गर्मीमा के खाने ?
काठमाडौं, २३ असार । गर्मी मौसममा शरीरको तापक्रम सामान्य अवस्थामा भन्दा बढी नै हुन्छ ।
जसले गर्दा झाडा–बान्ता तथा डिहाड्रेसन जस्ता समस्या हुन सक्छ । स्वस्थ मानिसको शरीरमा सामान्य तापमान ३७ डिग्री सेल्सियस हुनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यदि शरीरको औसत तापक्रम बढ्न थाल्यो भने विभिन्न अंगमा असर पर्न सक्छ । त्यसैले गर्मी मौसममा खानपिन गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।
दही :
शरीरलाई स्वस्थ राख्नका लागि गर्मी मौसममा दहीको सेवन निकै लाभदायक हुनछ । बजारमा पनि सजिलै पाइने दहीको सेवनले शरीरलाई भित्रैदेखि शीतलता प्रदान गरेर गर्मीबाट जोगाउँछ । दहीलाई आफ्नो चाहनाअनुसार खानासँगै या फलफूललाई स–साना टुक्रा बनाएर दहीमा राखेर पनि खान सकिन्छ ।
मोही या लस्सी :
दहीको लस्सी बनाएर खाँदा पनि शक्तिका साथै शीतलता प्राप्त हुन्छ । दहीलाई फिटेर बनाइने मोही गर्मी महिनामा निकै लाभदायक हुन्छ । तर, मोही भने सकेसम्म ताजा नै पिउनुपर्छ ।
काँक्रोको सलाद :
काँक्रोमा अत्याधिक मात्रामा पानी तथा पोषक तत्व हुन्छ । धेरै व्यक्तिले काँक्रोलाई सलादका रुपमा सेवन गर्छन् । गर्मी मौसममा स्वस्थ रहन दैनिक काँक्रो खानु लाभदायक नै हुन्छ ।
कागती चिया :
नेपालीहरुको प्रिय पेय पदार्थ चिया भएपनि गर्मीको मौसममा त्यति फाइदाजनक मानिंदैन । चिया पिउने लत परिसकेकाहरुका लागि गर्मी मौससमा उत्तम विकल्प लेमन आइस टी हुन सक्छ ।
खरबुजा :
गर्मीमा खरबुजा खानु धेरै नै फाइदाजनक मानिन्छ । खरबुजा रर त्यसको बिउले शरीरलाई स्फूर्ति प्रदान गर्नुका साथै यसका पाइने लाइकोपिनले मुहारलाई पनि चमक प्रदान गर्छ । यसले रक्तचापलाई नियन्त्रण पनि गर्छ ।
उखुको रस :
उखुको रस सेवन गर्दा तुरुन्तै ऊर्जा प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा आइरन हुने कारण रगतको कमीका कारण हुने समस्यालाई समाधान गर्छ ।
कागतीपानी :
कागतीपानी गर्मीको मौसममा सजिलै उपलब्ध हुने घरेलु औषधी नै हो । शरीरमा भिटामिन सीको कमी हुँदा विभिन्न खालका समस्या देखिन सक्छन् । कागतीपानीमा भिटामिन सीको मात्रा पर्याप्त हुने कारण बिरामी हुनबाट जोगाउन पनि उपयोगी हुन्छ ।
(आजको नयाँपत्रिका दैनिकबाट)