यौवनको उन्माद : फुस्किएको कण्डम र गनोरिया (भाग–२)
आज कार्यालय समय सकेर आराम गर्दै थिएँ । शनिबारको दिन भएर होला काममा त्यति धेरै जाँगर लागेको थिएन ।
केही समयपछि होस आयो । करिब ६ महिना पहिले मैले एउटा सत्यकथा लेखेको थिएँ । कथाका पात्रको जीवनमा तीन महिनापछि नयाँ मोड आउँदै थियो । मैले पात्रो पल्टाएँ । दशैँको अष्टमीको दिन कहिले रहेछ भनेर हेर्न मन लाग्यो । ओहो ६ महिना बितिसकेछ । आज माघको २९ गते । मलाई उत्सुकता जाग्यो । रमेशको रिपोर्ट के आयो होला ? तत्काल उनलाई फोन लगाएँ ।
आवाज आयो – ‘हेलो’
मैले भने – ‘रमेश जी आराम हुनुहुन्छ ?’
‘आराम छु तपाईँ को बोल्नुभयो ?’ – उतावाट आवाज आयो ।
‘म शिब प्रसाद लामिछाने । चिन्नु भएन ।’ – मैले आफ्नो परिचय दोहोर्याएँ ।
‘शि...ब । ए ए । शिब जी के छ खबर ।’ – थोरै हाँसेको सोरमा उताबाट आवाज आयो ।
‘रमेश जी के छ नयाँ नौलो ?’ – सिधै प्रसंगमा छिर्न अफ्ठ्यारो मान्दै अनौपचारिक कुराकानी गर्न थालेँ ।
‘ठिकै छ भन्नुपर्यो ।’ – रमेश जीको उत्तर आयो ।
भन्नुपर्यो भन्ने शब्दले मलाई झस्कायो । अनि मैले सोधीहालेँ – ‘किन भन्नुपर्यो मात्र ।’
उनी थोरै नरम हुँदै भन्नथाले – ‘सर उही त हो ।’
शिब जी बाट एक्कासी सर सम्बोधन भएपछि मलाई अचम्म लाग्यो । अनि यो प्रश्नपूर्ण वाक्यले मलाई थोरै डराउने पनि बनायो । भनेँ – ‘के भयो र ?’
मेरो प्रश्न सकिन नपाउँदै उनले भने – ‘सर मनमा डर भरिएर म त ब्लड चेक गराउन गएको छैन ।’
‘किन ?’ मैले भनेँ
‘यदि एचआईभी पोजेटिभ देखियो भने म के गर्छु होला भन्ने सोचेर नै धेरै डराइरहेको छु ।’ – उसको यो शब्दहरुमा पीडा भरिएको छ भन्ने म सजिलै अनुमान लगाउन सक्थेँ ।
‘हेर रमेश यदि समयमा चेक गराएनौ भने झन तिमी चिन्ताले गल्दै जान्छौँ । तिम्रो मनमा हर समय एचआईभी छ कि भन्ने चिन्ता रहिरहन्छ ।’ – मैले केही सम्झाउने शैलीमा भनेँ ।
उ केही समय चुप बस्यो । केही बोलेन । फेरी मैले थपेँ – ‘रमेश जसरी भएपनि भोली नै चेक गराउन जाउ । म फोन गर्नेछु तिमिलाई सम्झाउनलाई ।’
उसले हस् भनेर फोन काट्यो ।
म साथीहरु माझबाट छुट्टिएर घर तिर लागेँ । साझ परिसकेको थियो । कोठामा पुगेर खाना पकाएँ खाएँ अनि ओछ्यानमा पल्टिएँ । मलाई निन्द्रा लागिरहेको थिएन । किन हो रमेशको ठाउँमा आफैँलाई राखेर सोच्न थालेँ – ‘यदि मलाई रमेशको जस्तो अवस्था आएको भए म के गर्थेँ होला ?’
लामो समय सोचेर बसेँ । १ बजेसम्म त निदाउन सकिन त्यसपछि खै कति बेला हो निदाएछु ।
झण्डै ६ दिनपछि म कार्यालयमा काम गर्दै थिएँ । रमेशले गरेको फोनले मोवाइलमा घण्टि बज्दै थियो । मिटिङमा भएकाले मैले फोन उठाउन सकिन । जिज्ञासाले मन भरिएर आयो । मिटिङ सक्न पाउँदा नपाउँदै रमेशलाई फाने गरेँ ।
हेलो, के छ आराम हुनुहुन्छ ?’ – उतावाट आवाज आयो ।
‘ठिक छु । तपाईँलाई कस्तो छ ?’ – मैले प्रश्न तेस्र्याएँ ।
‘शिब जी म साँच्चै खुसी छु ।’ – खुसी भरिएको शब्दहरु म सजिलै बुझ्न सक्थेँ । मैले करिब करिब बिषय बुझि सकेको थिएँ । तर पनि प्रश्न गरेँ – ‘के हो खुसीको खबर हामी पनि सुन्न पाउँछौँ ?’
‘शिब जी धेरै धेरै धन्यवाद । सायद म चिन्ताले नै बिरामी पर्ने थिएँ होला यदि रक्त जाँच गराउन नगएको भए ।’ – उसले मलाई धन्यबाद दिँदै भन्यो ।
मसँग भन्ने शब्द भएनन् । – ‘ल आफ्नो स्वास्थ्यको ख्याल राख्नु । अब बाट धेरै ध्यान दिनुहोला । जोसमा होस नगुमाउनुहोला नी । मैले भने ।’
उसले हाँसोको फोहोरा छोड्दै भन्यो – ‘यति धेरै पीडामा बाँचेपछि म कसरी फेरी गल्ति गर्न सक्छु र । ल सर धन्यबाद एकपटक फेरी । कुराकानी गर्दै गरौँला ।’
हस् । बाई । – ‘मैले फोन राखेँ ।’