गौरमा भएको स्वास्थ्य शिविरको खर्च ९१ लाख, ६ हजार ४ सयले लिएका थिए सेवा
काठमाडौँ, २४ वैशाख । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९१ लाख रुपैयाँ खर्च भएको छ ।
नेपाली सेनाको मोबाइल अस्पताल प्रयोग गरी सञ्चालन भएको साताव्यापी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’मा सो परिमाणबराबर खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार शिविर सम्पन्न भएको एक महिनापछि सेनाले निःशुल्क स्वास्थ्य शिविरको खर्च ९१ लाख देखाएको छ । पहिलोपटक गरेको सघन स्वास्थ्य शिविरलाई सरकारले परीक्षणका रूपमा लिएको छ ।
रौतहटको शिविरमा भएको खर्चलाई हेरेर स्वास्थ्य मन्त्रालयले अन्य शिविर सेनासँग गर्ने या नगर्ने भन्नेबारे आफ्नो धारणा बनाउने चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।
सुरुमै ७५ लाख निकासा
शिविर सुरु हुनुभन्दा पहिला नै स्वास्थ्य मन्त्रालयले सेनालाई ७५ लाख रुपैयाँ निकासा गरिसकेको लामिछानेले बताए । उनले खर्च कति भयोभन्दा पनि शिविरको उपलब्धिलाई हेर्नुपर्नेमा जोड दिए ।
सरकारले पहिलोपटक गरेको मोबाइल अस्पताल अर्थात् सघन स्वास्थ्य शिविरमा सुलभ स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा, पिछडिएका विपन्न वर्ग र विशेषगरी महिला वर्गलाई प्राथमिकतामा राखेको थियो । मन्त्रालयले पहिलोपटकको काम भएकाले धेरै ज्ञान नहुँदा पनि शिविरमा लाग्ने यकिन खर्चबारे अनभिज्ञता प्रकट गरेको छ । शिविर गत ८ बाट १४ चैतसम्म चलेको थियो ।
६४ सयले लिएका थिए सेवा
शिविरमा ६४ सय ४७ जनाले सेवा लिएकोे तथ्यांक सेनाले स्वास्थ्य मन्त्रालयमा बुझाएको छ । शिविरमा महिला तीन हजार ५७ तथा पुरुष ३३ सय ९० गरी जम्मा ६४ सय ४७ जनाको स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा मुख्यतया पाठेघर खस्ने, पित्तथैलीको पत्थरी, हाइड्रोसिल, हर्निया, स्टोन गरी जम्मा एक सय ३७ जनाको शल्यक्रिया गरिएको थियो । सेना र स्वास्थ्य मन्त्रालयका एक सय पाँचजना कर्मचारी शिविरमा खटिएका थिए ।
(आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>