अस्पतालको वार्ड सम्मै उद्योगको धूँवा, बिरामीदेखि सर्वसाधारण थप समस्यामा
नेपालगन्ज, १३ साउन । सुर्खेत रोडस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ, शिक्षण अस्पताल । उद्योग चलेका बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै पुग्छ । ‘अस्पतालका वार्ड र चिकित्सक क्वार्टर मात्र होइन, वरपरका घरमा पनि समस्या छ,’ फिजिसियन डा. मधु अर्यालले भनिन्, ‘बिरामीले स्वच्छ सास फेर्नसमेत पाउँदैनन् ।’
अस्पताल हाराहारीकै उचाइको उद्योगका चिम्नीबाट कालो धूवाँ आउँछ । ध्वनि प्रदूषण पनि उत्तिकै छ । सहरको मध्यभागमा रहेको औद्योगिक क्षेत्रले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको डा. अर्याल बताउँछन् ।
२०३० सालमा स्थापित नेपालगन्ज औद्योगिक क्षेत्रभित्र अहिले २९ वटा उद्योग सञ्चालनमा छन् । झन्डै नौ सय मजदुर कार्यरत छन् । चारवटा निर्माणाधीन छन् भने तीन उद्योग बन्द छन् । तीमध्ये प्लाइउड र मेटल उद्योगबाट धेरै प्रदूषण भएको गुनासो आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए । मोडर्न डोर्स एन्ड उड प्रोडक्ट्स प्रालि, विजय मेटल ग्रुप र रिजवान इन्जिनियरिङलगायत उद्योगलाई वातावरणमैत्री हुन एक वर्षमा चार पटकसम्म पत्राचार गरेको उल्लेख गर्दै उनले भने, ‘उद्योगबाट धूवाँ, धूलो र ध्वनि निस्कनु स्वाभाविक हो । हामी सकेसम्म कम गर्ने कोसिसमा छौ ।’
औद्योगिक क्षेत्रका उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न हरेक वर्ष उद्योग मन्त्रालयले अनुगमन गरी सुझाव दिँदै आएको छ । विज्ञको सुझावअनुसार उद्योगले नयाँ प्रविधि पनि भित्र्याएको पुन बताउँछन् । उद्योग सञ्चालकहरू पनि वातावरणमैत्री नयाँ प्रविधि भित्र्याइरहेको दाबी गर्छन् । ‘वातावरण मन्त्रालयको सुझावअनुसार काम गरेका छौं,’ मोडर्न डोर्स एन्ड उड प्रोडक्स प्रालिका सञ्चालक चम्पालाल बोथ्रेले भने, ‘सबै मापदण्ड पूरा गरेर काम गरेका छौं । त्यो जाँच गरेरै श्रम कार्यालयले उद्योग नवीकरण गर्छ ।’ आफ्नो उद्योगबाट धूलो र धूवाँ कम गर्न उपलब्ध सबै प्रयत्न गरिएको उनले दाबी गरे ।
चार दशकअघि औद्योगिक क्षेत्र स्थापना गरिँदा यसलाई बस्तीभन्दा टाढा पारिएको थियो । सुर्खेत रोडमा अहिलेजस्तो बस्ती थिएन । अहिले भने बढो सहरीकरणले औद्योगिक क्षेत्र वरपर बाक्लो बस्ती बसिसकेको छ । औद्योगिक क्षेत्रसँगै सटाएर नेपालगन्ज मेडिकल कलेजले शिक्षण अस्पताल नै खोल्यो । ‘औद्योगिक क्षेत्रछेउमै अस्पताल खोल्नु पनि गलत निर्णय हो,’ पुनले भने ।
औद्योगिक क्षेत्रलाई सहरदेखि बाहिर लैजानुपर्ने बहस सुरु भएको छ। बाँके नौबस्तामा ३ सय ३८ बिघा क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्न विस्तृत अध्ययन (डीपीआर) तयार हुँदै छ । बाँकेकै कचनापुरमा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापनाका लागि अध्ययन भइरहेको छ । बढी प्रदूषण फैलाउने उद्योगलाई त्यतै सार्नुपर्ने सुझाव नगरवासीले दिन थालेका छन् ।
(आजको कान्तिपुर दैनिकमा जनक नेपालले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>