माइग्रेन र बच्ने उपायहरु
            काठमाडौं,२८ साउन । माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो ।
यो रोग भएका बिरामीको टाउकोभित्रका मस्तिष्कका रक्तनलीहरु समय–समयमा फुल्ने गर्नाले ती रक्तनलीवरिपरिका नसाहरु तकिन्कन्छन् र ती नसाहरुले विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् ।
यो एउटा लामो समयसम्म रहिरहने रोग हो । माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनाऔं भने पीडाबाट धेरै हदसम्म मुक्त हुन सक्छौं । माइग्रेनका  लक्षण बेलाबेलामा बाल्झिरहने र पूर्ण रुपमा ठीक हुन निकै गाह्रो हुन्छ । 
लक्षणहरु :
- कहिलेकाँही टाउकोमा एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्छ ।
 - यसमा टाउको टनटनी दुख्ने तथा आँखाका गेडा दुख्ने गर्छ ।
 - टाउको दुख्नुका साथै वाक्वाकी लाग्ने, बान्ता हुने, चर्को आवाज सुन्न नसक्ने, हातखुट्टा चिसो हुने हुन्छ ।
 - यो समस्या देखिएकाहरुको टाउको दुखाइ बल्झरहनुभन्दा अघि कसैकसैमा चिडचिडापना आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाइ लागेको जस्तो हुनेलगायत समस्या पनि देखिन्छन् ।
 
कारणहरु :
बढी मानसिक चिन्ता
चिया र कफिको अत्याधिक सेवन
समयमा नसुत्नु
पीडा कम गर्ने औषधी बढी मात्रामा प्रयोग गर्नु  
 
रोकथाम कसरी गर्ने ?
- माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरु जस्तै : चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खाने ।
 - नियमित रुपमा एउटै समयमा सुत्ने बानीको विकास गर्ने
 - चिन्तालाई मनबाट हटाउने
 - घाममा धेरैबेर नबस्ने, यदि घाममा हिँड्नुपरे छाता प्रयोग गर्ने
 - पीडा कम गर्ने औषधि कम प्रयोग गर्ने ।
 
(आजको नयाँ पत्रिका दैनिकबाट)
                     Last modified on 2017-08-12 10:09:54                
                
                                    