बारामा कुपोषणको जोखिम बढ्दै,दलित तथा पिछडिएका समूदाय उच्च जोखिममा
            बारा, १२ साउन । बारा जिल्लामा कुपोषणको जोखिम बढेको छ । दलित तथा पिछडिएका समुदायमा कुपोषणको समस्या देखिएको हो । किशोरी, गर्भवती, ५ वर्षमुनिका बालबालिका र आमामा यस्तो समस्या देखिएको छ । कुपोषण घटाउन चेतनामूलक पोषण कार्यक्रम सञ्चालन भइरहे पनि घटेको छैन । चेतना अभावसँगै कुपोषितको संख्या धेरै भएकाले जोखिम बढेको हो ।
गत वर्ष जनस्वास्थ्य कार्यालयले ‘मातृ शिशु तथा बाल्यकालीन अवस्था’ सम्बन्धी शिक्षक र स्वास्थ्य कर्मचारीमार्फत चेतना फैलाउन ४३ लाख रुपैयाँ खर्च गरेको थियो । रकम खर्चेर पनि चाहेअनुसारको उद्देश्य पूरा नभएको जनस्वास्थ्य प्रमुख रोशनलाल चौधरीले बताए । ‘सुरुवातको अवधि भएकाले सामाजिक अगुवाहरूलाई कुपोषणसम्बन्धी जानकारी गरायांै, उनले भने, ‘अब सोझै लक्षित कुपोषितकहाँ पुग्छौं ।’
बिरामी भएपछि मात्र अन्न, सागपात, मासुजन्य स्रोत तथा गेडागुडी खाने मानसिकता विकास भएकाले तत्काल जोखिम कम गर्न नसकेको उनले बताए । ‘लामो समयसम्म प्रयास गरे घट्छ,’ उनले भने ।
चेतना अभाव, बानी व्यहोराका कारण रोगको संक्रमणले कुपोषित हुने उनले बताए । ‘घरकै दूध, दही, सागपात बजारमा बिक्री गरी चाउचाउ खाने बानी छ,’ उनले भने, ‘स्वयंले उत्पादन गरेको माछामासु र गेडागुडी नखाएर अरूलाई बेच्नु चेतनाको कमी मान्न सकिन्छ ।’
जिससले ४ वर्षयता ‘सुनौलो हजार दिन’ र बहुक्षेत्रीय पोषण योजना सञ्चालन गर्न क्रमशस् १८ करोडमध्ये ५ करोड र ९१ लाख खर्च गरेको छ । विषयगत कार्यालय कृषि, पशु, महिला तथा बालबालिका, शिक्षा र खानेपानीसित समन्वय गरी जिल्लामा बहुक्षेत्रीय पोषण योजना लागू गरी कुपोषणको जोखिम घटाउन योजनाबद्ध काम भइरहेको स्थानीय विकास अधिकारी भरतबहादुर ढुंगानाले बताए ।
आमा र बच्चाका लागि साबिकका २५ गाविसमा लागू गरिएको कार्यक्रम प्रभावकारी नभएपछि ‘बहुक्षेत्रीय पोषण योजना’ कार्यक्रम सञ्चालन गरिएको उनले जनाए । जनस्वास्थ्य कार्यालयअन्तर्गत तथ्यांक फाँटका रामनरेश यादवका अनुसार आव २०७३/७४ मा १ वर्षमुनिका १ सय २४ बालबालिका अति जोखिममा परेको फेला पर्यो । ५ सय ८१ जना जोखिममा र १० हजार ५ सय ८७ सामान्य जोखिममा रहेको पाइयो ।
त्यस्तै एक वर्षमाथि र दुई वर्षमुनिका १ सय ७ जना अति जोखिम, ४ सय १० जोखिम र ७ हजार सामान्य जोखिममा रहेको तथ्यांक छ । अति जोखिममा रहेका बालबालिकालाई वीरगन्जस्थित पोषण पुनस्स्थापन केन्द्र नजिकै रहे पनि र्पुयाउन सकिएको छैन ।
‘चेतना अभाव छ । आफ्नै र परिवारको स्वास्थ्यप्रति ख्याल छैन,’ बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका योजना अधिकृत मकाबुल रैनले भने, ‘त्यसैले यो अवस्था आएको हो । कुपोषित परिवारलाई पुनस्स्थापना केन्द्र जान जति सम्झाउँदा पनि नजाने रहेछ ।’
जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ३९ प्रतिशत किशोरी रक्तअल्पताले कुपोषित छन् । ५ वर्षमुनिका कम तौलका २९ प्रतिशत, पुड्कोपन ४१ प्रतिशत, ख्याउटेपन ११ प्रतिशत बालबालिका छन् । गर्भवती भने ४८ प्रतिशत कुपोषित छन् ।
(आजको कान्तिपुर दैनिकमा लक्ष्मी साहले लेखेको समाचार)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>