ट्रमा सेन्टरमा ब्लड बैंक सञ्चालनमा
काठमाडौँ, ३१ जेठ । वीरको ट्रमा सेन्टरमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । जेठ १ देखि औपचारिक रूपमा सञ्चालन गरिएको ब्लड बैंक स्फूर्त रूपमा चलिरहेको प्याथोलोजी विभागका प्रमुख डा. भरतबहादुर अमात्यले बताए । नेपालमा सरकारी अस्पतालमा पहिलोपटक ब्लड बैंक राखिएको हो ।
हालसम्म करिब ५ सय बिरामीले ब्लड बैंकको सेवा लिइसकेको अमात्यले बताए । ‘३ सय जनाले त अस्पतालमै आएर रक्तदान गरिसके, अब रगतका लागि बिरामीले कतै धाउनुपर्दैन,’उनले भने । ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइते उपचार गर्ने अस्पताल भएकाले जुनसुकै बेला रगतको आवश्यकता पर्ने डा. पियुष दाहाल बताउँछन् । ‘दुर्घटना भएर अत्याधिक रक्तश्राव भएका बिरामीले तत्कालै ज्यान गुमाउँथे, भूकम्पमा यस्तै भयो, अब समयमै रगत नपाएर कोही बिरामीको ज्यान जाने छैन,’ उनले भने ।
यसअघि बिरामीलाई रगत आवश्यक परे रेडक्रसको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारी पुग्नुपर्ने समस्या थियो । अब जुनसुकै बेला अस्पतालभित्रैबाट रगत जुटाउन सकिने अमात्य बताउँछन् । बैंकमा संकलन भएको रगत ३० दिनसम्म उपयोग गर्न मिल्ने खालको पूर्वाधार तयार भएको उनले बताए । ब्लड बैंक स्थापनासँगै थप ५ जनाका लागि रोजगारी सिर्जना भएको अस्पतालका निर्देशक डा. प्रमोद उपाध्याय बताउँछन् ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>