अंग प्रत्यारोपणबारे मानिसमा न्यून चेतना



Download our app to get more features

काठमाडौँ, २६ साउन । सरकारले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३ पारित गरेको आठ महिना बितिसकेको छ । नियमावली पारित भएसँगै नेपालमा ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट विभिन्न अंगहरू निकालेर अर्को व्यक्तिमा प्रत्यारोणको बाटो खुलेको थियो । मानव अंग प्रत्यारोपणबारे बलियो नियम, पर्याप्त जनशक्ति र प्रविधि हुँदाहुँदै पनि अंगदान व्यवहारमा भने प्रभावकारी हुन नसकेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

हालसम्म केन्द्रले मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट मात्रै मृगौला प्रत्यारोपण गर्न सफल भएको छ । गत वैशाखमा सडक दुर्घटनामा परेका ३० वर्षीय गोविन्द भुजेलको मस्तिष्क मृत्यु भएको थियो । केन्द्रले भुजेलका दुई मृगौला दुई फरक व्यक्तिमा प्रत्यारोपण गरेको थियो । एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मृगौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्यांक्रियाज, एक सानो आन्द्रा, दुई आँखाका नानी तथा छालालगायत दान हुन सक्छ । तर, अंगदान उपयोगिताबारे जनमानसमा चेतना नहुँदा मस्तिष्क मृत्युपश्चात् मानिसहरू अझै अंगदान गर्न नमान्ने, हिच्किचाउने समस्या भएको डा. श्रेष्ठले बताए । 

मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार सडक दुर्घटनाका कारण राजधानीमा मात्रै बर्सेनि करिब एक हजार व्यक्तिको मस्तिष्क मृत्यु हुने गरेको छ । ‘मृतक पक्षका परिवारलाई बुझाउन सकेमा हजारौं संख्यामा विभिन्न अंगदान हुने थियो । धार्मिक, सांस्कृतिक आस्था र अज्ञानताका कारण अंगदानबारे मानिसहरू अझै खुल्न सकेका छैनन्,’ डा. श्रेष्ठले भने, ‘यसबारे चेतना फैलाउन सरकारले मुख्य भूमिका खेल्नुपर्ने देखिन्छ । यस्ता समस्या छिचोल्न सरकारले अंगदान गर्ने मृतक पक्षका परिवारलाई किरियाखर्च दिने, अंग प्रत्यारोपण गर्ने अस्पताल र स्वास्थ्यकर्मीलाई आर्थिक राहत दिनुपर्ने र अंगदानबारे पाठ्यक्रम बनाउनुपर्ने केन्द्रका चिकित्सक बताउँछन् । अस्पताल अनुमानअनुसार नेपालमा बर्से्नि ३ हजार जनाको मृगौला, एक हजार जनाको कलेजो ‘फेल’ हुने गरेको छ । 

अंग प्रत्यारोपण गर्नेबारे चेतना बढाउन सकेमा खेर जाने अंगबाट हजारौं व्यक्तिलाई नयाँ जीवन दिन सकिने केन्द्रका चिकित्सकहरू बताउँछन् । अंग प्रत्यारोपणका लागि सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको मानव अंग प्रत्यारोण केन्द्रलाई समन्वय इकाई तोकेको छ । राजधानीका अस्पतालहरूमा मस्तिष्क मृत्यु हुनेको संख्या पनि बढिरहेको छ तर, ती अस्पतालबाट केन्द्रमा जानकारी नआउने हुँदा ऐन व्यावहारिक बनाउन कठिन भइरहेको केन्द्रको गुनासो छ । ‘हालसम्म अस्पतालबाट मस्तिष्क मृत्यु हुने ९ जनाको विवरण आएको छ, अहिलेम्म त कम्तीमा २०÷३० मृतकको खबर आउनुपर्ने हो, आउन सकेको छैन,’ डा. श्रेष्ठले भने । ९ जनामध्ये पाँच जनाको परिवारले अंगदान गर्न नमानेको र ४ जनाको त मेडिकल टेस्ट गरिहेर्दा अंग नै काम नलाग्ने देखिएको केन्द्रले जनाएको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts