फाइबरयुक्त खाना अर्थात पेट बढार्ने कुचो
काठमाडौं,२१ असार । मानिसको बदलिँदो खानेबानीसँगै खानाकै कारण विभिन्न खालका स्वास्थ्य समस्या निम्तिरहेको देखिन्छ ।
तिनै समस्यामध्ये कब्जियत, मोटोपना, ठूलो आन्द्रको क्यान्सरजस्ता समस्या धेरैको साझा बनिरहेका छन् । यसको कारण फाइबरयुक्त खाना कम खाने तर रिफाइन्ड तथा प्रशोधित खानाको बढी उपयोग गर्नाले हो ।विशेषगरी सहर बजारहरुमा रिफाइन्ड खानेकुरा अधिक खाइने तर फाइबर कम खानाले शरीरमा अनावश्यक क्यालोरी जम्मा भई मोटोपना हुने, कब्जियत लगायतको समस्या बढिरहेको छ ।
के हो फाइबर
सामान्यतया वनस्पतिजन्य स्रोतका खानाबाट प्राप्त हुने रेसायुक्त पदार्थलाई नै डाएटरी फाइबरका रुपमा बुझिन्छ । खाद्यविज्ञानको वर्गीकरण अनुसार डाएटरी फाइबर पोलिस्याकराइड कार्बोहाइड्रेट हो । डाएटरी फाइबर शरीरमा पच्ने, सोसिने नभए पनि पाचनक्रिया तथा अन्य स्वास्थ्यका लागि निकै ठूलो महत्व राख्दछ । एक ग्राम कार्बोहायड्रेटबाट चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ तर डायटरी फाइबर शरीरभित्र पाचन नै नभइकन बाहिर निस्कने भएकोले यसबाट शक्ति भने प्राप्त हुँदैन । फाइबरको यहि गुणबाट मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना आदि समस्या भएकाहरु कम क्यालोरी आवश्यक पर्नेले फाइदा लिन सक्दछन् । फाइबर पानीमा घुल्ने र नघुल्ने गरी दुई प्रकारका हुन्छन् । दुवै प्रकारका फाइबरहरु स्वास्थ्यका लागि फाइदाकर हुन्छन्. । विशेषगरी पेटको विकार कम गर्न सहयोगी हुने हुनाले फाइबरलाई पेट बढार्ने कुचोका रुपमा लिने गरिन्छ ।
फाइबरका फाइदा
- फाइबर शरीरमा पाचन नहुने भए पनि अन्य पोषक तत्वको पाचन, शोषण, निष्कासनदेखी विभिन्न रोगको निदान तथा रोकथाममा समेत फाइदा गर्दछ ।
- विभिन्न अनुसन्धानले कब्जियत, मुटुका रोगी, हाइपरटेन्सन, मधुमेह, मोटोपना तथा हाइपरकोलेस्टेरोल भएकाका लागि फाइबर वरदान सावित हुने प्रमाणित गरिसकेका छन् । खानाको पाचनक्रियाको क्रममा आन्द्रालार्य धगगतिशील बनाउन यसको महत्वपूर्ण भूमिका हुन्छ । नपचेका अनावश्यक विकारहरुको निष्कासन गर्न पनि फाइबरले सहयोग गर्दछ ।
- विभिन्न अनुसन्धानले खानामा फाइबरको मात्रा सन्तुलन राखी रगतमा भएको कोलेस्टेरोल समेत नियन्त्रित हुन सहयोग पुग्दछ ।
- फाइबरले महिलामा स्तन क्यान्सरको सम्भावना पनि कम गर्ने विभिन्न अनुसन्धानको दाबी छ । तौल घटाउनका लागि पनि फाइबरयुक्त खाना धेरै फाइदाकर हुन्छ ।
- उमेर बढ्दै जाँदा ठूलो आन्द्रामा भएको नरम र चिप्ला पदार्थ उत्पादन गर्ने मांसपेशी बिस्तारै खुम्चिने हुँदा कब्जियतको समस्या बढ्न सक्छ । गर्भवती भएका बेला कब्जियतको समस्या देखिन्छ । त्यस्तो समस्या हुनेहरुले नियमित फाइबर खाने हो भने समस्याको समाधान हुन्छ ।
केमा हुन्छ फाइबर
गुन्दु्रक, सिन्की, चना, केराउ, किम्ची, सिमी, पपकर्न, आल्मन्ड, ओखर, तिल, स्टबेरी तथा अन्य बेरीहरु,किम्बु, आरु, घिउ फल, ढिकीमा कुटेको चामल फाइबरका राम्रा स्रोतहरु हुन ।
अन्नको बोक्राको भाग (मकै, गहुँ, जौ, फापर, कोदो), बोक्रासहितका गेडागुडी, सागपात, फलफूल, आदिमा प्रशस्त मात्रामा पाइने फाइबरले हाम्रो पाचनप्रक्रियालाई चुस्त बनाउँछ र हामी निरोगी बन्न सक्छौं । (आजको अन्नपूर्णपोष्टबाट)