प्रधानमन्त्री नेता बाँस्तोलाको स्वास्थ्य बुझ्न अस्पतालमा
काठमाडौँ, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न आज साँझ बाँसबारीस्थित न्यूरो अस्पताल गएका छन् ।
छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उनकोको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आजै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइरालालगायत नेता पनि बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बाँस्तोलाका निजी सहयोगी राधाकृष्ण काफ्लेले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा प्रत्यूष श्रेष्ठले उनलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए ।
आज उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भएपछि अझै केही दिन उहाँलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।
विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् । उनकी श्रीमती कुसुमले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताइन।
उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका खाना तरल बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भएपनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताए। रासस
जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>