सुनिता तब झस्किइन् जब डाक्टरले भित्री बस्त्र खोल्न भने...
दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो । कहिले घर जाउँला भन्ने बेचैनी छँदैथियो । अन्ततः म पनि भोट हाल्न गृहनगर दाङ्गको राप्ती गाउँपालिका पुगे । कार्यालयमा कामको चापका कारण लामो समय गाउँ बस्न नसक्ने भएकाले मतदान गरी भोलीपल्टै मैले काठमाण्डौको यात्रा तय गरें । लालमटियाबाट करीब ३ किलोमिटर वर भालुवाङ्ग आइपुग्दा मेरो सिटसँगै अन्दाजी २०/२१ वर्षकी एक युवती आएर बसिन् । चिनजान नभएकाले सुरुमा बोलचाल गर्न र बस्नपनि अलि असहजजस्तो महसुस भयो दुबै जनालाई । तर, यात्रा गर्नु थियो काठमाण्डौंसम्म । त्यो पनि एउटै सिटमा बसेर । लामो यात्रा भएको हुँदा म चुपचाप बस्न सकिनँ । स्वभावैले म अलि बोलिरहने पर्ने मान्छे पनि हुँ । लागिरहेको थियो उनी पनि मसँग बोल्न खोज्दै थिइन् । ओठसम्म आवाज आएरपनि अड्किएको जस्तो लाग्दै थियो । तर, चन्द्रौटा आइपुग्दा सम्म शुन्यता भंग भैसकेको थियो । हामी बोल्न थाल्यौं । लामो यात्रामा सँगै बसेको मान्छेसँग साथीझैं गफिन पाउँदाको मज्जा मैले लेखिरहनु पर्दैन ।
काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ । केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार । हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ । उनले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’ यतीभन्दा म केही समय बोल्नै सकिन चुप लागेर बस्न बाध्य भए । मलाई अल्लारे केटा भनेर नाम भनिनन् कि ? वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी ? नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर (नाम परिर्वतन)भएको बताइन् ।
छिमेकीको नाता जोडिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै असहजता बाँकी थिएन । गफ यसरी जम्न थाल्यो कि समय बितेको पत्तै भएन क्षणभरमा बुटवल पुगेछौं । अक्सर यति चाँडो बुटवल पुगेकोजस्तो अनुभव यसअघि मलाई भएको थिएन । उनले पनि मेरो बारेमा कुरा खोतन्न थालिन् । मैले आफ्ना बताउन मिल्ने जति सबै कुरा बताएँ । लामो समयदेखि स्वास्थ्य पत्रकारीता गर्दै आएको कुरा छुटाउने कुरै भएन । यती भनिरहँदा उनी एक्कासी केही भावुक देखिइन् ।
‘के भयो’ मैले सोधे ? उनी बोलीनन् । म पनि केही समय चुप लागेरै बसें । विस्तारै उनले भोगेको कुरा सुनाउन थालिन् ।
‘मैले तपाईलाई छिमेकी दाई मात्र भनेर होइन एउटा स्वास्थ्य पत्रकारको नाताले मेरो जीवनमा घटेको एउटा घटना सुनाउँदै छु ।’ मेरो मनमा खुल्दुली जाग्न थाल्यो, के घटना होला भन्ने लाग्यो । कान एकतमास उनका ओठबाट निस्किएको आवाजमा फोकस भयो । ‘केही सहयोग गर्न सक्छु की’ मैले सोधें । ‘हैन हैन मेरो समस्याको समाधान भइसक्यो, तपाईलाई सुनाउन मात्र लागेको’ उनले घटनालाई अलि सरलीकृत गरिन् ।
गाँउघरमा रहँदा घाँसदाउरा गर्नु प्राय नेपालीको नियमित कर्म नै हो । उनको पनि यस्तै घाँस दाउरासँग सम्बन्धित घटना रैछ । आठ कक्षामा पढ्दै गर्दा एकदिन दाउरा काट्न जङल जाँदा उनको योनीमा दाउराले कोतरेर घाउनै भएछ । यो कुरा दाउरा काट्न जाने तीनजना साथीलाई बाहेक परिवारलाई समेत भनिनन् उनले ।
त्यसपछि उनले सुनाउँदै गइन् । म एकटकले उनको आवाजमा केन्द्रित भएँ । सामान्य औषधि पसलबाट ल्याएको औषधिले बिस्तारै योनीमा भएको घाँउ निको हुँदै थियो । तर, समस्या थपियो । चञ्चल युवावस्था । मन कहाँ शान्तसँग बस्छ र ! गर्मीको समय थियो । नजिकै रहेको तालमा पौडी खेल्न जाने निर्णय गर्यौं । तर, तालमा पानी सफा भने थिएन ।
सायद तालको पानी सफा नभएर पनि होला त्यसपछि मेरो यौनीमा ससाना खटिरा आउन थाल्यो । उक्त खटिरा विस्तारै चिलाउन पनि सुरु भयो । यो कुरा साथीहरुलाई मात्र थाहा थियो । परिवारलाई भन्न सकेको थिइँन । तर, अन्तत म हिड्नै समेत नसक्ने अवस्थामा पुगें ।
मेरो अवस्था देखेपछि साथीहरुले घरमा भनिदिएछन् । आमाले पनि कोही केटासँग यसको सम्बन्ध त छैन भनेर सोध्नुभएछ । यति उनले सुनाउँदै गर्दा मैले उनको कुरो काटेर सोधिहालें ‘की फोहर पानी बहाना मात्र हो ?’
‘कति हतार गर्नुभएको मेरो कुरा पुरा त सुन्नुस्, पत्रकार न पर्नु भयो’ उनले रिसाउँदै भनिन् । मैले टाउको मात्र हल्लाएर समर्थन जनाएँ ।
उनले थप्न थालिन्–कसैसँग पनि सम्बन्ध नभएको विश्वास दिलाएपछि आमाले उपचारका लागि बुटवल जाने भन्नुभयो । त्यसपछि म सारै डराएँ ।
‘कसैसँग पनि सम्बन्ध नभएको भए किन डराएको त ?’ मैले फेरी प्रश्न गरें ।
‘डाक्टरले देखाउन भन्यो भने के गर्ने नि ? त्यसमाथि पुरुष डाक्टर भएमा ?’ प्रश्नवाचक भावसहित उनले भनिन् ।
उनको मनमा लागेको डर पनि सायद जायज नै थियो । एउटा पुरुष डाक्टरलाई एउटी भर्खरकी युवतीले कसरी आफ्नो योनाङ्ग देखाउने ?
चुप बस्न सकिनँ र मैले अर्को प्रश्न पसारेँ ‘अनी के भयो, पुरुष डाक्टर पर्यो की महिला ?’
‘पुरुष डाक्टर नै पर्यो नी’ उनले अलि सर्माएको झैं उत्तर दिइन् ।
‘के भएको ?’ डाक्टरले सोधे । एलर्जी, मेरो मुखबाट फुत्त निस्कियो । ‘कहाँ ?’ डाक्टरले फेरी सोधिहाले । मेरो सातो उठ्नुको साथै लाजले भुतुक्कै भएँ । अब के भन्ने ?
सायद डक्टरले कुरो बुझे होलान, मलाई सुत्न लगाए पाइन्ट खोल्न लगाए । मेरो हासहवास नै उड्यो ।
‘अनि के गर्यौ’ प्रश्न सोध्न नपाउदै उनले भनिन ‘मनमा डर, त्रासका बीच बिस्तारै तल झारें, तर’ तर के ? मेरो मुखबाट फुत्किहाल्यो । ‘पाइन्टमात्र खोलेर भएन भित्र पेन्टी पनि थियो ।’
उनले लजाउँदै भनिन् ‘त्यसपछि डाक्टरले पेन्टी खोल्न आग्रह गरे । म दोधारमा परें अब के गर्ने । डाक्टर सापले नै आफै तल झारिदिनु भयो ।’
‘उनले विस्तारै मेरो पेन्टी तल सारी योनाङ्ग हेरीरहदा आँखा चिम्म गरेर काँपी रहेको थिएँ । डाक्टर सापले भयो मात्र के भन्नु भएको थियो पाइन्ट माथि सारेर म हत्त न पत्त बाहिर दौडीएँ । त्यसपछि आमालाई डाक्टरले के भने खै आजसम्म पनि मैले सोधेको छैन’ उनले भनिन् ।
‘अनि अहिले कस्तो छ ?’ मैले साधें ।
‘डाक्टरलाई हेर्ने बानी परेको हुन्छ’ उनले भनिन् ‘हामी जस्ता अविवाहितलाई अझ भन्दा भर्खर यौवनमा प्रवेश गरिरहेकालाई त साह्रैने अप्ठारो हुँदो रहेछ ।’
तर, यसले मलाई धेरै ठूलो पाठ सिकाएको छ । मेरो सानो गल्तीले ठूलो पीडा खेप्नुपर्यो । अहिले हरेकदिन योनाङ्गको सफा गर्नुको साथै पेन्टी पनि चेन्ज गर्ने गरेको छु । यो कुरा धेरै साथीहरुलाई सुनाउने गरेको छु ताकी उनीहरुले पनि यस्तो पिडा खेप्न नपरोस् । , उनले सुझाव सहित आफ्नो अनुभव सुनाइन् ।
‘साथीहरुलाई सुनाउनु राम्रो तर, मलाई किन सुनाएको’ मैले प्रश्न गरें ।
‘डाक्टरहरुसँग लजाउनु भनेको यौन तथा प्रजननसँग सम्बन्धित रोगहरुलाई बचाइराख्नु हो । त्यसैले तपाईले आफ्नो सञ्चारमाध्यमबाट जनचेतना जगाउनुस् भनेर सुनाएको हुँ’ उनले हाँस्दै भनिन् । उनले हल्का ढंगबाट भनेजस्तो लागेपनि साँच्चै यो सत्य थियो । मैले मनन् गरें । यस्तैयस्तै कुरा गर्दै हामीले काठमाण्डौसम्मको यात्रा तय गर्यौं । कलंकीबाट झरेसँगै हामी आआफ्नो बाटो लाग्यौं ।
सुनिता त एउटी उदाहरण मात्र हुन् । यस्तो घटना हरेकदिन भइरहेको हुन्छ । पुरुष डाक्टरलाई जचाउँन वा आफ्नो समस्या भन्न डराउँदा ग्रामिण क्षेत्रका महिलाहरु अझै आफ्नो रोग लुकाउन बाध्य छन् । उपचारमा संलग्न डाक्टरले पनि समय समयमा जाँच्ने नाममा महिलाका संवेदनशिल अंगहरुमा चलाउने, यौन दुव्र्यवहार गर्ने घटनाहरु सुनिनुले पनि महिलाहरु पुरुष चिकित्सकसँग सहजै प्रस्तुत नहुने समस्या अझै विद्यमान छ । यी दुवै चीज अन्त्य नुहँदासम्म थुप्रै सुनिताहरुले आफ्ना घाउहरु लुकाइ नै राख्छन् ।
1 Comments
-
hoina kun doctor le diagnose nagari medicine ya further treatment garxa?? allery vandai ma sidhai medicine diyera birami ko swasthya awastha lai jhan naramro parnu kasaiko udeshya hudaina. i feel all doctor shouls look over the situation and suggest medicine for treatment. take it positively thanks
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>