९६३ स्वास्थ्य संस्था मापदण्डभित्र
काठमाडौं, ३ वैशाख । उपत्यकाका ९ सय ६३ स्वास्थ्य संस्था नवीकरण र दर्ता भई सरकारी मापदण्डअन्तर्गत आएका छन् । संशोधित स्वास्थ्य निर्दे्शिका २०७३ अनुसार तोकिएको म्यादभित्र काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयमा उक्त संख्यामा स्वास्थ्य संस्थाहरू दर्तारनवीकरण भएको कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यालयले दर्ता र नवीकरणका लागि चैत मसान्तसम्म म्याद तोकेको थियो ।
डेन्टल, आँखा र छालासम्बन्धी काम गर्ने जम्मा ९ सय ६३ स्वास्थ्य संस्थालाई कार्यालयले आवश्यक दस्तुर लिएर सरकारी मापदण्डभित्र ल्याएको श्रेष्ठले बताए । ‘मापदण्डमा आउन स्वास्थ्य संस्थाले अधिकतम ३ लाख २० हजारसम्म जरिवाना तिरेका छन्,’ उनले उनले भने । मापदण्डभित्र आउने धेरैजसो नयाँ दर्ता र नवीकरणमा डेन्टल क्लिनिक आएको श्रेष्ठको भनाइ छ । ‘सिलबन्दीमा पनि डेन्टल क्लिनिक नै बढी परेका थिए,’ उनले भने ।
लामो समय नवीकरण नगरेका स्वास्थ्य संस्था जरिवाना धेरै तिर्नुपर्ने डरले मापदण्डमा आउन आनाकानी गरिरहेका थिए । ‘त्यसैले होला नयाँ स्वास्थ्य संस्था मात्रै दर्ता प्रक्रियामा आएका छन्,’ उनले भने । म्याद गुजारेकाले ५ गुणा दस्तुर तिरेर मात्र नवीकरण गर्न सक्ने संशोधित निर्दे्शिकामा व्यवस्था गरिएको छ । निर्दे्शिकाअनुसार नै मन्त्रालयले चैतपछि नवीकरण प्रक्रिया बन्द गरेको छ । म्याद सकिएका संस्थाको चैतपछि नवीकरण नहुने कार्यालयका सूचना अधिकारी पुष्कर बिजुक्छेले बताए । उनका अनुसार काठमाडौंको गोंगबु क्षेत्रका संस्था दर्ता प्रक्रियामा आएका छन् ।
स्वास्थ्य मन्त्रालयले गत मंसिरमा अनुगमन गरी अधिकांश स्वास्थ्य संस्था अवैध पाइएको जनाएको थियो । मन्त्रालयले निर्दे्शिका संशोधन गर्दै संस्थालाई कानुनी दायरामा आउन निर्देशन दिएको थियो । निर्देशिकाअनुसार दर्ता तथा नवीकरण नभएका निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङ होम, स्वास्थ्य अनुसन्धान केन्द्रलगायत स्वास्थ्य संस्थाले चैतभित्र दर्ता तथा नवीकरण हुनुपर्ने थियो । तोकिएको अवधिभित्र दर्ता तथा नवीकरण प्रक्रियामा नआउने संस्था सधैंका लागि खारेज गर्ने मन्त्रालयले जनाएको थियो । त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा कुनै पनि स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगर्ने व्यवस्थासमेत निर्दे्शिकामा गरिएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार उपत्यकामा मात्र करिब १६ सय स्वास्थ्य संस्था छन् । ‘९ सय ६३ मात्रै नियमभित्र आए,’ प्रमुख श्रेष्ठले भने, ‘बाँकी स्वास्थ्य संस्था बन्द गरियो, अब नयाँ संस्था मात्रै दर्ताका लागि आउन सक्छन् ।’
(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>