देशभर ‘एनेस्थेटिस्ट’ डाक्टर अभाव



Download our app to get more features

काठमाडौँ , २८ साउन । शल्यक्रियाको समयमा बिरामीलाई बेहोस पार्ने चिकित्सक ‘एनेस्थेटिस्ट’को अभाव भएको छ । स्वास्थ्य सेवाको विस्तार क्रमिक रूपमा वृद्धि हुँदै जाने, तर एनेस्थेटिस्टको संख्या आवश्यक मात्रामा नहुँदा शल्यक्रियालगायत महत्वपूर्ण सेवा प्रभावित हुने गरेको छ ।

उपत्यकालगायत केही अञ्चल अस्पतालमा एक–एकजना ‘एनेस्थेटिस्ट’ रहे पनि दरबन्दीअनुसार नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । ‘वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र प्रसूतिगृहमा भने दरबन्दीअनुसार एनेस्थेटिस्टको संख्या रहेको छ,’ श्रेष्ठले भने, ‘बाँकी कुनै पनि अस्पतालमा एनेस्थेटिस्टको संख्या आवश्यकताअनुसार छैन ।’

सरकारसँग देशभर जम्मा १८ जना मात्रै एनेस्थेटिस्ट छन् । २७ दरबन्दी रिक्त छ । श्रेष्ठले कम्तीमा पनि २७ जना एनेस्थेटिस्ट भए ५० बेडसम्मका प्रत्येक सरकारी अस्पतालमा एकजनासम्म पठाउन सकिने बताए । एनेस्थेटिस्ट नहुँदा कतिपय स्थानमा सहायक एनेस्थेटिस्टबाट सामान्य चिरफारका कामहरू हुँदै आएका छन् । तर, भित्री चिरफारमा भने एनेस्थेटिस्ट नै आवश्यक पर्छ ।

पढ्नै मान्दैनन् एनेस्थेसियोलोजी 

मन्त्रालयका अनुसार एनेस्थेसियोलोजीको अध्ययनमा विद्यार्थीको रुचि देखिँदैन । सरकारले दिएको छात्रावृत्ति कोटा पनि थोरै रहेको डा. भोलाराम श्रेष्ठले बताए ।

एनेस्थेटिस्ट डाक्टरी पेसाजस्तो नभएको विद्यार्थीहरू बताउने गर्छन् । श्रेष्ठका अनुसार विद्यार्थीले सबैले मान्ने र बाहिर पनि काम गर्न स्वःस्फुर्त पाउने भएकाले एनेस्थेटिस्टभन्दा डाक्टर उपयुक्त भएको बताउने गरेका छन् ।

पछिल्ला वर्ष विद्यार्थीको रोजाइमा रेडियोलोजी, मेडिसिन, अर्थोपेडिक्स पर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षका लागि एनेस्थेसियोलोजी अध्ययन छात्रवृत्तिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई सिट, शिक्षण अस्पताल महाराजगन्जमा दुई सिट र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ६ सिट छुट्याएको छ । मागअनुसार यो संख्या निकै थोरै रहेको मन्त्रालयले जनाएको छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-08-12 13:41:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts