२३ वर्षमा साढे आठ हजारले गरे आँखादान, दान गर्नेमा नेतादेखि कलाकारसम्म 



Download our app to get more features

काठमाडौं । आँखा बैंकले स्थापनाको २३ वर्षमा आठ हजार पाँच सय २८ आँखाका नानी प्राप्त गरेको छ । आँखाको नानी प्रत्यारोपणबाट दृष्टिवीहिनलाई पुनःदृष्टि प्रदान गर्ने उद्देश्यले सन् १९९४ सेप्टेम्बर १६ मा नेपाल आँखा बैंक स्थापना भएको थियो । 

आँखा बैंकका प्रबन्धक शंखनारायण त्वाय्नाले यो अवधिमा १० हजार एक सय २ वटा आँखाको नानी प्रत्यारोपण भएको बताए । बैंक स्थापनको सुरुमा विदेशबाट आँखाको नानी झिकाएर सेवा प्रवाह गरेकोमा अहिले नेपाली दाताबाटै मासिक ६० वटासम्म नानी आँखा बैंकलाई प्राप्त हुने उनको भनाइ छ । यसरी प्राप्त भएका आँखाका नानी बंैकले १४ दिनसम्म सुरक्षित राख्ने गर्छ । इन्टरनेशनल फेडेरेसन अफ आइ एण्ड टिस्यु बैंकको सहयोगमा गौशालास्थित तिलगंगा आँखा केन्द्रमा नेपाल आँखा बैंकको स्थापना भएको हो । प्रबन्धक त्वाय्नाका अनुसार मानिसको मृत्युपछि मात्रै आँखा निकाल्न सकिन्छ । आँखा दान भनेको आँखाको डल्लो नभई कर्निया मात्रै निकाल्ने हो । 

आँखा दान घोषणा गर्ने ६० हजार नाघे

प्रबन्धक शंखनारायण त्वाय्ना अनुसार आँखा दानको इच्छा गर्नेको संख्या ६० हजार दुई सय ३४ पुगेको छ । बैंक स्थापना भएको वर्ष जम्मा २ वटा आँखाको नानी प्राप्त भएको थियो भने सन् १९९५ मा ४ वटा प्राप्त भएको थियो । त्यस्तै सन् १९९६ मा ३८ वटा आँखाको नानी प्राप्त भएको थियो । सन् २०१४ मा यो सङख्या बढेर ७ सय ९ पुगेको थियो । सन् २०१५ मा ६ सय एक, २०१६ मा ७ सय ११ र २०१७ अगस्ट १४ सम्म ४ सय ८३ आँखाको नानी प्राप्त भएको आँखा बैंकले जनाएको छ । 

यस्ता छन् दृष्टिवीहिन हुने कारण  
अन्धोपनाका कारण बारे नेपाल हालै सम्पन्न एक सर्वेक्षणले प्रति सयमा एक व्यक्ति दृष्टिवीहिन रहेको देखाएको छ । सर्वेक्षणले दृष्टिवीहिनको पहिलो कारण आँखामा हुने लेन्सको पारदर्शकत्वमा ह्रास वा कमीबाट हुने मोतिबिन्दुलाई देखाएको छ । यस्तै आँखाको नानीमा आउने खराबीका कारण हुने दृष्टिविहीन दोस्रोमा छ । आँखाको नानीमा फुलो परे त्यसको उपचारमा कुनै औषधि मुलो छैन । यसको एक मात्रै विकल्प आँखाको नानी फेर्नु हो । नानी प्रत्यारोपणपछि त्यस्ता व्यक्तिले फेरी देख्न सक्छन् । 

मेलापात, वनपाखा धाउँदा र अन्य काम गर्दा आँखामा ठूलो, सानो घाउ चोटपटक लाग्न सक्छ । यसरी आँखामा लागेको चोटपटक समयमै उपचार नहुँदा आँखाको नानीमा फुलो बस्छ । यही कारण उक्त व्यक्ति पछि दृष्टिहीन बन्न सक्छ । यसबाहेक आँखा पाक्नु, दादुरा, टाइफाइट, बिफर तथा कुपोषण आदिका कारणले पनि आँखाको नानीमा फुलो पर्न सक्छ । नानीमा हुने खराबीका कारण दृष्टिवीहिन हुनेहरूमा प्राय बच्चा र युवाहरू बढी देखिन्छन् । 

के हो आँखा प्रत्यारोपण
आँखा फेरीयो अथवा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा आँखाको डल्लो नै फेर्ने पो हो की भन्ने पर्न सक्छ । तर, वास्तवमा आँखाको डल्लो फेर्ने नभई केवल आँखाको नानी मात्रै प्रत्यारोपण अथवा फेर्ने हो । यसलाई नै आँखा प्रत्यारोपण भनिन्छ । आँखाको बाहिर पट्टि रहेको पारदर्शी झिल्ली नै आँखाको नानी हो ।
फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्दा उनीहरूको आँखाको नानीलाई झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी प्रत्यारोपण गरिन्छ ।
 
क–कसले गर्न सक्छन् आँखादान 
आँखा दान जो सुकै व्यक्तिले गर्न सक्छन । तर दाताको आँखा स्वस्थ हुनुपर्छ । जुनसुकै उमेर समूह तथा आँखाको पावर कम वा बढी भएका, चस्मा वा लेन्स प्रयोग गरेका सबैले आँखा दान गर्न सक्ने बैंकका प्रबन्धक त्वाय्नाले बताए ।  
  
आँखा दान गर्ने नेता कलाकार
कलाकार
शान्ति मास्के
साहित्यकार
केदारमान व्यथित
जगदीश घिमिरे
नेता
मनोमोहन अधिकारी
निर्मल लामा

आँखा दानको घोषणा गर्ने नेता कलाकार
नेता
माधव कुमार नेपाल
झलनाथ खनाल
कीर्तिनिधि विष्ट
पूर्ण कुमारी सुवेदी
प्रदिप नेपाल
कलाकार
हरिवंश आचार्य
मदनकृष्ण श्रेष्ठ 
राजेश हमाल
करिश्मा मानन्धर

Last modified on 2017-08-17 18:08:26

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts