उपचार अभावमा अकालमै ज्यान गुमाउँछन् सुत्केरी
            सिन्धुपाल्चोक, २ वैशाख । त्रिपुरासुन्दरीस्थित चोकटी गाउँकी सानुमाया थामीलाई सुत्केरी व्यथाले च्याप्यो । प्रसव पीडामा छट्पटाइरहेकी उनलाई बाह्रबिसे बजार र्पुयाउन परिवारले धेरै कसरत गर्नुर्पयो । गाउँमा बर्थिङ सेन्टर थिएन । कच्ची बाटो भएकाले एम्बुलेन्स लगायत अन्य सवारी आउन मानेनन् । स्थानीयले बोकेरै ओरालो झारे । बीच बाटोमै थामीले दुई बच्चा जन्माइन् । तर, उनले भने उपचार अभावमै संसार छाडिन् ।
यो साताअघिको घटना हो । ‘लैजाँदा बाटोमै दुई बच्चा जन्मिए तर बुहारीले ज्यान गुमाइन्,’ ससुरा ताजीले पीडा पोखे, ‘अब यी बच्चालाई लालनपालन कसरी गर्ने हो ?’ उनले बेलैमा बर्थिङ सेन्टर लगिएको भए सजिलै सुत्केरी भएर बुहारीको ज्यान जोगिन सक्ने विश्वास व्यक्त गरे ।
‘गाउँमै बर्थिङ सेन्टर स्थापना भएको भए बुहारीले अझै संसार देखिरहेकी हुन्थिन्,’ ताजीले भने, ‘विकट गाउँमा जन्मिनुको पीडा बल्ल भोगें ।’ उनले आर्थिक अवस्था कमजोर भएको र बजारबाट टाढा बस्नेहरूका लागि सरकारी सेवा उपभोगविहीन भएको सुनाए । चोकटीकै मानु थामीले पनि समयमै सुत्केरी उपचार नपाउँदा नौ महिना गर्भमा राखेको सन्तान गुमाइन् । गाउँलेले कष्टपूर्वक बोकेर बाह्रबिसे ल्याउँदै गर्दा उनको गर्भ बीचमै खेर गएको थियो ।
‘गाउँमै बर्थिङ सेन्टर भए कति सजिलो हुने थियो,’ श्रीमान् दिलले भने, ‘बेलैमा केन्द्रमा नर्पुयाएकाले शिशु गुमाउनुर्पयो ।’ गाउँमा बर्थिङ सेन्टर नभएकै कारण बाह्रबिसे ल्याउने क्रममा चोकटीमा मात्रै भूकम्पपछि तीन सुत्केरी र आठ बच्चाले ज्यान गुमाइसकेका छन् । समयमै उपचार नपाउँदा उनीहरूले ज्यान गुमाउनुपरेको गाउँका अगुवा रमेश राउन बताउँछन् । गाउँको समस्या लिएर बर्थिङ सेन्टर माग गर्दै पाँच पटक जनस्वास्थ्य कार्यालयमा धाएको दुई वर्ष पुगिसकेको भए पनि अझै सुनुवाइ नभएको उनको गुनासो छ ।
चोकटीको थामी बस्तीबाट खोलापारि कर्थलीको बुदेपामा स्वास्थ्य केन्द्र छ । भूकम्पले झोलुंगे पुल क्षतिग्रस्त भएपछि चोकटीका थामी परिवारलाई सामान्य बिरामी परे पनि बाह्रबिसे बजार जानुपर्ने बाध्यता छ ।
बर्थिङ सेन्टर नहुँदा ग्रामीण भेगका सुत्केरीले निकै सास्ती भोग्नुपरेको छ । ‘सरकारबाट ३२ प्रकारका औषधि निस्शुल्क दिइएको छ तर बिरामीले सेवा पाउँदैनन्,’ पाँचपोखरी थाङपाल गाउँपालिकाको गुन्सास्थित स्वास्थ्यचौकी इन्चार्ज अनुपसिंह खडकाले भने, ‘बर्थिङ सेन्टर नहुँदा सुत्केरी गराउन चार घण्टाको यात्रा गरेर मेलम्ची बजार र्पुयाउनुपर्छ ।’
उनले फागुन दोस्रो साता गुन्सामा भएको हिमालयन ओलम्पिक खेलको समापन गर्न पुगेका स्वास्थ्यमन्त्री गगन थापालाई बर्थिङ सेन्टरको माग गरेर निवेदन दिएकोमा अझै पनि सुनुवाइ नभएको बताए । बर्थिङ सेन्टर नहुँदा गुन्सा, चोकटी मात्र होइन जिल्लाका दुर्गम भेग भोटेनाम्लाङ, थाङपालकोट, गुम्बा, भोताङजस्ता ५६ गाविसका सुत्केरीले समस्या भोगिरहेका छन् । जिल्लाभर ४३ स्वास्थ्य चौकी बनिसकेको भए पनि साबिक २२ गाविसमा मात्रै बर्थिङसहितको स्वास्थ्यचौकी निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘हाल ११ विकट भेगका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर बनाउने काम थालिएको छ,’ जिल्ला स्वास्थ्य प्रमुख सुरेन्द्र चौरसियाले भने, ‘बर्थिङ सेन्टरको अभाव हुँदा गाउँका महिलाले सास्ती पाइरहेकाले यो अभियान सुरु गरेका छौं ।’ स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि पुससम्म संस्थामा ६ सय ७ ले सुत्केरी गराएकोमा ३ दशमलव ८ प्रतिशत शिशु र एक सुत्केरीले ज्यान गुमाएका छन् ।
अध्ययनअनुसार सरकारी बर्थिङ सेन्टरमा २४ प्रतिशतले मात्रै सुत्केरी गराउन जाने गरेको स्वास्थ्य कार्यालयका अधिकृत रविकान्त मिश्रले बताए । ‘ग्रामीणदेखि सहरी भेगसम्म प्रायले घरमा नै बर्थिङ गर्ने गरेको पाइयो,’ मिश्रले भने, ‘डोनरले बर्थिङ भवन निर्माण गरेर आए तत्काल कर्मचारी खटाउने प्रबन्ध मिलाएका छौं ।’
उनले चेतना अभावका कारण सरकारी संस्थामा नआई निजी क्लिनिक या घरमै सुत्केरी गराउने बढी भएकाले शिशु र मातृ मृत्युदर बढेको जनाए । जिल्लाभर हालसम्म सञ्चालनमा आएका १५ निजी मेडिकलमा ६ वटा मात्रै दर्ता भएका छन् । जिल्लामा १ जिल्ला अस्पताल, ७५ स्वास्थ्यचौकी र ९ सामुदायिक स्वाथ्य इकाई रहेका छन् । सहरी स्वास्थ्य क्लिनिक ४ वटा खोलिएका छन् ।
(आजको कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेको समाचार)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>