यौन हिंसाको सिकारमा बालक
काठमाडौं, १८ वैशाख । बालिका मात्रै होइन बालक पनि यौन हिंसाको सिकार भइरहेको पाइएको छ । यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहालेमा आर्थिक लेनदलेनमा मिलाउने गर्दा हिंसापीडित बालकलाई न्याय दिलाउन समस्या हुने अधिकारकर्मीहरू बताउँछन् ।
त्यस्तै घटनालाई प्रहरीसम्म पुग्न नदिने र पुगिहाले प्रहरीलाई दबाब, प्रभावमा पार्ने प्रवृत्तिका कारण मुद्दालाई बलियो रूपमा अघि बढाउन समस्या भइरहेको अधिकारकर्मी कविता शाह बताउँछिन् । मुलुकी ऐनले नाबालकलाई यौन दुव्र्यवहार गरे १ वर्षभन्दा बढीको सजाय हुने प्रावधान गरेको छ । लामो समयसम्म यौन हिंसाकै कारण काठमाडौंका मनीष (नाम परिवर्तन) यौन व्यवसायमा संलग्न हुन पुगे । ४ वर्षअघि नजिककै आफन्तले फकाएर उनलाई यौनकार्यमा संलग्न गराएको उनले सुनाए । ‘पहिले फकाउँथे, पछि त डराएर धम्क्याएर एकान्तमा लैजान थाले,’ उनले भने । ती आफन्तले उनलाई आफ्नो यौनांग छुनरमुसार्न लगाइरहने उनले बताए । हुर्कंदै जाँदा १५ वर्षीय मनीषलाई समलिंगीतर्फ आकर्षण बढेको उनले बताए ।
अनलाइनमार्फत समलिंगी यौनबारे थाहा पाएपछि उनी यसै व्यवसायमा लागे । उनी भर्खरै एक संस्थामार्फत उद्धार भएका छन् । विपन्न परिवारका मनीष दैनिक १५ सय कमाउँथे । ‘कोठाभाडा र दैनिक खर्च पुग्थ्यो,’ उनले भने, ‘कसैले मोबाइल किनिदिन्थे, कसैले राम्रो होटलमा लगेर खाजा खुवाइदिन्थे ।’ यौन व्यवसायमा लागुन्जेल आफू धेरै दुव्र्यवहारमा परेको उनले सुनाए । ‘उनीहरूले भनेजस्तो नगरे चुरोटले पोलिदिन्थे, एकै दिनमा १२ जनासँग पनि बस्न लगाउँथे,’ उनले भने । व्यवसाय छाडे पनि अहिले मनीष विभिन्न स्वास्थ्य समस्या लिएर बसेका छन् । यौनांगभरि खटिरा आएको, डिप्रेसनले एक्लै बस्न मन लाग्ने र रातभर निद्रा नआउने उनले सुनाए ।
बालक यौनदुव्र्यवहार घर, स्कुल, आफन्त या साथीभाइ जोसुकैबाट पनि हुन सक्ने बालअधिकारकर्मीहरू बताउँछन् । यौन दुव्र्यवहारमा पर्ने अधिकांश बालक कुलतमा फस्ने गरेको पाइन्छ । यौन व्यवसायमा लाग्ने बालकहरूले मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको उनीहरूले खुलाए । बाल यौन हिंसाबारे परिवारले विश्वास नगर्ने, कानुनी सहायता नमिल्ने र पुरुष–पुरुषबीचको यौनलाई समाजले नमान्ने प्रवृत्तिका कारण यस्ता घटना बाहिर आउन नसकेको शाह बताउँछिन् । बालकमाथि यौन दुव्र्यवहार गर्ने प्रवृत्तिलाई विश्व स्वास्थ्य संगठनले अप्राकृतिक यौन र मानसिक रोग भनेको छ । ‘चकलेट र मस्म दिएर बालक फकाउँदै यौन दुव्र्यवहार गर्ने प्रवृत्ति बढेको छ,’ उनले भनिन् ।
काठमाडौंका सबिन (नाम परिवर्तन) पनि यौन दुव्र्यवहारमा परेका बालक हुन् । साथीको घरमा खेल्न जाने क्रममा साथीकै आफन्तले दैनिक यौन दुव्र्यवहार गर्ने गरेको उनले सुनाए । ‘सधैं गुप्तांगमा चलाइरहन्थ्यो,’ उनले भने, ‘कहिले–काहीं चकलेट दिएर सबै लुगा फुकाल्न लगाउँथ्यो ।’ आफूलाई गरेको व्यवहार यौन हिंसा हो भन्ने थाहा नपाउँदा उनले यो कुरा ६ महिनासम्म कसैलाई भनेनन् । यस्ता समस्याबारे खुल्न नसक्दा बालकहरू पनि विभिन्न यौन संक्रमित रोग, डिप्रेसन र आत्महत्यासम्म गर्ने गरेको अधिकारकर्मी बताउँछन् । बालिकाजस्तै बालक पनि हुर्कंदै जाँदा उसमा आउने शारीरिक परिवर्तनमाथि परिवारले निरीक्षण गर्नुपर्ने शाह बताउँछिन् ।
सडक, श्रम, सुकुम्बासी र मनोरञ्जन क्षेत्रमा काम गर्ने बालकहरू यौन दुव्र्यवहारमा पर्ने गरेको अधिवक्ता सन्तोष महर्जनले बताए । बालक यौन हिंसामा प्रमाण जुटाउन गाह्रो हुने, साक्षी नहुने हुँदा कानुनले यसलाई जबरजस्ती करणीमै मुछेको उनी बताउँछन् । ‘बालकहरूलाई जबरजस्ती होइन ललाइफकाइ यौन दुव्र्यवहार गरिन्छ, उनीहरू थाहा पाउँदैनन्,’ महर्जनले भने ।
विपन्न र गरिब परिवारका मात्रै नभएर सम्पन्न परिवारका बालकहरू पनि यौन दुव्र्यवहारको जोखिममा रहेको शाह बताउँछिन् । देखासिकी, संगत र इन्टरनेटमा धेरै समय बिताउने कारणले सम्पन्न परिवारका बालकहरू यसमा फस्ने गरेको उनले बताइन् । यौन व्यवसायमा संलग्न अधिकांश बालकमा विभिन्न यौनजन्य रोग र संक्रमण देखापर्ने गरेको पाइन्छ । यौनांगभरि खटिरा आउने, मुसा फैलने, गुप्तांग पाक्ने गरेको उनले बताइन् । ‘धेरैजसोमा औषधि नै खानुपर्ने खालका मानसिक रोग देखा पर्छन्,’ शाहले भनिन् ।
बालकहरू पनि यौन दुराचारको जोखिममा छन् भन्ने सन्देश सबैसमक्ष नपुग्दा यस्तो समस्या दिनानुदिन बढेको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल बताउँछन् । अभिभावकले आफ्नो छोराबारे पनि संवेदनशील भएर ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>