‘जोर्नी दुखाई चिकनगुनियाले पनि हुन सक्छ’



Download our app to get more features

काठमाडौँ, ५ वैशाख । अत्यधिक जोर्नी दुखाईबाट पीडित व्यक्तिको उपचार गर्दा चिकनगुनियालाई समेत सम्भावित रोगको सूचिमा राख्नुपर्ने विशेषज्ञले औल्याएका छन् । मुलुकमा ‘चिकनगुनिया’ को संक्रमण देखिन थालेकाले विशेषज्ञले त्यस्तो सुझाव दिएका हुन् । ती विशेषज्ञका अनुसार जोर्नी दुखेर अस्पताल पुगेका ‘चिकनगुनिया’ प्रभावित धेरैजसोमाथि बाथ रोग, युरिक एसिड वृद्धिजस्ता आशंकामा उपचार थालिन्छ ।

‘जोर्नी दुखाइको लक्षण महसुस गरेर अस्पताल आउनेहरुसँग पूर्वइतिहास सोधेर चिकित्सले डिफरेन्सियल डायग्नोसिस (सम्भावित रोगको सूची) मा चिकनगुनियालाई समेत राख्नुपर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.शेरबहादुर पुनले भने, ‘चिकनगुनियाकै कारण कडा जोर्नी दुखाई, ज्वरो, बिमिरा आउने लगायत समस्यासहित उपचारमा आएकाको पनि रोगको सही पहिचान हुन सकेको छैन ।’

डा. पुनका अनुसार टेकु अस्पतालमा शंकास्पद चिकनगुनिया परीक्षणका लागि आएकामध्ये करिब २२ प्रतिशतमा यो रोगको संक्रमण देखिएको छ । अहिले पनि यसको संक्रमण देखिदैँ आएको छ । मुलुकमा फाट्टफुट्ट रुपमा हरेक महिनाजसो चिकनगुनिया संक्रमण देखिए पनि वर्षायामपछि भने अझ बढी देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार सन् २०१३ मा डा. वासुदेव पाण्डेले गरेको अध्ययनबाट मुलुकमा सबभन्दा पहिले चिकनगुनियासमेत रहेको प्रमाणित भएको हो ।

अमेरिकन जर्न अफ ट्रपिकल मेडिसिन एन्ड हाईजिनमा डा.वासुदेव पाण्डे,डा.विश्वास न्यौपाने, डा. किशोर पाण्डे, डा. नियात र प्रा.डा. मोरिताले सन् २०१३ मा गरेको अध्ययन रिपोर्टअनुसार ज्वरो, टाउको–मासंपेशी–जोर्नी दुखाई, थकाइलगायत समस्या देखिएका करिब ५ प्रतिशत चिकनगुनिया प्रभावित छन् । उक्त अध्ययन कञ्चनपुर, पर्सा र चितवन जिल्लामा १ सय ६९ जनाको रगतको नमुना लिएर गरिएको थियो । सोही अध्ययनको थप प्रक्रियाअन्र्तगत गत वर्ष चितवनबाट ज्वरो, जीउ, मांसपेसी, जोर्नी दुखाइलगायत समस्या भएकामध्ये ६९ जनाबाट संकलन गरिएको रगत नमुनामा समेट ७ प्रतिशतमा चिकनगुनिया देखिएको डा.पाण्डे बताउँछन् । उनका अनुसार मुलुकमा हुने गरेको परीक्षणमा यो रोगको सटीक पहिचान भइरहेको छैन 

इपिडिमियोलोजीका अनुसार भारतमा यही संक्रमणले ११ जनाको मृत्यु भएको देखिएपनि नेपालमा हालसम्म मृत्युको तथ्याकं रेकर्ड गरिएको छैन । डा.शर्माका अनुसार भाइरसबाट हुने संक्रमण चिकनगुनिया सार्ने लामखुट्टे काठमाडौँ लगायत पहाडी र तराईका जिल्लामा पाइन्छ । समान्यतया यो रोग आफैँ नियन्त्रित हुन्छ । संक्रमित जोर्नी दुखाईसँगै ज्वरो सामान्यतया तीत दिनसम्म रहन्छ । तर ज्वरो निको भएपछि पनि जोर्नी सुन्निने र दुखाई कायम रहन सक्छ । यस्तो लक्षण रोगीको उमेरको आधारमा एक, दुई वा तीन सातादेखि महिनौसम्म रहन सक्ने डा.पुन औल्याउँछन् । चिकनगुनियाको ज्वरो निको हुनुमा बिरामीको उमेर र रोग प्रतिरोधक क्षमतामा निर्भर रहन्छ ।
 

(आजको कान्तिपुर दैनिकबाट) 

Last modified on 2017-06-16 17:02:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts