काठमाडौँमा देखियो एच १ एन १ स्वाइन फ्लु, एक जनाको मृत्यु
काठमाडौँ, ५ वैशाख । स्वाइनफ्लु (इन्फ्लुएन्जा एच १ एन १ भाइरस) का कारण काठमाडौंमा एकजनाको मृत्यु भएको छ । ललितपुर छम्पी निवासी ५२ वर्षीया नारायणी थापाकोे स्वाइनफ्लुका कारण गत २० चैतमा मृत्यु भएको हो । सरकारले नेपालमा स्वाइनफ्लुका बिरामी नभएको बताएका वेला ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेकी थापाको मृत्यु भएको अस्पताल प्रशासन प्रमुख दिनेश आचार्यले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई १६ चैतमा सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । ‘आमा र छोरी दुवै बिरामी भएर अस्पताल आएका थिए,’ आचार्यले भने, ‘आमाको अवस्था गम्भीर भएका कारण तत्काल भेन्टिलेटरमा राखेर उपचार थाल्यौँ । छोरीलाई सामान्य समस्या भएकाले सामान्य बेडमा राखेर उपचार सुरु गर्यौँ । तर, आमालाई औषधिले काम नगरेपछि रोग पत्ता लगाउन विभिन्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौँ । स्वाइनफ्लु पोजेटिभ देखिएपछि सोहीअनुसार उपचार सुरु गरेका हौँ ।’ स्वाइनफ्लुको पर्याप्त औषधि नभएकाले थापाकोे स्वास्थ्य अवस्था कमजोर बन्दै मृत्यु भएको उनले बताए । छोरी विजेता थापालाई पनि आमाबाट स्वाइनफ्लु भाइरस सरेको आचार्यले बताए ।
अरूले नलिएको बिरामी सुमेरुले लियो
अन्य अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई आफूहरूले उपचार गर्दा पनि सरकारको सहयोग नपाएको आचार्यले गुनासो गरे । ‘उपचार गराउन भनी बिरामीहरू अन्य अस्पतालमा गएका रहेछन् । तर, ती अस्पतालले भर्ना लिन नमानेपछि हामीकहाँ आए । हामीले भर्ना लिएर डायोग्नोसिस गरेपछि स्वाइनफ्लु भएको पत्ता लगायौँ,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले हामीलाई सहयोग गर्नुपर्नेमा झन् उपेक्षा भयो ।’
बिरामीको खकार, रगत, पिसाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगे पनि उनीहरूको स्वास्थ्यप्रति सरकार उदासीन बनेको आचार्यले गुनासो गरे । स्वाइनफ्लु लागेका बिरामीको उपचार गराउँदा उपचारमा संलग्न चिकित्सकलाई ‘भ्याक्सी ग्राफी’ नामक भ्याक्सिन दिनुपर्ने हुन्छ । तर, अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासमक्ष पटक–पटक भ्याक्सिन माग्दा पनि नदिएको उनले बताए ।
त्रास फैलाउने काम भयो ः रोग नियन्त्रण महाशाखा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नारायणी थापालाई स्वाइनफ्लुको नाम दिएर सुमेरु अस्पतालले आममानिसमा त्रास फैलाउने काम गरेको आरोप लगाएको छ । महाशाखाका निर्देशक डा. गुणनिधि शर्माले थापालाई स्वाइनफ्लु नभई सिजनल इन्फ्लुएन्जा भएको दाबी गरे । ‘जनतालाई त्रास फैलाउने काम केही चिकित्सकले गरिरहेका छन्, यो आपत्तिजनक छ । हामी तथ्यविना बोल्दैनौँ । अहिले यस्तो कुनै समस्या देखिएको छैन, हामीले सहयोग गरेनौँ भन्नु पनि गलत हो । आवश्यक सबै सहयोग गरेका छौँ,’ शर्माले भने ।
स्वाइनफ्लुका लक्षण
खोकी लागिरहने । घाँटी खसखसाउने । लामो समयसम्म कडा ज्वरो आउने । बालबालिकामा ज्वरोसँगै बान्ता र पखाला लाग्ने ।
स्वाइनफ्लुका बिरामी भर्ना गर्दा अरू भागे
सुमेरु अस्पतालमा उपचार गराइरहेका अन्य बिरामीले स्वाइनफ्लुका बिरामीको उपचार गरेको थाहा पाएपछि बिरामी बाहिर निकाल्न अस्पताल प्रशासनलाई पटक–पटक दबाब दिएको प्रशासन प्रमुख दिनेश आचार्यले बताए । ‘भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपछि अन्य बिरामीले थाहा पाएछन् । यस्तो बिरामी भर्ना नगर्न निकै दबाब दिए । हाम्रो काम बिरामीको सेवा गर्ने भएकाले हामीले उपचार सुरु गर्यौँ,’ उनले भने, ‘सुरक्षाका लागि भन्दै १२ जनाभन्दा बढी बिरामी अस्पतालबाट निकालेर अन्यन्त्र लगे ।’
दिदीको घरबाट फर्केपछि थापालाई स्वाइनफ्लु
श्रीमान् प्रचण्डबहादुर थापा
गत ११ चैतमा नारायणी थापा स्युचाटारस्थित दिदीको घर गएकी थिइन् । दुई दिन बसेर आइतबार घर आइन् । घर आएपछि उनलाई सामान्य ज्वरो आएको थियो । नारायणीलाई बिस्तारै ज्वरो र रुघाखोकी लाग्न थालेपछि नजिकैको क्लिनिकमा लगेर एन्टिबायोटिक दिए । मंगलबार परीक्षणका लागि सामान्य क्लिनिक गयौँ, कुनै समस्या नभएको भन्दै घर पठाइदियो । मंगलबार राति खाना खाएर सुत्यौँ । बुधबार बिहान ५ बजे उनलाई एकदमै गाह्रो भयो । श्वासप्रश्वासमा समस्या भएपछि तत्काल मिडाट अस्पताल गयौँ । त्यहाँ उपचार गर्न नमानेपछि सुमेरु अस्पताल धापाखेल गयौँ । तर, उनलाई बचाउन सकिएन । छोरी पनि सँगै गएकी थिइन्, उनलाई पनि लागेछ । अहिले औषधि खाइरहेकी छन् । स्वास्थ्य अवस्था सामान्य भएको छ । मैले पनि टेकुमा गएर औषधि खाएँ ।
(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>