छोरी भएको थाहा हुँदा एक वर्षमै ३ पटक गर्भपतन !



Download our app to get more features

बझाङ, १८ वैशाख । जयपृथ्वी नगरपालिकाकी २९ वर्षीया रामकला नेपालीको एक वर्षअघि मृत्यु भयो । उनको मृत्युको कारण अरू केही नभएर छोरा जन्माउने आशा थियो । कुरो सुन्दा अनौठो लागे पनि छोरा पाउने आशामा लगातार गर्भपतन गराएका कारण अत्यधिक रक्तस्रावले उनले ज्यान गुमाउनुपरेको हो ।

रामकलाले सुरुमा जिल्ला अस्पताल पुगेर सुरक्षित गर्भपतन गराइन् । त्यसको केही महिनापछि फेरि बच्चा बस्यो । भारतको पलिया गएर परीक्षण गर्दा गर्भमा छोरी रहेछ । रामकला दम्पतीले धनगढी आएर सुरक्षित गर्भपतन गराए । दोस्रोपटक गर्भ पतन गराएको एक महिनामा पुनस् गर्भ रह्यो । जचाउँदा छोरी नै भएको थाहा पाएपछि उनले औषधि खाएर गर्भपतन गराउन खोजिन् । त्यही नै उनको काल भयो । औषधि सेवनबाट गर्भपतन गराउँदा अत्यधिक रगत बगेपछि जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको ज्यानै गयो ।

तल्कोट गाउँपालिकाकी पुतली विष्टले पनि सीमावर्ती भारतीय बजारको एउटा क्लिनिकमा भु्रणको लिङ्ग जाँच गराएपछि गाउँकै मेडिकलबाट औषधि खाएर गर्भ फाल्न खोजिन् । उनलाई पनि औषधिले सिकिस्त बनायो । रगतमा हेमोग्लोबिनको मात्रा सकिनै लाग्दा आफन्तले अस्पताल पुर्याए । उपचारमा संलग्न चिकित्सकले नै रगत दिएर बल्लबल्ल ज्यान बच्यो ।

मालुमेलाकी प्रवीणा भण्डारी अहिले २६ वर्षकी भइन् । उनकी ४ वर्षकी छोरी छन् । दोस्रो सन्तान छोरा पाउने रहरमा उनले यस अवधिमा ४ पटक गर्भपतन गराइसकेको बताइन् । उनको धेरै सन्तान जन्माउने रहर छैन र एक छोरा पनि नभई भएको छैन ।

कोखमा छोरा नै भएन भने त समाजको अगाडि कसरी मुख देखाउनु ?’ उनले भनिन्, ‘धेरै सन्तान पाल्न सक्ने क्षमता पनि छैन । फेरि धेरै छोरी जन्माएर पनि के गर्नु ?’ लगातार गर्भपतन गराएका कारण उनले तल्लो पेटसम्बन्धी समस्या भएको बताए पनि के भएको हो ? खुलाइनन् । उनले २ पटक अस्पतालमा सुरक्षित गर्भपतन गरेको भए पनि २ पटक औषधि खाएर गर्भ फालेको बताइन् । पटकपटक अस्पताल गएर गर्भपतन गराउँदा स्वास्थ्यकर्मीले हेला गर्ने डरले असुरक्षित उपाय रोजेको उनको भनाइ छ ।

यी त केही प्रतिनिधि घटनामात्र हुन् । छोरा पाउने आसमा पटकपटक गर्भपतन गराउनु पर्दा धेरै महिलाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । भारतको पलिया, पिलिभित, लखिमपुरलगायत सीमावर्ती बजारमा छ्यापछ्याप्ती खुलेका भु्रणको लिङ्ग परीक्षण गर्ने क्लिनिकमा परीक्षण गराउने र छोरी भए स्वास्थ्यको ख्यालै नगरी फ्याल्ने समस्या आएको स्वास्थ्यकर्मी बताउँछन् ।

पटकपटक असुरक्षित गर्भपतनले धेरै जस्तो महिलाको पाठेघरमा संक्रमण हुने, गन्हाउने पानी बग्ने, तल्लो पेट दुख्ने र कतिपयको पाठेघर नै निकाल्नुपर्ने, बाँझोपन हुने र पछि गर्भधारण नहुनेजस्ता समस्या देखिएको अस्पतालकी नर्सिङ इन्चार्ज लक्ष्मी शाहीले बताइन् ।

‘इन्डिया गएर गर्भ जाँच गर्छन् । गाउँ फर्केर जथाभावी मेडिकल औषधि खाएर गर्भपतन गर्छन्,’ उनले भनिन्, ‘औषधिको असरले गम्भीर भएपछि मात्र अस्पताल आउने गरेका छन्,’ उनले एक वर्षमा सरदर ८ महिलाको पाठेघर नै फाल्नुपरेको बताइन् । पटकपटक असुरक्षित गर्भपतनका कारण पाठेघर नै काम नलाग्ने भइसकेको हुने उनको भनाइ छ । 

असुरक्षित तरिकाले पटकपटक गर्भपतन गराइसकेपछि विभिन्न समस्या लिएर अस्पताल आउनेको संख्या बर्से्नि बढदो रहेको जिल्ला अस्पतालको तथ्यांकमा छ । अपूर्ण गर्भपतन (इनकम्पिलिट एभर्सन) गरेकै कारण पाठेघर पुनस् सफा गर्न आउनेको संख्या वार्षिक २० को हाराहारीमा रहेको शाहीले बताइन् ।

जिल्ला अस्पतालका डा. पूर्ण घर्ती भन्छन्, ‘बाहिर असुरक्षित गर्भपतन गराएर समस्या भएपछि अस्पताल आउनेको संख्या बढदै गएको हो । कुनै महिना १५÷१६ जनासम्म यस्तो समस्या लिएर आउने गरेका छन् ।’ औषधि पसलले निर्वाध रूपमा गर्भपतन गराउने औषधि बिक्री गरेका कारण यस्तो समस्या बल्झिँदै गएको उनको बुझाइ छ । चार महिना नभई लिंग परीक्षण नहुने र चार महिनापछि गर्भपतन गराउन जिल्ला अस्पतालका कर्मचारीले नमान्ने भएकाले असुरक्षित तवरले गर्भपतन गराउनुपरेको कतिपय महिला बताउँछन् । 

जिल्ला अस्पतालका प्रमुख अनुप रेग्मीले १२ साताभन्दा बढीको गर्भपतन गर्ने अधिकार आफूहरूलाई नभएका कारण फर्काउने गरेको बताए । उनले ९ साताभन्दा माथिको गर्भपतन गर्न औषधि प्रयोग गर्न नमिल्ने भए पनि यहाँका धेरैजसो महिलाले ५÷६ महिनाको गर्भपतन गर्नलाई पनि औषधि नै खाने गरेको बताए । यसरी औषधि खाँदा महिलामा बाँझोपनको समस्यासमेत देखिएको उनको भनाइ छ ।

 

(आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले लेखेको समाचार)

Last modified on 2017-06-15 12:59:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts