निर्जीव वस्तुबाट पनि सर्न सक्छ स्वाइन फ्लु
स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एच १ एन १ नामको भाएरसको संक्रमणले मानिसको मृत्युसमेत हुन सक्छ । विशेषगरी सुँगुरमा पाइने यो भाइरस आफ्नो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा या हाछ्युँ गर्दा निकाल्ने छिटासँगै भाइरस बाहिर आएर हावामा फैलिन्छ । सोही समयमा निरोगी व्यक्तिले श्वास लिँदा भाइरस सर्न सक्छ । सामान्यतया मानिसले खोक्दा वा हाछ्युँ गर्दा एक मिटरसम्म भाइरस फैलिन्छ । भाइरस भएको छिटा कुनै वस्तुमा पर्यो भने त्यस्तो वस्तु पनि जोखिमयुक्त बन्छ । जस्तै ः ढोकाको हेन्डिल, सिरानी, किबोर्ड, मोबाइल, रिमोट कन्ट्रोल जस्ता वस्तुमा पनि रोगी व्यक्तिको छिटा पर्यो भने त्यस्ता वस्तुमा भाइरस २४ घन्टासम्म जीवित रहन्छ । त्यस्ता वस्तुलाई निरोगी व्यक्तिले चलाउँदा स्वाइन फ्लु सर्न सक्छ । यसकारण यो भाइरस तीव्र गतिमा फैलिन सक्छ । तर। मानिसको रोगप्रतिरोधी क्षमता बलियो छ भने भाइरसले संक्रमण नगर्न सक्छ । तर, भाइरस कडा हुने भएकाले सजिलै फैलिने खतरा भने हुन्छ ।
स्वाइन फ्लुका लक्षण
स्वाइन फ्लुको प्रारम्भिक लक्षण सामान्य रुघाखोकीजस्तै हुन्छ । तरपनि स्वाइन फ्लुको केही विशेष लक्षणले ज्यानै लिने रोग बन्न पनि सक्छ । स्वाइन फ्लुको संक्रमणमा शरीरको तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी हुन्छ । अत्याधिक थकान महसुस हुनु, टाउको दुख्नु, रुघा लाग्नु, घाँटी खसखसाउनु, खोकी लाग्नु, श्वास लिन गाह्रो हुनु, मांसपेसी वा शरीर अति दुख्नु, पेट खराब हुनु, झाडाबान्ता हुनु यो रोगका प्रमुख लक्षण हुन् । क्यान्सर, मिर्गौलासम्बन्धी रोग, गर्भवती महिला, एक वर्षभन्दा कम उमेरको बच्चामा रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिमा स्वाइन फ्लुको जस्तै लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । बालबालिकामा यदि श्वास फेर्न गाह्रो हुने, आलस्य हुने, धेरै रुने भएमा स्वाइन फ्लुको शंका गरेर अस्पताल लैजानुपर्छ ।
जोगिने उपाय
१. सामान्य फ्लु भएका बिरामीबाट करिब ६ मिटर टाढा बस्ने ।
२. खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख ढाक्ने ।
३. हात धुँदा साबुनपानीले कम्तीमा २० सेकेण्ड धुने ।
४. फ्लु संक्रमित व्यक्तिमा सामान प्रयोग गर्ने ।
५. सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्छ । आफ्नो घर वरपर फोहोर हुनु हुँदैन ।
६. फोहोर पानी जमाएर राख्नु हुँदैन । जमेको फोहोर पानी हटाउनुपर्छ ।
७. यदि घरमा कोही स्वाइन फ्लु वा इन्फेक्सनबाट ग्रसित छन् भने त्यस्ता बिरामीलाई बेग्लै सफा कोठामा राख्नुपर्छ ।
८. साबुनपानीले हात नियमित धुने, घरको ढोकाको हेन्डिल, किबोर्ड आदि सफा राख्ने, मास्क प्रयोग गर्ने, अनुहारमा हात अनावश्यक रुपमा नलैजाने जस्ता सजगता अपनाउन सकिन्छ ।
९. यस्ता सावधानीले स्वाइन फ्लु मात्रै होइन, धेरै किसिमका संक्रमणबाट जोगिन सकिन्छ ।
१०. स्वाइन फ्लुविरुद्धको खोप विकास भइसकेपनि खोपको प्रभावकारितामा पूर्ण विश्वास गर्न सकिन्न । यद्यपि, अमेरिकाको फुड एन्ड ड्रग मिनिस्ट्रेसनले सन् २००९ मा खोपलाई मान्यता दिएको थियो । सो खोपको अध्ययनपछि खोपको एक मात्राले १० दिनसम्म स्वाइन फ्लुबाट जोगाउने देखियो । यो खोपले शरीरमा पर्याप्त मात्रामा भाइरसलाई निस्तेज पार्ने एन्टिबडी निर्माण गर्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>