चिकित्सा ऐन तोडमोड भयो : डा. केसी



Download our app to get more features

काठमाडौं, २१ वैशाख । चिकित्सा शिक्षा र सेवामा सुधारका लागि पटकपटक आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले संसद्मा छलफलमा रहेको प्रस्तावित चिकित्सा शिक्षा ऐनलाई तोडमोड गरेर विकृत बनाइएको आरोप लगाएका छन् । उनले यसमा सुधार नगरिए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । माथेमा प्रतिवेदनका महत्त्वपूर्ण बुँदाहरू छुटाएर उक्त ऐन संसद्मा लगिएको दाबी गर्दै डा. केसीले उक्त ऐनलाई जनमुखी, विद्यार्थीमुखी बनाएर मात्र पारित गर्नुपर्ने समेत बताए । मस्यौदा जस्ताको त्यस्तै पारित भए नेता र माफियामुखी हुने दाबीसमेत उनले गरे ।

‘ऐनमा चलखेल सुरु भएको छ,’ केसीले भने, ‘हाल छलफलमा रहेको विधेयकको रूप हेर्दा पूरै ऐनलाई नै विकृत रूपमा तोडमोड गरेर ल्याउन लागेको देखियो ।’ संसद्बाट चिकित्सा शिक्षा ऐन पारित भएमा बहुसंख्यक विद्यार्थी र स्वास्थ्य सेवाग्राहीलाई फाइदा नभई सीमित पक्षको मात्र हित हुने दाबी समेत डा. केसीको छ । लामो समयदेखि आफू स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि संघर्षरत रहँदा शिक्षा ऐन हाल संसद्मा छलफलमा रहेको समेत उनले जनाएका छन् । संसद्मा उक्त ऐनको विधेयक प्रवेश गराउनुअघि माथेमा प्रतिवेदनअनुसार मस्यौदा प्रतिवेदनमा छुटेका बुँदाहरू समावेश गर्नुपर्ने आफ्नो माग अझै पूरा नभएको उनले बताए । 

हतार–हतारमा विधेयक संसद्मा प्रवेश गराउँदा चिकित्सा क्षेत्रका विद्यार्थी एवं जनतामुखी थुप्रै बँुदाहरू छुटेको केसीले बताए । विधेयकको सुधारिएको संस्करण विभिन्न निकायमा बुझाएको जनाउँदै उनले निजी मेडिकल कलेजले शुल्क निर्धारणको प्रक्रियामा सहभागी हुने कुरा खारेज गरिनुपर्ने बताए । यस्तै ऐनमा बिनासर्त अब एक दशकसम्म उपत्यकामा कुनै नयाँ मेडिकल कलेज, प्रतिष्ठान नखोल्ने, मनसाय पत्र नदिने र भएका मनसायपत्र नवीकरण नगर्ने व्यवस्था गरिनुपर्ने समेत उनी बताउँछन् । एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने प्रावधान हालको प्रस्तावित ऐनमा हटाइएको भन्दै त्यसलाई समेटिनुपर्ने पनि उनले बताए । ‘कम्तीमा तीन वर्षसम्म आफ्नै अस्पताल पूर्णरूपमा सञ्चालन गरेकोलाई मात्र सम्बन्धन दिन पाइने हुनुपर्छ,’ उनले भने । 

माथेमा प्रतिवेदनअनुसार साझा प्रवेश परीक्षाको उत्तीर्णांक ६० प्रतिशत कायम गर्नुपर्ने समेत उनी जनाउँछन् । सबै प्रदेशहरूमा न्यूनतम एक–एक वटा सरकारी मेडिकल कलेज खोल्ने काम छिट्टै अगाडि बढाउनुपर्ने समेत उनले उल्लेख गरे ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-06-15 10:58:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts