यस कारण आउँछ ज्वरो
काठमाडौं, २५ जेठ । मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ ।
९७ डिग्री फरेनहाइटदेखी ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई हाम्रो शरीरको सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई ज्वरो भनिन्छ । ज्वरो आउनु शरीर अस्वस्थ भएको जनाउ हो । समय, स्थान र वातावरणअनुसार शरीरको तापक्रम पनि फरक हुन्छ । दिनमा तापक्रम बढी हुन सक्छ भने बिहान र राति केही कम हुन्छ । व्यायाम गरेको समयमा पनि शरीरको तापक्रम बढी हुन्छ । त्यस्तै, महिलाको महिनावारीको समयमा तापक्रम बढी हुन सक्छ । तर, जेजस्तो भएपनि स्वस्थ मानिसमा औसतभन्दा दुई डिग्री फरेनाइट मात्र बढी हुँदा फरक पर्दैन ।
ज्वरो आउने अवस्था :
– भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान अर्थात स्वाइन फ्लु, हेपाटाइटिस, बर्डफ्लु, जिका, डेंगु, इबोलालगायत सबै खालका फ्लुहरुमा ज्वरो आउँछ । यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्ता लगाएर उपचार गर्नुपर्दछ । भाइरसका कारण पखाला लाग्दा पनि ज्वरो आउने संभावना हुन्छ ।
– ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरोको दर उच्च छ । टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ ।
– शरीरका भित्री अंगहरु जस्तै–आउँ टाइफाइडको ज्वरो,ठूलो आन्द्रा एंव मलाशय सुन्निने या घाउ हुँदा, एपेन्डिसाइटिस हुँदा, मूत्रथैलीको संक्रमण, मूत्रमार्गको संक्रमण, मिर्गौलाको संक्रमणमा पनि ज्वरो आउँछ ।
– कतिपय अंगमा हुने फंगल्स संक्रमणका कारण मानिसमा ज्वरो आइरहेको हुन्छ । जस्तै–फोक्सो या महिलाको पाठेघरमा हुने फंगल्स संक्रमणले ज्वरो आउँछ ।
प्रोटोजोअल संक्रमणका कारण मलेरिया, कालाजार भएर पनि ज्वरो आउने गर्छ ।
– दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स प्रोटोजोहा सक्रिय हुन्छन् । यिनको सक्रियतासँगै ज्वरो आउने संभावना बढी हुन्छ ।
– कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको औषधी सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ । कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन सक्छ । ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रै उपचार गर्नु बुद्धिमानी हुन्छ ।
ज्वरो आउँदा के गर्ने ?
झोल पदार्थ धेरै पिउने, पानीपट्टि बाँध्ने, बिरामी रहने कोठा न्यानो तर हावा सहज आवत–जावत हुने हुनुपर्छ । ज्वरो बढ्दै गए पारासिटामोल खुवाउनुपर्छ । ज्वरो १०२ डिग्री फरेनाहइट वा यो भन्दा बढी भए तत्काल स्वास्थ्य संस्था या अस्पताल लैजानुपर्छ ज्वरो आएसंगै बेहोस हुने, गम्भिर टाउको दुख्ने, पखला लाग्ने, बान्ता हुने, पिसाब पोल्नेजस्ता समस्या देखिएमा पनि तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । गर्भवती महिलालाई ज्वरो आए चिकित्सकसँग सल्लाह लिनुपर्छ । निरन्तर लामो ज्वरो आए पनि परीक्षण गराउनुपर्छ । आजको नयाँपत्रिका दैनिकबाट