मेडिकल काउन्सिलका पूर्वपदाधिकारी छानवीनमा तानिए
काठमाडौँ, २० साउन । मेडिकल कलेजको सिट निर्धारणमा अनियमितता गरेको पाइएपछि चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल काउन्सिलका पूर्वपदाधिकारीलाई बयानका लागि बोलाएको छ ।
आयोगको बिहीबारको बैठकले काउन्सिलका पूर्वअध्यक्ष डा. दामोदर गजुरेल, रजिस्ट्रार डा. नीलमणि उपाध्यायसहित २० जनालाई जाँचबुझका लागि बोलाउने निर्णय गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । गलत मनसायले तयार गरिएको अनुगमन प्रतिवेदनको आधारमा गजुरेल र उपाध्यायले मेडिकल कलेजको सिट निर्धारण गरेको पाइएपछि आयोगले बयानका लागि बोलाएको स्रोतले जनायो । ‘एउटै व्यक्तिलाई १७ पटकसम्म अनुगमन गर्न पठाएको पाइयो,’ स्रोतले भन्यो, ‘यस्ता व्यक्तिले अनुगमन गरेको प्रतिवेदन काउन्सिलको बैठक कोरम नपुगेपछि भोलिपल्ट रजिस्ट्रार र अध्यक्षले आफूखुसी निर्णय गरेको पाइयो ।’
आयोगले काउन्सिलका तत्कालीन उपाध्यक्ष डा.ए.इ.अन्सारी, सदस्यहरू अनिलकुमार झा, डा. अञ्जनीकुमार झा, डा. अंकुर शाह, डा. विश्वराज दवाडी, डा. देवनारायण शाह, डा. गणेश गुरुङ, डा. हिरेन्द्रमान प्रधान, डा. कुलदीप गोइत, डा. मनोहर प्रधान, डा. नरेन्द्रबहादुर राणा, डा. नीरज पन्त, डा. प्रकाश भट्टराई, डा. रमेशप्रसाद सिंह, रोशन पिया, डा. सतीशकुमार देव, डा. शिवजी पौडेल र डा. सुदिन शाक्यलाई जाँचबुझका लागि बोलाएको हो ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयले लिन लागेको एमडी र एमएसको परीक्षामा हस्तक्षेप गर्ने अख्तियारको विज्ञ टोलीका ८ जनालाई पनि आयोजले जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ । उक्त टोलीले गत वर्ष जेठ १५ मा पेस्ट ग्राजुएट तहको प्रवेश परीक्षा सञ्चालन गर्ने क्रममा आफैं प्रश्नपत्र बनाएर परीक्षा लिएको थियो । त्यसो गर्नेको टोलीमा डा. शशि शर्मा, डा. सुबोध अधिकारी, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सरोज श्रेष्ठ, डा. सुप्रभावत श्रेष्ठ, डा. हीरा तुलाधर र डा. प्रकाश तुलाधर थिए ।
त्यतिबेला केयूको एमडी, एमएसलगायत पोस्ट ग्राजुएट तहको प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएको भन्दै अख्तियार टोली सीआईबीका डीआईजीसहित धुलिखेल पुगेको थियो । ‘अख्तियारको विज्ञ समूहले ०७३ जेठ १३ देखि १५ गतेसम्म विश्वविद्यालयको बन्द कोठामा बसेर प्रश्नपत्र बनाउनेदेखि नतिजा प्रकाशन गराएको थियो,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले विशेषज्ञ लगे पनि दैनिक भत्ता भने विश्वविद्यालयले दिएको थियो । एक जना विज्ञलाई दैनिक ५ हजारको दरले भत्ता दिएको पाइएको आयोग स्रोतले जनायो ।
कार्की अध्यक्ष रहेको आयोगमा प्रा.डा. उपेन्द्र देवकोटा र सदस्यसचिवमा शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम छन् ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>