भारतीय अवैध क्लिनिकमा गलत उपचारले ज्यान गुमाउँदै नेपाली
वीरगन्ज (पर्सा), १६ साउन । सुवर्णपुर गाउँपालिका–७ सेढवाकी १८ वर्षीया रेणु चौधरी बवासिरले पीडित थिइन्। उक्त गाउँका अधिकांश बिरामी उपचारका लागि सीमापारि भारत, विहारको इनर्वा बजार पुग्ने गरेका छन् । रेणुलाई पनि परिवारले गत महिना इनर्वास्थित अनील कुमारको क्लिनिकमा पुर्यायो । ‘डाक्टर’ ले शल्यक्रिया गर्न सुझाए । तर, शल्यक्रिया गरेको पाँचौं दिनदेखि अत्यधिक रक्तश्राव हुन थाल्यो । यही कारण उनले असार अन्तिम साता ज्यानै गुमाइन् । अनाहकमा छोरीको ज्यान गएपछि पिता रघुराम पीडामा छन् । छोरीको उपचारमा डाक्टरले लापरबाही गरेको उनलाई लाग्छ । तर, क्लिनिक भारततिर भएकाले कानुनी उपचार अघि बढाउन असमर्थ छन् । ‘अब पछुताउनुबाहेक के नै गर्न सक्छु र,’ उनले भने ।
सढेवा नजिकै पटेर्वासुगौली गाउँपालिका–५ उत्तरबारी सुगौलीकी ५५ वर्षीया चनमतीया देवी थरुनीले पनि भारतीय बजारका डाक्टरबाट पाठेघरको शल्यक्रिया गराइन् । गत फागुनमा शल्यक्रिया गराएकी उनको चैतमा मृत्यु भयो ।
जगरनाथपुर गाउँपालिका ३ बिजबनियाका शिक्षक अली अहमदले पत्नी सैयदा खातुनको पित्तथैलीमा रहेको पत्थरी हटाउन इनर्वाका डा. एसके शुक्लासँग शल्यक्रिया गराएका थिए । ‘अपरेसनका क्रममा अत्यधिक रक्तश्राव भएपछि एम्बुलेन्समा राखेर सदरमुकाम वीरगन्ज पुर्याएँ,’ अहमदले भने, ‘नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भयो । दलालको चक्करमा अवैध ठाउँमा शल्यक्रिया गराउँदा यस्तो नियति भोग्नुर्पयो ।’
उपचारका लागि भारतीय बजारमा निर्भर सीमावर्ती क्षेत्रका बासिन्दा दलालमार्फत त्यहाँका अदक्ष स्वास्थ्यकर्मीको पहुँचमा पुग्दा ज्यानै गुमाएका घटना अरू पनि थुप्रै छन् । गलत उपचारले रोग बल्झिएर बिरामी झनै थलिएका छन् । सेढवाका शिक्षक ओमप्रकाश चौधरीका अनुसार भारतमा खुलेका क्लिनिकले नेपाली गाउँमा महिला एजेन्ट परिचालन गरेका छन् । ‘उनीहरू गाउँघर डुलेर महिला समूहबीच डाक्टरको प्रचारप्रसार गर्छन्,’ उनले भने, ‘२०र३० रुपैयाँमै टिकट काटेर फलना दिन उपचार गराउन आउन भन्छन् ।’ कतिपयले गाउँगाउँमा डाक्टरको सेवासुविधाबारे चर्को आवाजमा ‘माइकिङ’ समेत गराउने गरेका छन् । ‘नेपाल सरकारले सञ्चालनमा ल्याएका स्वास्थ्यचौकीमा नियमित औषधि नपाउने, स्वास्थ्यकर्मी लामो समय अनुपस्थित हुनेलगायत समस्याले ग्रामीण जनतामा नकारात्मक सन्देश गएको छ,’ चौधरी भन्छन्, ‘स्वास्थ्यचौकीमा उपचारै हुँदैन भन्ने मानसिकता बनिसकेको छ ।’
वीरगन्जबाट झन्डै ४० किमि पश्चिमको सीमावर्ती गाउँ जानकीटोला हुँदै पुगिन्छ इनर्वा बजार । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने दुवै देशका स्थानीयको वेशभूषा, बोलीचाली एउटै भएकाले छुट्याउन गाह्रो पर्छ । गरिब बिरामी महँगो भाडा तिरेर सदरमुकाम वीरगन्ज जान सक्दैनन्। बरु सीमापारि खुलेका अवैध क्लिनिकमा जान रुचाउँछन् । रोगबारे सामान्य जानकारी मात्र राख्ने कम्पाउन्डरले नै क्लिनिक चलाउने गर्छन्। पर्सासँग सीमा जोडिएको इनर्वा, भंगहा, मैनाटार, सिक्टा, भिखनाठोरी, जमुनियालगायत बजारमा यस्ता अवैध क्लिनिक सञ्चालनमा छन् । अनील कुमारको क्लिनिक सहजै भेट्न मुस्किल पर्छ । मुख्य सडकको पश्चिमपट्टि मस्जिदतर्फ साँघुरो गल्लीमा एकतले पहेंलो घर रहेछ । बुधबार अपराह्न त्यहाँ पुग्दा दर्जनभन्दा बढी महिला उपचारको पालो कुरिरहेका थिए । तीमध्ये अधिकांश नेपालबाटै आएको त्यहाँ कार्यरत एक कर्मचारीले सुनाए ।
नेपालका स्वास्थ्यचौकीका कर्मचारीले उचित सल्लाहसम्म दिने नगरेको गुनासो व्याप्त छ । जिल्ला जनस्वास्थ्य प्रमुख राजकिशोर पण्डितले ग्रामीण जनता अझै पनि उपचारका लागि भारतको सीमावर्ती क्षेत्र जाने गरेको स्विकारे ।
‘बोर्डरमा चलिरहेका क्लिनिकले नेपाली बिरामीलाई लक्षित गरी गाउँमा एजेन्ट नै परिचालन गरेका छन्,’ उनले भने, ‘विभिन्न कारणले जनता अझै पारिपट्टि जान बाध्य छन् ।’ उनका अनुसार शिक्षाको स्तर कम हुनु, सरकारले उपलब्ध गराउने सेवाबारे जानकार नहुनु र निर्धा्रित समयसम्म स्वास्थ्य संस्था नखुल्नुका कारण विपन्न बिरामी पारिपट्टि जाने गरेका छन् । नेपाली बिरामीलाई लक्षित गरी सञ्चालनमा रहेका अधिकांश क्लिनिक ठग्ने नियतले खुलेका जनस्वास्थ्य प्रमुखले बताए ।
जनस्वास्थ्य कार्यालयका अनुसार पाँचौं तहको हेल्थ एसिस्टेन्ट एक जना, अहेब तीन र अनमी दुई जनाको दरबन्दीसहित जिल्लाका प्रत्येक गाउँमा स्वास्थ्यचौकी सञ्चालनमा छन् । ‘दरबन्दीअनुसार स्वास्थ्यकर्मी कहिल्यै भेटिँदैनन्,’ पोखरियाका सामाजिक परिचालक धर्मेन्द्र चौरसिया भन्छन्, ‘आलोपालो गरेर आउँछन्, केही स्वास्थ्यचौकी त कार्यालय सहयोगीका भरमा समेत चलिरहेका छन् । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको ओपीडी त मुस्किलले २ घण्टा पनि खुल्दैन, देहातको स्वास्थ्यचौकीको के अवस्था होला ?’
चौबीसै घण्टा उपलब्ध हुनुपर्ने सेवा नपाउँदा बिरामी बाहिर जान बाध्य भएको जनस्वास्थ्य प्रमुख पण्डितले बताए । ‘पैसा हुनेहरू वीरगन्ज, चितवन, पटना, दिल्ली जान्छन्,’ उनले भने, ‘नहुने बोर्डर छेउछाउ खुलेका क्लिनिक धाउँछन् ।’ कर्मचारी स्रोतका अनुसार विभिन्न रोगसम्बन्धी जनचेतना फैलाउन मन्त्रालय र गैरसरकारी संस्थाबाट ठूलो बजेट आए पनि जनस्वास्थ्यले सहरमै गोष्ठी गरी रकम सिध्याउने गरेको छ ।
कार्यक्रमका लागि लाखौं रकम लिएका कर्मचारीले अझै फस्र्योटसमेत गरेका छैनन् । ‘जिल्लाका तीन कर्मचारी लामो समयदेखि कार्यालयमा कार्यरत छन्,’ स्रोतले भन्यो, ‘अन्यत्र सरुवा भए पनि केही दिनमै विभागमा मिलाएर फर्किन्छन्, उनीहरूको सिन्डिकेटका कारण पनि जिल्लाको समग्र स्वास्थ्य सेवा लथालिंग छ ।’
(आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>