२ अर्ब लगानीमा चितवनमा क्यान्सर अस्पताल बन्दै, पेटस्क्यान मेशिन पनि ल्याइने



Download our app to get more features

चितवन, ३० असार । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक समेत रहिसकेका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको जनाएको हो । नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार बर्सेनि नेपालबाट ४० प्रतिशत क्यान्सरका बिरामी विदेश उपचार गर्न जाने गर्दछन् । ती बिरामीलाई समेत रोक्न सक्ने गरी अत्याधुनिक अस्पताल सञ्चालन गरिने उनले बताए ।अस्पताल सञ्चालनका लागि भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ तीन बिगाहा ६ कठ्ठा जमिनसमेत खरिद गरिसकिएको छ । करिब दुई अर्ब लगानी गरी तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए । 

हाल नारायणी सामुदायिक अस्पतालमा १ सय ८० जना लगानीकर्ता रहेका छन् । यसको मातृ संस्थाको रुपमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) रहेको छ । एनपिआई समूहले अस्पतालको नेतृत्व गर्नेछ । यो समूहभित्र झण्डै ७०० लगानीकर्ता रहेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए । विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई लगानीका लागि आह्वान गरिएको छ । नपुग रकम बैंकबाट ऋण लिइने खनालले बताए । अस्पताललाई पब्लिक लिमिटेडको रुपमा विकास गरिने जानकारी दिँदै खनालले सर्वसाधारणका लागि पनि शेयर दिइने बताए । 

अस्पतालमा मानिसको शरीरमा क्यान्सर भए नभएको पत्ता लगाउने पेटस्क्यान, रेडियोथेरापीको अत्याधुनिक मेसिन (आइजिआरडी), टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी गर्ने उपकरणलगायतका अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताए । भविष्यमा रोवट सर्जरी गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको उनको भनाइ छ । यससँगै अस्पतालमा मुटुरोग र मृगौला रोगको पनि विशेषज्ञसहितको उपचार गरिने छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि ४० देखि ४६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । रासस 

Last modified on 2017-07-14 15:05:08

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts