ट्रमाको स्पाइन सेवा लिने जो कोही भन्छन् –यस्तो पो उपचार !



Download our app to get more features

काठमाडौं, २७ असार । घाँस काट्दा रूखबाट खसेर गम्भीर घाइते बनेकी रुकुमकी सीता बुढामगरले जीवनप्रति आशा मारिसकेकी थिइन् ।  

दुर्गम ठाउँ, जिल्ला अस्पताल जानै घन्टौं लाग्ने । छिमेकीको सहयोगमा उनलाई  उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइयो । सेन्टरको ’स्पाइन युनिट’ मा भर्ना गरेको केही दिनमै चिकित्सकले उनको भाँचिएको मेरुदण्डको शल्यक्रिया गरे । शल्यक्रियाको एक सातापछि उनी उभिनसक्ने भएकी छिन् ।  ’मैले त जीवनप्रति नै आस मारिसकेकी थिएँ तर यहाँ आएर उपचार गरेपछि निको भएँ,’ सीताले अन्नपूर्णसँग भनिन् । ट्रमा सेन्टरको ’स्पाइन युनिट’ मा पुग्दा यस्तो भाव नगर्ने सायदै बिरामी भेटिन्छन् । ट्रमाले दुर्घटना, चोटपटक र विभिन्न संक्रमणका कारण मेरुदण्डसँग सम्बन्धित समस्या बोकेर आएका बिरामीलाई सस्तो मूल्यमा उपचार सेवा दिइरहेको छ । र, नयाँ जीवन लिएर जाने र उपचारका लागि आउने बिरामीको संख्या बढ्दै छ । कारण हो, युनिटको सही नेतृत्व, दक्ष चिकित्सक, अत्याधुनिक उपकरण तथा पूर्वाधारको समुचित व्यवस्था, चुस्त व्यवस्थापन अनि चिकित्सकमा केही गर्छु भन्ने अठोट ।


ढाडमा नसा च्यापिएकी धरान(६ की यशोधा चौधरीले सात वर्षसम्म औषधि, थेरापी, झारफुकलगायत अनेकौं विधिको सहारा लिइन् ।  धरानका दर्जनौं निजी अस्पताल धाउँदा पैसा मात्रै सकियो । छोराछोरीको सहयोगमा उहाँ उक्त युनिट आइपुग्दा नयाँ जीवन पाएकी छिन् । ’जीवनदेखि हार खाएको थिएँ । उपचार गर्दागर्दै १४ लाख सकिसकेको थियो । यहाँ अप्रेसनका लागि थोरै पैसा तिर्नुर्पयो तर जीवन बाँच्यो,’ मेरुदण्डको शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेकी चौधरीले भने । 
सीता र यशोदा मात्र नभई सेन्टरमा सयौं अन्य बिरामी नयाँ जीवन पाएर फर्किएका छन् ।


स्पाइनल युनिटमा मेरुदण्डमा चोटपटक लागेका, विभिन्न रोगका कारण संक्रमण फैलिएका, नसा च्यापिएका, क्यान्सर भएका वा ढाड बांगिएका बिरामीको उपचार भइरहेको छ ।
उक्त युनिटमा हरेक प्रकारका ’स्पाइन इन्जुरी’ को उपचार भइरहेको छ । अस्पतालका स्पाइन सर्जन डा. गौरवराज ढकालका अनुसार साढे एक वर्षमा एक ६० वटा जटिल शल्यक्रिया भएका छन् । प्रायस सरकारी अस्पतालका चिकित्सकप्रति बिरामीको गुनासो हुन्छ समय धेरै नपाएकोमा । युनिटमा नियमित रूपमा सातामा ५ वटासम्म शल्यक्रिया भइरहेको छ ।

दक्षिण एसियामै नमुना बनाउने कसरत :
चिकित्सकहरू यो युनिटलाई दक्षिण एसियामै नमुना बनाउने कसरतमा जुटेका छन् । त्यसैले नेपालमै पहिलोपटक बिरामीलाई खतराबाट जोगाउन ’इपाइन न्युरो मनिटरिङ’ भित्र्याइएको छ । शल्यक्रिया गर्ने अर्को महत्वपूर्ण उपकरण ’दुरपिन इपाइन’ ल्याउने तयारीमा युनिट छ । युनिटमा ’होल इस्पाइन एक्सरे मेसिन’ को माध्यमबाट मेरुदण्डको पूरै भागको एक्सरे हुन्छ । डा. ढकालका अनुसार जटिल बिरामीको उपचारका लागि ’स्पाइन नाभिगेसन सिस्टम’ जडान गर्ने तयारीमा पनि युनिट छ ।
दुर्घटनामा परी मेरुदण्डमा चोटपटक लागेका, विभिन्न रोगका कारण संक्रमण फैलिएका, नसा च्यापिएका, क्यान्सर भएका वा ढाड बांगिएका बिरामीको ट्रमामा शल्यक्रिया भइरहेको छ । ’सोमबार र बिहीबार ओपीडी चलिरहेको छ । स्पाइनलमा समस्या भएका बिरामीले सेन्टरमा धेरै कुर्नु पर्दैन । कि त नियमित सेवामार्फत उपचार हुन्छ वा सरकारको विस्तारित कार्यक्रमअन्तर्गत उपचार हुन्छ । बिरामीलाई कुर्नु नपरोस् र स्तरीय सेवा मिलोस् भन्ने उद्देश्य हाम्रो हो,’ युनिट प्रमुख अर्थोपेडिक डा. गणेश गुरुङले भने । 
निजी अस्पतालबाटै पठाइन्छ बिरामी :
युनिटमा भर्ना हुने बिरामी अधिकांश निजी अस्पतालले विभिन्न कारणले रेफर गरेका हुन्छन् । कोही पैसा सकिएर पनि रोग निको नभएपछि निजी अस्पतालबाट जबर्जस्त डिस्चार्ज भएर आउने गरेका छन् । कसैलाई जटिलता थपिएपछि अस्पतालले रेफर गरेका छन् । कतिपय बिरामी ट्रमा सेन्टरमा राम्रो हुने भन्दै आफैँ आउने गरेका छन् । ’सपोर्ट स्टिम छ, अग्रज र साथीबाट पनि सहयोग छ । यो कायम भयो भने साउथ एसियामै नमुना बनाउने उद्देश्य छ,’ डा. ढकालले भने ।
स्पाइनल युनिटका विशेषताहरु :
शैया  शुल्क २ हजारसम्म
शल्यक्रिया शुल्क २५ सय
आठ जना विशेषज्ञ डाक्टर
२० जनाभन्दा बढी रेजिडेन्ट डाक्टर
१५ वटा शैया 
(आजको अन्नपूर्णपोष्टबाट)

Last modified on 2017-07-11 08:48:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts