शोभराजको मुटुको भल्भ आज फेरिदैं :"मर्छु कि बाँच्छु" भन्दै दिए मार्मिक अन्तरवार्ता
काठमाडौं, २६ जेठ । ‘बिकिनी किलरका’ नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।
शोभराजको स्वास्थ्य जाँचपछि आज शल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले जनाएको छ । १४ वर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मूद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।
सुन्धारास्थित केन्द्रिय कारागारमा रहेका शोभराजलाई बुधबार स्वास्थ्य जाँचका लागि गंगालाल पठाइएको थियो । शल्यक्रियाको समयमा मात्रै गंगालाल पठाउने गरी शोभराजलाई अहिले कारागारकै अस्पताल भर्ना गरिएको छ । जेलबाट छिट्टै छुट्ने आशा राख्दै आएका उनले केन्द्रिय अस्पतालका चिकित्सकसंग आफू छुटेपछि फ्रान्समै मुटुको शल्यक्रिया गर्ने इच्छा राखेका थिए । तर स्वास्थ्यस्थिती हेर्दा लामो प्रतिक्षा हितकर नहुने चिकित्सकले सुझाव दिएपछि शोभराजलाई गंगालालमै शल्यक्रिया गर्ने निधो गरेको केन्द्रिय कारागार स्रोतले जानकारी दियो ।
अक्सर हतकडीमा राखिदै आएका खतरनाक अपराधी ७३ वर्षीय शोभराज केही दिनअघि बेहोश भई ढलेपछि उनको मुटुमा समस्या देखापरेको हो । बुधबार अस्पतालबाट फोन गरी भारतको एक सञ्चारमाध्यमलाई दिएको मार्मिक अन्तरवार्तामा उनले यसपल्ट आफू बाँच्ने वा नबाँच्ने दुविधामा रहेको र शल्यक्रियालाई लिएर हतास बनेको बताएका छन् ।
केन्द्रीय कारागारका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केदारनरसिंह केसीले भने उनको अवस्था नाजुक नरहेको तर मुटुको उपचार जरुरी भएको बताए । त्यही अवस्थालाई ध्यानमा राखेर सहिदगंगालाल हृदयरोग केन्द्रमा जाँचका लागि पठाईएको उनले बताए । सर्वौच्चको जन्मकैद फैसलापछि आफूले सजाय भुक्तान गरिसकेको र एक वर्षपहिला नै छुट्नुपर्ने जिकिर उनले कारागारका अधिकारीसंगै गर्दै आएको भए पनि यसबारे सरकारले निर्णय गरिसकेको छैन् ।
आजको अन्नपूर्णपोष्ट दैनिकबाट