राजधानीकै सरकारी अस्पतालमा इमर्जेन्सीमा बेड अभाव
            काठमाडौँ, ८ साउन । राजधानीका सरकारी अस्पतालमा इमर्जेन्सी बेडमा भर्ना नपाउँदा बिरामी अलपत्र पर्न थालेका छन् । मौसमी बिरामीको चाप बढेका कारण आएजति बिरामीलाई भर्ना लिन नसकिएको अस्पतालका निर्देशकहरू बताउँछन् ।
दोलखाकी सञ्चमाया तामाङ ३ दिनदेखि प्रसूति गृहमा इमर्जेन्सी बेड कुरिरहेकी छन् । दोलखादेखि सुत्केरी हुुन आएकी उनी तीन दिनयता अस्पताल परिसरमै खान्छिन्, त्यहीँ सुत्छिन् । ‘नजिकमा कोही आफन्त छैनन् सुत्केरी हुने मिति नजिकिइसकेको छ,’ उनले भनिन्, ‘निजी अस्पतालमा जाउँ भने पैसा छैन ।’ शनिबार अस्पताल परिसरमा उनी सानो कार्पेट ओछ्याएर पल्टिरहेकी थिइन्, सुत्केरी व्यथाले छट्पटिएकी थिइन् । ‘एकातिर व्यथाले सताएको छ, अर्का्तिर बेड नपाएको चिन्ताले, अझै कति दिन कुर्नुपर्ने हो,’ उनले भनिन् ।
०७२ को भूकम्पले प्रसूति गृहको मुख्य भवन भत्कियो । मुख्य भवन भत्किएसँगै एकेडेमी हलमा अस्पताल सारिएपछि अस्पतालमा बेडको संख्या घटेको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए। ‘पुरानो भवनमा चार सय बेड थिए, नयाँ भवनमा आधामात्रै,’ श्रेष्ठले भने, ‘बिरामी अलपत्र परेको हेरिरहन बाध्य छौँ ।’ कति बिरामीलाई त अस्पतालको पेटीमा नै राखेर उपचार गरिरहनुपरेको डा. श्रेष्ठले बताए । नुवाकोटकी सरस्वती काफ्ले पनि भर्ना बेड नपाएर प्रसूति गृहमा अलपत्र परिरहेकी छिन् । दुई दिनदेखि इमर्जेन्सी बेडका लागि भौंतारिरहनुपरेको उनले सुनाइन् । ‘नुवाकोटको त्रिशूली अस्पतालमा डाक्टर छैनन्, ज्यान बचाउने भए काठमाडौं जानु भने,’ उनले भनिन्, ‘यता डाक्टर हुने ठाउँमा बेड नपाइने रहेछ ।’ उनी पनि सुत्केरी व्यथाले छट्पटिएकी थिइन् ।
प्रसूति गृहमा हरेक दिन ८० जना नयाँ बिरामी थपिन्छन् । बढ्दो चापलाई व्यवस्थापन गर्ने जनशक्ति र पूर्वाधार नहुँदा बिरामीले दैनिक यस्तै सास्ती खेप्नुपरेको निर्देशक श्रेष्ठले बताए । ‘अस्पतालको नयाँ भवन नबनेसम्म बिरामीलाई मर्का परिरहन्छ, बेडको संख्या थप्ने ठाउँ नै छैन,’ उनले भने ।
जापानी नियोग जाइकाले प्रसूति गृहको क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न सहयोग दिने सम्झौता भएको लामो समय भइसके पनि काम सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको पुनर्निर्माण एकाइका प्रमुख रमेशप्रसाद अधिकारीका अनुसार टेन्डर प्रक्रियामा झमेला हुँदा अस्पतालको पुनर्निर्माण काम सुरु गर्न सकिएको छैन ।
देशकै ठूलो र पहिलो अस्पताल वीरमा पनि बिरामीले इमर्जेन्सी बेड नपाउने समस्या उस्तै छ । गत साता गोरखाकी सम्झना मगराती पनि भर्ना हुन नपाएर धेरै दिन अस्पताल परिसरमा सुतिन् । कलेजोको उपचारका लागि अस्पताल आएकी उनलाई बेड पाउन एक साता कुर्नुपरेको उनले सुनाइन् ।
दिनहुँ बिरामीको चाप बढ्दो छ, तर जनशक्ति र बेडको संख्या उत्ति नै हुँदा सेवा प्रदान गर्न अप्ठेरो भइरहेको अस्पतालमा निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘बर्खायाममा त झन् बिरामीको चाप अझै बढ्छ, बेडको संख्या नपुग्दा समस्या भइरहेको छ, बिरामीले दुस्ख पाइरहेका छन्’ डा. बस्नेतले भने । वीर अस्पतालमा ४ सय ६० बेड छन् ।
(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>