रुकुम जिल्ला अस्पतालमै किन्नुपर्छ सिटामोल
रुकुम, २६ जेठ । जिल्ला अस्पताल सल्लेको आईपीडी कक्षमा उपचारत मुसीकोट–७, साँखकी ७३ वर्षीया लीलाधरी पाण्डेले सरकारी नीतिअनुसार अस्पतालबाट प्रदान हुने सम्पूर्ण सेवा निःशुल्क पाउनुपर्ने हो । तर, उनले सरकारले निःशुल्क भनेको सिटामोलसमेत किन्नुपरेको छ । उनको रेखदेखमा खटिएकी बुहारी चम्पा अस्पतालको अस्तव्यस्तता देखेर हैरान भएको बताउतछन् ।
१५ शड्ढयाको यो अस्पताल यति अस्तव्यस्त छ कि यहाँ विरामीले औषधि त पाउँदैनन्, पाउँदैनन्, पिउन र सफाइका लागि पानी र चर्पीसमेतको सहज उपलब्धता छैन । दुई स्थायी र तीन करार पाँचजना डाक्टर कार्यरत रहेको अस्पतालमा विरामीले चित्तबुझ्दो सेवा नपाएकाले नजिकै रहेको राप्ती समाज अस्पताल र रुकुमेली सामुदायिक अस्पतालमा विरामीको भीड हुने गरेको छ । सिस्ने गाउँपालिका–३ का पिमबहादुर केसीले छोरीको उपचारका लागि जिल्ला अस्पताल गएको तर त्यहाँको हालतबाट दिक्क भएर नजिकै रहेको राप्ती समाज अस्पताल आई छोरीको उपचार गराएको बताए ।
सिटामोल सकिएको १५ दिन पुगिसक्दा पनि आपूर्तिका लागि अस्पताल प्रशासनको ध्यान गएको छैन । विरामीले भने किनेर खाइरहेका छन् । जिल्ला अस्पतालबाट सरकारले ९० प्रकारका औषधि निःशुल्क प्रदान गर्नुपर्ने हो तर फार्मेसीमा जम्मा आधा मात्र उपलब्ध छन् । ९० प्रकारका औषधि कुन–कुन हुन् भन्नेबारेको विवरण पनि कहीँकतै टाँसिएको छैन ।
मुसीकोट–१२ की ५३ वर्षीया पारसी ओलीलाई उपचारका लागि लिएर आउनुभएका उनका छोरा ओपिरामका अनुसार डाक्टरले प्रेस्किप्सन लेखिदिन्छन् र जान्छन् । औषधि कहाँ पाइन्छ भन्दैनन् । उनले आफ्नी आमाका लागि अहिलेसम्म २२ सय रुपैयाँको औषधि किनिसकेका छन् । ६० वर्षभन्दा माथिका विरामीलाई निःशुल्क उपचार हुन्छ भन्नेसमेत थाहा नपाएको उनले गुनासो गरे ।
सिटामोल सकिएको १५ दिन पुगिसक्दा पनि आपूर्तिका लागि जिल्ला अस्पताल प्रशासनको ध्यान गएको छैन । विरामीले भने किनेर खाइरहेका छन् ।
अस्पताल परिसरमै सशुल्क फार्मेसीसमेत छ तर नाम मात्रको । फार्मेसीमा चाहिएको कुनै औषधि पाइन्न । बरु अस्पतालको गेटैसँगै जोडिएका निजी फार्मेसी मालामाल भइरहेका छन् । सरकारले प्रसूति सेवा निःशुल्क भनेको छ तर पछिल्लोपल्ट बसेको अस्पताल विकास समितिको बैठकले गर्भ जाँच गराएबापत प्रतिविरामी तीन सय लिने निर्णय गराएर सबैलाई अचम्म पारेको छ । यस विषयमा विकास समिति अध्यक्ष शिव आचार्यसँग बुझ्दा उनले अस्पतालको समग्र विकासका लागि यसो गरिएको बताए । यतिमात्र होइन, बिरामीले बहिरंग सेवाका लागि काट्नुपर्ने पुर्जी शुल्कसमेत बढाइएको छ ।
अस्पतालको भौतिक र प्रशासनिक अवस्था पनि नाजुक छ । विरामी राख्ने कक्षदेखि चर्पीसम्मको फोहोरले सबैलाई नाक थुन्न बाध्य बनाउँछ । अस्पताल परिसरमा १२ वटा चर्पी छन् तर जम्मा दुईवटा मात्र जसोतसो सञ्चालनमा छन् । स्थायी नियुक्ति लिएर आएका डाक्टरले कसैलाई नटेर्ने र विरामीसँग राम्रो व्यवहारसमेत नगर्ने गरेका कारण विरामी दाहोरिएर आउनै नमान्ने स्रोतको भनाइ छ ।
जिल्ला अस्पतालका समस्याबारे बुझ्न खोज्दा अस्पताल विकास समिति अध्यक्ष शिव आचार्यले जिल्ला स्वास्थ्य प्रमुखसँग बुझ्न आग्रह गर्दै पन्छिए । जिल्ला स्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसीसँग अस्पतालको समग्र अवस्थाबारे बुझ्न खोज्दा सम्पर्कमा आउनै चाहेनन् ।
(आजको अन्नपूर्ण पोष्ट दैनिकमा महेश केसीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>