डिप्रेसनमा हुनुहुन्छ ? जोगिन अपनाउनुस यि उपाय



Download our app to get more features

परिस्थितिवश उदास, दुस्खी वा दिक्दार अनुभव हुनु सामान्य हो । तर यसरी उदास अनुभव हुनु उदासीन मनोरोग वा डिप्रेसनको लक्षण पनि हुनसक्छ । मानिसले उदास अनुभवलाई रोगको अंश हो कि जीवन र जगतको प्रतिकूल परिस्थितिप्रतिको स्वाभाविक प्रतिक्रियामात्र हो भनेरे छुटयाउन नसक्दा रोग पहिचान र उपचारमा कठिनाइ उत्पन्न हुने गर्छ । डिप्रेसनका धेरै रोगीमा समस्याको न महसुस र पहिचान हुन्छ, नत पर्याप्त र उपयुक्त उपचार नै । त्यसैले समाजमा यसका बिरामीको संख्या अत्यधिक हुनसक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा मानव जातिलाई सताउने दस प्रमुख स्वास्थ्य समस्यामा डिप्रेसन हाल दोस्रो स्थानमा छ र चाँडै पहिलो हुनेछ । डिप्रेसनका बहुसंख्यक रोगीहरू उपयुक्त उपचार नपाएर विभिन्न जटिलता भोगिरहन्छन् । त्यसैले यस रोगबारे आधारभूत सत्यतथ्य बुझिराख्न जरुरी छ । कमजोर मन भएका अरूलाई लाग्छ, मेरो मन बलियो छ, मलाई लाग्दैन भन्ने धेरै मानिसलाई पनि यस रोगले सताउन सक्छ । 

जब कुनै व्यक्तिको उदास, दुस्खी वा दिक्दारको अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ, अर्थात् यस्तो अनुभव कम्तीमा पनि दुई साता सबैजसो दिन प्रायस् सधैंजसो हुन थाल्छ, जति कोसिस गर्दा पनि ठाउँ–बेठाउँ यस्तो अनुभवले छाड्दैन, यस्तो अनुभवको कारण बेचैनी हुन्छ, दैनिक कामकारबाहीमा दख्खल पर्छ र साथमा अरू लक्षण पनि देखापरेका छन् भने यस्तो अवस्थालाई सामान्य उदासपन ठान्नु गलत हुनेछ । 

डिप्रेसनका लक्षण 

♦  डिप्रेसन भएको व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक असरस्वरूप न्युनता आउने निम्न लक्षण देखिन्छन् ः

♦  प्रायःजसो समय उदास, दुःखी र दिक्दार रहनु 

♦  दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरूसँगको अन्तर– सम्बन्धमा रुचि कम भएर अरूबाट एक्लिनु वा एकान्तमा रहनु

♦  केही गर्ने जाँगर र आत्मविश्वास हराउनु

♦  सोच्न, सम्झन नसक्ने भएर जानु 

♦  आफू बेकामे, बेसहारा र भविष्य अन्धकार भएको लाग्न थाल्नु

♦  सानातिना कुरामा अत्यधिक चिन्ता लाग्नु र छट्पटी हुनु 

♦  बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु 

♦  भोक कम वा ज्यादा हुनु, अनि त्यसै अनुसार तौलमा कमी वा वृद्धि हुनु 

♦  निद्रा अक्सर कम हुनु (कसै–कसैलाई भने बढी हुनसक्छ) र बिहान बोधो महसुस हुनु

♦  यौन चाहना र तुष्टिमा कमी हुनु 

♦   कव्जियत र महिनावारीमा पनि गडबड हुनु 

यस्तै कतिपय बिरामीमा टाउको, जीउ वा शरीरका अरू भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्तबुझ्दो प्रमाण नदेखिने अवस्था हुन्छ । कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने जस्ता भ्रमात्मक लक्षणहरू पनि उत्पन्न हुन्छन् । 

डिप्रेसनको कारण 

मनोसामाजिक रूपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायस् लाक्षणिक रूपमा र पछि रोगकै हिसाबले डिप्रेसनको समस्या बढी देखिने गर्छ । तनावरहित अवस्थाका व्यक्तिहरूलाई पनि डिप्रेसनले सताउन सक्छ । खासमा यसमा विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनहरूको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुने देखिएको छ । वंशानुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरू र परिस्थितिले डिप्रेसनतिर व्यक्तिलाई धकेल्नमा बढावा दिने गर्छन् । यसरी कुनै व्यक्ति डिप्रेसनको सिकार हुनुमा मनोसामाजिक र जैविक तत्त्वहरूको जटिल अन्तरक्रिया हुने गर्छ । 

दस पुरुषमा एक र चार महिलामध्ये एकको जीवनमा खाँती डिप्रेसन भन्ने रोगले समात्दो रहेछ । यसबाट पीडित धेरैमा रोग पहिचान, निदान र उपचार हुने गर्दैन । उपचार सुरु नै भए पनि उपयुक्त र पर्याप्त मात्रा र अवधिको हुने गर्दैन । उपयुक्त उपचार नहुनाले डिप्रेसन पीडित अधिक मानिस अस्वस्थ, विकलांग, बेचैनमात्र हैन, अरू शारीरिक रोगप्रतिको हेरचाहमा उदासीन रहने र आत्महत्या समेत गर्ने अवस्थामा पुग्छन् । 

उपचार विधि

डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ । यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ । अरू व्यक्तिसँगको गलत र अनुपयुक्त अन्तरक्रिया, आपसी कलहले पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ । डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अरूसँग सम्बन्धमा चिसोपन आउन सक्छ । यस्ता व्यक्तिको अरूसँग सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको माहोल बनाउने सामाजिक पहुँच उपचारको अभिन्न पाटो हुने गर्छ । यस्ता व्यक्तिहरूको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार्ने मनोवैज्ञानिक तरिका पनि आवश्यक पर्न सक्छ । लक्षण कम गर्नेमात्र हैन, रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने भरपर्दा र सुरक्षित धेरै औषधीको विकास भैसकेको छ । कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको सेक दिने उपचार पनि उपयोगी र सुरक्षित तरिका हो । उपचारबाट लक्षण हटेपछि पुनस्स्थापनाका कार्यक्रम उपयोगी हुन्छ । 

डिप्रेसनको समस्या भएको छ भने बिना हिच्किचाहट अविलम्ब सम्बन्धित चिकित्सक वा विज्ञको सेवामा जानुपर्छ । यसको पहिचान बिरामीलाई लेवल लगाउन वा अन्य हिसाबले नभई उपचारका लागि हुने गर्छ । डिप्रेसन पहिचान भएकोमा चिन्ता मानेर बस्नुभन्दा आवश्यक र उचित उपाय गर्न्तिर लाग्नु, सबल, सक्षम र सहयोगी साथीभाइ, आफन्तको सहयोग सल्लाह लिनु, सकेको काम, हल्का व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नु उपयोगी हुन्छ । औषधी उपचार आवश्यक भए विज्ञको सल्लाहमा आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु आवश्यक र लाभदायी हुन्छ । बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फ्लोअपमा रहन, ठिक भएपछि पनि पुनस्स्थापना गर्न लगायत पछि दोहोरिन नदिने कुरामा परिवारजन र साथीभाइको ठूलो भूमिका रहने गर्छ । परिवार, आफन्तजनले यस्ता बिरामीको औषधीको राखनधरन, रेखदेख गर्न र सेवनका लागि हौसला दिन आवश्यक हुन्छ । कतिपय यस्ता बिरामीमा आफैंलाई हानि गर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जरुरी हुन्छ । 

जोखिम रहेका व्यक्तिहरूले त्यसैअनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार–विहार र विचारमा सन्तुलन अपनाउन सिक्नुपर्छ । स्वस्थ शरीर र सन्तुलित जीविका, तनाव बहनका सीप, क्षमता बढाउने तरिका, साथ–सहयोग र सुमधुर सम्बन्धको माहोल, अनुपयुक्त र अस्वस्थ प्रतिस्पर्धारहित शान्त, सुखी, सन्तुष्ट, सन्तुलित, समझदार, अनुशासित परिवार र समाजको अवधारणा, पोषण आहार–विहार, विचारको सन्तुलन, व्यायाम, योग, सांस्कृतिक र परम्परा अनुकूलको व्यवहार उपयोगी हुने गर्छ । रोग लागेर निको भैसकेकाहरूले पुनस् नदोहोरियोस् भन्नाखातिर सतर्कता अपनाउन आवश्यक हुन्छ । विविध तहमा डिप्रेसनको रोकथाम सम्भव छ र यसका लागि सचेत हुन आवश्यक छ ।

 

Last modified on 2019-01-22 13:50:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts