झाडापखालामा कस्तो औषधि खाने ?



Download our app to get more features

काठमाडौँ, ११ जेठ । गाउँदेखि सहरसम्म निर्वाचनको चहलपहल, व्यस्तता, भाषण, घरदैलोले उम्मेदवार, कर्मचारी, कार्यकर्ता, मतदाता सबैमा खानपिन र जीवनशैलीमा प्रभावित बनाएको छ । 

जसले मानसिक तथा शारीरिक स्वास्थ्य समस्या उत्पन्न भएका छन् । त्यसमा अपच र झाडा–पखाला प्रमुख छन् । झाडा–पखाला आफैमा रोग नभई अन्य रोगको लक्षणमात्र हो, तथापि आजसम्म रोग पहिचान गर्ने चलन हामीकहाँ छैन । घरमै उपचार गरी अस्पताल नपुग्ने त धेरै छन् । किनभने एन्टिबायोटिकको सहज पहुँच र मनखुसी प्रयोग गर्ने चलन छ । शंका, अनुभव वा लक्षणका आधारमा एकभन्दा बढी एन्टिबायोटिकको प्रयोग भइरहेको छ ।

एक दिनमा तीन वा त्यसभन्दा बढीपटक पानीजस्तो पातलो दिसा लाग्नु झाडा–पखाला हो । आँखाले देख्न नसकिने किटाणुका कारण संक्रमित भई खाना, पानी र फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । पुराना रोगहरूको लक्षणका रूपमा कहिलेकाहीं पखाला लाग्छ । झाडा–पखाला विषाणु, जीवाणु र परजीवीका कारण लाग्छ । भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडा–पखाला लामो समयसम्म रहन्छ र उपयुक्त औषधि प्रयोग नगरुन्जेल निको हुँदैन । 

मधुमेह, पाकस्थली, ठूलो आन्द्रा, पित्तशयमा सुजन, पित्त थैलीमा पत्थरी, शरीरमा भिटामिन ‘बी’ को कमी, क्षयरोग, क्यान्सर, टाइफाइड र जन्डिसमा पनि पखाला लाग्न सक्छ । शरीरका प्रणालीका रोग शरीर क्रिया, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला हुन्छ । एक्कासि हुने झाडा–पखाला रोटा भाइरल, भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि ब्याक्टेरिया, इ. हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि प्रोटोजोवल र विषाक्त खानाबाट हुने गर्छ । एकै पटक धेरै जनामा पखाला संक्रमणले नै हुने गर्छ । साना बच्चामा पखाला लाग्नुमा बोतलमा हालेर दूध खुवाउने, गाईभैंसीको दूध, फोहोर पानी, आमा वा आफन्तले हात नधोई खुवाउनु, घर बाहिरको खाना, जंकफुड आदि प्रमुख छन् । जीवनजलले ३ देखि ५ दिनमा पखाला आफंै निको हुन्छ । तर औषधि नै खानुपर्ने हाम्रो मान्यता छ ।

हुन त प्रत्येक उमेर तथा लिङ्गका व्यक्तिलाई यो रोग लाग्ने भए पनि दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका र वृद्धवृद्धालाई बढी सताउने गर्छ । पटक–पटक पानीजस्तो पातलो दिसा लाग्छ । आन्द्राको शोषण शक्ति घट्छ । दिसा बस्दा तेजले पिचकारी उत्सर्जित हुन्छ, वाकवाकी लाग्छ र वान्ता हुन्छ । दिसामा नपचेको खानाका टुक्रा हुन्छ । पेट गड्याङगुडुङ गर्छ, दुख्छ । हातखुट्टा र मांसपेशी दुख्छ, बाउँडिन्छ, गल्छ । बच्चाले झर्को मान्ने, बेचैन हुने लक्षण देखाउँछ । बढी मात्रामा तिर्खा लाग्छ । रिङ्गटा लाग्छ, कमजोरी महसुस हुन्छ, मुख, जिब्रो सुख्खा र फोहोरी हुन्छ ।

घरेलु उपचार नभए आँखा गाडिने, गाला भित्र धसिने हन्छ । पिसाब कम हुन्छ तथा जलविनियोजन बढी भए पिसाब हुँदैन । रुँदा आँसु आउँदैन । बच्चाहरूमा तालु धसिन्छ । आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ, पेटको छाला तन्काएर छाड्दा मुजा परिराख्छ, विस्तारै फर्कन्छ, नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुन्छ । रक्तचाप कम हुन्छ, श्वास–प्रश्वास तीव्र हुन्छ, बिरामीमा आलस्य हुन्छ । उपचार नगरे दीर्घ झाडा–पखालाले कुपोषण, कडा खालको जलविनियोजन सेप्टेसेमिया डिस्इलेक्टोलाइटेमिया हुन्छ । सिकिस्त भए बिरामीले खान–पिउन नसक्ने, लोलाउने, पिसाब बन्द हुने, बालबालिकाको तालु भासिने, आँखा झिम्क्याउन नसक्ने, रक्तसञ्चार रोकिने, फोक्सो र मुटुले काम नगर्ने, बेहोश हुने साथै अन्त्यमा मृत्युसमेत हुने अवस्था आउँछ ।

झाडा–पखाला लागे कुपोषणबाट जोगाउन भरिसके बढी नभए कम्तीमा साबिककै जस्तो खानेकुरा खान दिने गर्नुपर्छ । आमाको दूध खाने बच्चा भए साबिकको भन्दा बढीपटक दूध खुवाउनुपर्छ । बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुरा जस्तै– दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिका चिया, भातको माड, पातलो लिटो र नभएमा सादा पानी दिनुपर्छ ।

झाडा–पखालाबाट खेर गएको लवण, पोषक तत्त्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्छ । शरीरबाट जुन अनुपातमा नुन र पानी खेर गएको छ, सोही अनुपातमै पुनर्जलीय झोल खुवाउने प्रक्रियालाई पुनर्जलीय उपचार भनिन्छ । पुनर्जलीय झोल जतिपटक पखाला लाग्छ, त्यति नै पटक खुवाउँदै जानुपर्छ । प्रयोग नभएको बेला पुनर्जलीय झोल राखेको भाँडो सफा बिर्कोले छोप्नुपर्छ । तयार पारेको जीवनजल २४ घन्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । घरेलु उपचारमा सामान्यतस् तीन–चार दिनमा झाडा–पखाला ठीक हुन्छ, समाचारमा भनिए जस्तो एमोक्सिलिन, मेट्रोनिडेजोल चाहिँदैन । सुधारोन्मुख नभए तथा मुखबाट पुनर्जलीय उपचार गर्न नसकिए तुरुन्तै चिकित्सकीय उपचार लिनुपर्छ । 

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिस सचेत हुनुपर्छ । शौचालयमा मात्र दिसा–पिसाब गर्ने र खानेपानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । खाना खानु अघि र दिसा–पिसाब छोएपछि साबुन–पानीले हात धुने गर्नुपर्छ । सडेगलेका बासी र झिँगा भन्केका खानेकुरा नखाई माटोमुनि गाड्नुपर्छ । नाक, मुखलाई मास्क वा सफा कपडाले छोप्नु तथा दीर्घरोगीहरूले नियमित औषधि सेवन गर्नुपर्छ । व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण सफा राखी रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्छ ।
 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-14 14:19:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts