क्षयरोग उपचारमा ‘ब्रेक थ्रु'



Download our app to get more features

काठमाडौं,४ साउन । क्षयरोग निदान र औषधिको प्रभाव थाहा पाउन हप्तौं कुर्नुपर्दा बिरामी झनै गम्भीर बन्नुपर्ने अवस्था कायमै छ ।

भरपर्दो प्रविधि अभावमा लामो समय पर्खेर पनि वास्तविक नतिजा पाउन नसकेको कतिपय बिरामीको गुनासो छ । उक्त समस्या हटाउन सरकारले सबैभन्दा छिटो रोग निदान र बिरामीमा औषधिको प्रभावबारे जाँच गर्न सक्ने विश्वकै उच्चस्तरीय प्रविधि काठमाडौं र काभ्रेका ठूला अस्पतालमा विस्तार गरेको छ । महँगो तर भरपर्दो मानिएको प्रविधि ‘जिनी एक्सपर्ट’ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र धुलिखेल अस्पतालमा विस्तार गरिएको हो। राष्ट्रिय क्षयरोग केन्द्र र यी अस्पतालबीच मंगलबार भएको सम्झौतासँगै सम्भवत: यो सातामै उक्त प्रविधिबाट बिरामीले रोग निदान र औषधि प्रभावबारे निःशुल्क जाँच गर्ने अवसर पाउनेछन्।


केन्द्रका चिकित्सकले यो प्रविधिबाट रोग निदान दुई घन्टामै हुने र बिरामीमा सबैभन्दा धेरै चलाइने औषधि ‘रिफामपिसिन’ले असर गरेरनगरेको पत्ता लाग्ने बताएका छन्। यसलाई उनीहरुले क्षयरोगको निदान र उपचारमा ‘ब्रेक थ्रु’का रूपमा लिएका छन्। केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले रोग निदान र औषधिको असर पहिचानका लागि उक्त प्रविधि अति नै संवेदनशील, उच्चस्तरीय र भरपर्दो भएको दाबी गर्नुभयो। उहाँका अनुसार चाँडै यो प्रविधि महाकाली अञ्चल अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, तनहुँको दमौली अस्पताललगायत पाँच स्वास्थ्य संस्थामा विस्तार गर्ने योजना छ । यसअघि विभिन्न स्वास्थ्य संस्थामा रहेका ‘माइक्रोस्कोप मेसिन’बाट खकार पटक(पटक जाँच गरिन्थ्यो। तापनि, कतिपय बिरामीको रोग निदान हुन सक्दैन। ‘जिनी एक्सपर्ट’बाट ९० प्रतिशतभन्दा बढी रोगको निदान हुने केन्द्रका छातीरोग विशेषज्ञ डा. सुरेशकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार ‘कल्चर’बाट खकारको निदान गर्न कम्तीमा आठ साता लाग्ने गर्छ। उक्त प्रविधिबाट फोक्सोको क्षयरोग निदानमा खकार, ग्रन्थिको क्षयरोगको निदानमा ग्रन्थि झोल, हड्डीको क्षयरोग निदानमा ‘पप्स’लगायत परीक्षण गरिन्छ । यद्यपि, दिसा(पिसाब, रगत, मुटु, पेट र घुँडाको पानी परीक्षण हुँदैन।
अति संवेदनशील प्रविधि
चिकित्सकले यो प्रविधि अति संवेदनशील भएकाले सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। १० देखि ३० डिग्री सेल्सियसको तापक्रममा ‘जिनी एक्सपर्ट’ सञ्चालन गर्नुपर्छ। निरन्तर बिजुलीको उपलब्धतामा मात्र यो प्रविधि सञ्चालन सम्भव छ। धूलो यो प्रविधिका लागि सबैभन्दा ठूलो शत्रु रहेको श्रेष्ठले बताए । 
प्रयोगमा चिन्ता
यसअघि २७ स्थानमा ३० वटा यस्तै प्रविधि सञ्चालित छन्। तर, पर्याप्त प्रयोगमा आउन नसक्दा सरकारको लगानीअनुसार बिरामीले फाइदा लिन नसकेको विज्ञ बताउँछन्। परीक्षण गर्ने बिरामी धेरै भए पनि सरकारी स्वास्थ्य संस्थामा यो प्रविधि बिहान १० देखि २ बजेसम्म मात्र सञ्चालन हुन्छ। यो प्रविधिबारे प्रचार नहुँदा धेरै बिरामी सेवाको पहुँचबाहिर रहेको केन्द्रको प्रयोगशाला प्रमुख गोकर्ण घिमिरेले बताए । सीमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्रै यो प्रविधि सञ्चालनबारे ज्ञान भएकाले बिरामीको यसको पहुँचमा पुग्न नसकेको घिमिरेले बताउनुभयो। माइक्रोस्कोप’बाट पाँच सय ८० ठाउँमा क्षयरोगको जाँच भइरहेको छ । ‘कल्चर’बाट जाँच गर्ने सुविधा भने काठमाडौंको राष्ट्रिय क्षयरोग केन्द्र र कालिमाटीको ‘जर्मन नेपाल ट्युबरक्लोसी प्रोजेक्ट’मा छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको मध्यपश्चिम क्षेत्रिय अस्पताल र पोखराको क्षत्रिय क्षयरोग केन्द्रमा पनि उक्त सुविधा विस्तार गर्ने योजना सरकारको छ । 
 (आजको अन्नपूर्णपोष्टमा दीपा दाहालले लेखेकी छिन् । )


 

Last modified on 2017-07-19 10:17:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts