५ दिनदेखि दुई बालिकाको शव अस्पतालमै
चितवन (भरतपुर), २५ जेठ । चितवनको माडी–६ स्थित रामराज्यपुरका दुई बालिकाको मृत्युको कारण अझै खुल्न सकेको छैन । दुवैको शव ५ दिनदेखि भरतपुर अस्पतालमै राखिएको छ । मृत्युको कारण पत्ता लगाउनुपर्ने र घटनामा संलग्नलाई कारबाही नगरेसम्म परिवारले शव जिम्मा नलिने अडान राखेको छ ।
पीडित परिवारले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । मृत्यु शंकास्पद भएकाले संलग्नलाई कारबाही माग गर्दै पीडितका आफन्त र महिला अधिकारकर्मीले बुधबार पनि जिल्ला प्रहरी र अस्पतालमा धर्ना दिए । उनीहरूले संघर्ष समिति नै गठन गरेका छन् ।
गत शनिबार पिकनिक खान गएका रामराज्यपुरकी ११ वर्षीया दीपशिला परियार र १० वर्षीया दीपिका सुनारको मृत्यु भएको थियो । पोखरीमा डुबेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिने दाबी गर्दैै पीडित परिवार र महिला अधिकारकर्मीले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन लगातार दबाब दिइरहेका छन् । दीपशिलाका काका कुमारले बलात्कारपछि दुवै बालिकालाई हत्या गरी पोखरीमा फ्याँकिएको हुनसक्ने बताए ।
घटनाको यथार्थ जानकारी र संलग्नलाई कारबाही नगरेसम्म शव जिम्मा नलिने उनले जनाए । घटनाको यथार्थ बुझ्न राष्ट्रिय महिला आयोगकी अध्यक्ष भगवती घिमिरे यहाँ आएकी छन् ।
चिकित्सकले गरेको पोस्टमार्टम चित्तबुझ्दो र नपत्याउने खालको भएको भन्दै महिला अधिकारकर्मीले विज्ञ चिकित्सक झिकाई पुनस् पोस्टमार्टम गर्न माग गरेका छन् । प्रहरीले स्थानीयको बयानको आधारमा घटनामा संलग्न भनिएका पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘हामीले हरेक पाटोबाट अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘अनुसन्धाना पूरा नभएको अवस्थामा यथार्थ बाहिर ल्याउन गाह्रो हुन्छ ।’
उनले प्रहरीलाई घटनाका बारेमा अनावश्यक बदनाम नगराउन अनुरोध गरे । जिल्ला प्रहरीले निरीक्षक अञ्जना श्रेष्ठको नेतृत्वमा ७ जनाको टोली गठन गरी अनुसन्धान जारी राखेको जनाएको छ ।
(आजको कान्तिपुर दैनिकबाट लिइएको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>