दन्तचिकित्सककहाँ पुग्नेमध्ये करिब ५ प्रतिशत नेपालीमा दाँत किट्ने समस्या



Download our app to get more features

काठमाडौँ, ७ साउन । तपाईंलाई बिहान उठ्दा बोल्ने इच्छा हुँदैन ? गालाको मांसपेशी, जोर्नी, दाँत आदि दुख्ने गर्छ? गिजा सुन्निएको पो हुन्छ कि? थकाइ अनुभव भइरहेको हुन सक्छ? उत्तर सकारात्मक भए तपाईं पक्कै राति सुत्दा दाँत किट्ने गर्नुहुन्छ । यथाशीघ्र दन्तचिकित्सककहाँ गइहाल्नुस् ।

दाँत किट्नु वा ब्रुक्सिज्म आम समस्या हो । सबैजसो व्यक्तिले जीवनको कुनै न कुनै खण्डमा यस्तो अनुभव गरेकै हुन्छन् । गहिरो निद्रामा परेका बेला दाँत किट्ने काम भइरहेको हुन्छ । त्यति बेला मस्त निद्रामा हुनाले आफैँलाई चाहिँ यसबारे थाहा हुन्न । परिवारका सदस्यले भनेपछि मात्रै आफ्नो यस्तो समस्या रहेकोबारे जानकारी हुन्छ ।

विभिन्न अध्ययनअनुसार, निद्रामा दाँत किट्नुमा ७० प्रतिशत कारक तनाव र चिन्ता हो । अल्जाइमर रोग वा अन्य मानसिक समस्या भएका व्यक्ति, पेटमा जुका भएका बालबालिका, कुनै मानसिक त्रासमा रहेका व्यक्तिहरूमा निद्रामा दाँत किट्ने समस्या पाउने गरिएको छ ।

कान्तिपुर डेन्टल कलेज एन्ड हस्पिटल, डिपार्टमेन्ट अफ अर्थोडोन्टिक्स एन्ड डेन्टोफेसियल अर्थोपेडिक्स विभागका प्रमुख डा. प्रवीण मिश्र भन्छन्, ‘यसबारे कुनै खास अध्ययन नभए पनि हाम्रो अनुमानमा मुलुकमा दन्त उपचारका लागि चिकित्सककहाँ पुग्नेमध्ये करिब ५ प्रतिशत व्यक्तिमा दाँत किट्ने समस्या भएका हुने गरेका छन् ।’

अमेरिकन डेन्टल एसोसिएसन (एडीए) का अनुसार, ९५ प्रतिशत अमेरिकीले जीवनको कुनै क्षणमा दाँत किट्ने गरेका छन् । २० प्रतिशतभन्दा बढी अमेरिकी दाँत किट्ने समस्याबाट पीडित भए पनि उनीहरूलाई यो थाहा छैन । 

दाँतलाई गम्भीर रूपमा किटदा दाँत भाँचिने वा हल्लिने, खिइने, गिजामा असर पर्ने हुन सक्छ । उसो त दाँत किट्ने समस्याको सामान्य कारण ‘स्टोम्याटोगेनाटिक सिस्टम’ अर्थात् तपाईंको मुखको ‘मांसपेशी–हाड–दाँत र जोर्नी’ सन्तुलनमा नरहनु हो । 

‘यी चारैमध्ये कुनै असन्तुलनमा रहे तपाईंलाई दाँत किट्ने समस्या हुन सक्छ,’ डा. मिश्र भन्छन्, ‘यी चारैमध्ये जे कमजोर छ, त्यसैको क्षय सुरु हुन्छ ।’

माथिल्लो र तल्लो बंगारा पंक्तिबद्घ नहुँदा पनि दाँत किट्ने समस्या हुन सक्छ । सुरुको अवस्थामा केन्द्रीय स्नायु प्रणालीले सन्तुलनमा ल्याउन दाँत किट्न थालिएर पछि सामान्य अवस्था भए पनि बानी जस्तै हुन्छ र यस्तो गर्दै गइन्छ । दाँतको यस्तो किटाइ दायाँ–बायाँ र तल–माथि गरी दुई प्रकारले हुन्छ । दाँत बांगोटिंगो भए पनि यो समस्या हुन सक्छ भने गिजासम्बन्धी रोगले गर्दा दाँतले आफ्नो ठाउँ छोड्नाले सन्तुलन बिग्रे पनि यो समस्या देखिन सक्छ । 

यति मात्र नभई, बुद्घि बंगाराले ठाउँ छोड्नाले सन्तुलन बिग्रँदा र दाँतको प्वाल आवश्यकताभन्दा बढी भर्दा, नक्कली दाँत उपयुक्त नभए पनि यस्तो समस्या हुन सक्ने डा. मिश्र बताउँछन् ।

जर्नल अफ दी अमेरिकन डेन्टल एसोसिएसनमा गत नोभेम्बरमा प्रकाशित अध्ययनअनुसार, दाँत किट्ने समस्या हुनुमा मद्यपान वा तमाखुको उपयोग पनि कारक हुन सक्छ । मद्यपान र धूमपान गर्ने व्यक्तिलाई दाँत किट्ने समस्या आमव्यक्तिको दाँजोमा दोब्बर हुने सम्भावना हुन्छ। डा. मिश्रका अनुसार मदिरा र तमाखुले तनाव बढाउने भएकोले यसको नियमित उपयोग गर्नेहरूमा सामान्य व्यक्तिको दाँजोमा दोब्बरभन्दा बढी समस्या हुने गरेको हो । 

उपचार 

दाँत किट्ने समस्या देखिए दन्तचिकित्सकले सबैभन्दा पहिले यो हुनुको कारण पत्ता लगाउँछन् । यसपछि त्यो कारक हटाउन उपचार सुरु गरिन्छ ।
‘तनाव, चिन्ता, भय आदि मनोवैज्ञानिक समस्या भए यसलाई हटाउँदा दाँतकिटाइ आफैँ रोकिन्छ,’ डा. मिश्र भन्छन्, ‘कति बालबालिकालाई त एक मात्रा जुकानाशक औषधि दिनासाथ यो समस्या आफैं हटेर जान्छ ।’

मुखको मांसपेशी–हाड–दाँत र जोर्नी सन्तुलनमा नभएकाले दाँतकिटाइको समस्या देखिएको भए चिकित्सकले यसलाई विभिन्न प्रक्रियाका माध्यमले सन्तुलनमा ल्याउँछन् । यस्तै, बांगोटिंगो दाँत भएर यस्तो समस्या भएकाहरूमा भने दाँतलाई सही र उपयुक्त स्थानमा ल्याइन्छ । 

बंगारा गलत ठाउँमा हुनाले यो समस्या देखिएकाहरूको बंगारालाई सही र उपयुक्त स्थानमा फर्काइन्छ । यस्तै, दाँतकिटाइ रोक्न चिकित्सकहरूले केन्द्रीय स्नायु प्रणालीमा दाँतको गलत स्थितिबारे ‘प्रोग्राम’ भएको भए त्यसलाई ‘डि–प्रोग्राम’ समेत गर्छन् । समस्या हटाउन चिकित्सकले विभिन्न प्रकारका उपकरण र औषधिको समेत गर्न सक्छन् । 
 
लक्षण 

अलिअलि गरेर टाउको सधैं दुख्नु

बिहानचाहिँ टाउको निकै दुख्नु

गिजा सुन्निनु

चिसो वा तातो खाँदा दाँत झमझमाउनु 
 
जटिलता 

उदासी रोग हुनु

निद्रा नलाग्नु

कुनै काम गर्न मन नलाग्नु

खानासम्बन्धी विकार उत्पन्न हुनु

दाँत भाँचिनु

र्याल कम हुनु

दाँतसम्बन्धी समस्या बढ्नु

टेम्पोरोमेन्डिबुलर जोर्नीसम्बन्धी समस्या बढ्नु 
 
परीक्षाका बेला दाँत किट्ने समस्या भए

परीक्षाको समयमा बालबालिका वा वयस्क दाँत किट्ने समस्या उत्पन्न भएर दन्तचिकित्सककहाँ पुग्ने गरेका छन् । 

‘परीक्षाको तनावका कारण संवेदनशील बालबालिका र वयस्कमा चिन्ताले गर्दा यो समस्या प्रशस्त मात्रामा देखिने गरेको छ,’ डा. मिश्र भन्छन् । उनका अनुसार यस्तो समस्या भएकाहरूलाई परिवारले तनाव, चिन्ता र आत्तिने समस्याबाट बाहिर निकाल्नुपर्छ । 

बालबालिका मात्र नभएर वयस्कहरूसमेत आफू पूर्ण तयार नरहेको स्थितिमा कुनै प्रकारको परीक्षा जस्तो स्थिति आइलागे दाँत किट्ने समस्याले पीडित हुन सक्छन् । 

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-07-22 09:32:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts