सरकारी अस्पतालमा आईसीयू नपाउँदा बिरामी अलपत्र



Download our app to get more features

काठमाडौं,२१ असार । सरकारी अस्पतालमा सजिलै आईसीयू उपलब्ध नहुँदा बिरामीहरू अलपत्र पर्ने गरेका छन् ।

बिरामीको बढ्दो चाप र अस्पतालमा सीमित पूर्वाधार हुँदा बिरामीले सास्ती खेप्नुपरेको, समयमा उपचार हुन नसकेको समस्या नौलो होइन । कति बिरामी सरकारी अस्पतालको आईसीयू नपाउँदा निजी अस्पतालमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् ।यस्तै एक पीडित हुन्– बागलुङका प्रेम चालिसे । तीन महिनादेखि उनको परिवार सरकारी अस्पतालमा आईसीयूका लागि धपेडी गरिरहेका छन् । चालिसे गत वैशाखमा घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएको उनकी श्रीमती कृष्णाले बताइन् । ‘जिल्लामा त उपचार हुने कुरै भएन, काठमाडौं ल्यायौं, ट्रमा सेन्टरमा ४८ दिन राखेपछि आईसीयू खाली गर्न भनियो । त्यसपछि वीर अस्पताल, टिचिङ अस्पताल र चिनेका सबै अस्पताल धायौं,’ उनले भनिन्, ‘कतै आईसीयू खाली छैन भन्छन्, बिरामी कहाँ लगेर राख्ने हामीले,’ उनले आक्रोश व्यक्त गरिन् ।

बिरामी चालिसेको हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । विपन्न परिवारका चालिसेको अहिले दैनिक उपचार खर्च ४० हजार रुपैयाँ छ । ऋण र संस्थाहरूको सहयोगमा चालिसेको उपचार खर्च टरिरहेको कृष्णाले बताइन् । ‘कम्तीमा सरकारी अस्पतालले आईसीयू दिएको भए उपचार खर्च धेरै कम हुने थियो, अब न ऋण लिने अवस्था छ न सहयोगी कोही चिनेकी छु,’ उनले चिन्ता व्यक्त गरिन् । चालिसेको स्पाइलन–कर्ड भाँचिएका कारण उनको अवस्था गम्भीर भएको र उनलाई अझै लामो समय आईसीयूमा राख्नुपर्ने उनको उपचारमा संलग्न डा. विवेक पोखरेलले बताए ।

वीर अस्पतालमा दैनिक एक सयको हाराहारीमा आईसीयूमा राख्नुपर्ने खालका बिरामी आउने हुँदा सबैलाई आईसीयूको व्यवस्था गर्न नसकिने अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् । ‘वीरमा २५ वटा मात्रै आईसीयू बेड छ, अधिकांशलाई निजी अस्पताल रिफर गर्नुको विकल्प छैन,’ उनले भने । दिनानुदिन काठमाडौं धाउने बिरामीको संख्या बढिरहेको तर, अस्पतालमा पूर्वाधार थप्न नसकिएका कारण बिरामीहरू अलपत्र परिरहेको डा. बस्नेत बताउँछन् । बिरामीहरूको पनि पैसा हुन्जेल निजी अस्पतालमा बस्ने, खर्च सकिएपछि सरकारी अस्पतालमा आईसीयूका लागि झगडा गर्ने प्रवृत्ति भएको डा. बताउँछन् । अस्पतालमै उपचाररत बिरामीलाई मात्रै अस्पतालको आईसीयूमा सार्न मिल्ने उनले बताए ।

लमजुङकी सीता बयलकोटी पनि आईसीयू बेड नपाएर उपचारविहीन हुन पुगेकी छन् । गाउँमा कान्लाबाट लडेर उनको स्पाइलन कर्ड भाँचिएको उनको परिवारले बताए । ट्रमा सेन्टरमा उपचारत बयलकोटी आईसीयू नपाएकै कारण जनरल वार्डमा बसेर उपचार गरिरहेकी छन् । 

 (आजको कान्तिपुर दैनिकबाट)

 

 

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts