महिना सहकालको रूपमा चिनिन्थ्यो । बल्ल अनिकाल सकिएर पेटभरि खान पाइएला भन्दै रमाएका हामी फेरि भोकै पर्ने भयौं ।’ वडाध्यक्ष सूर्यबहादुर चेपाङले पहिरोले गाउँमा ठूलो क्षति र्पुयाएको बताए । ‘तत्काल राहत र्पुयाउनुपर्छ, पहल भइरहेको छ,’ उनले भने, ‘चेपाङको मुख्य अन्नबाली मकै र कोदो नष्ट भएकाले अनिकाल हुने खतरा छ ।’
 
(आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेको समाचार)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>