घरमा भएको अव्यवस्थित औषधिको व्यवस्थापन कसरी गर्ने ?
काठमाडौँ, २ वैशाख । स्वस्थ जीवनका लागि वातावरणीय सरसफाइको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसमाथि घरभित्र र घर बाहिरको वातावरण अझै सफा राख्नुपर्छ । कसैको घरभित्र अर्थात् विशेषत ः शयनकक्ष, बैठक वा अन्य कक्षहरू राम्रोसँग नियालेर हेर्ने हो भने कतिपय कुरा अव्यवस्थित देखिन्छन् । यस्तै अव्यवस्थित तवरले राखिने वस्तुहरूमध्ये औषधि पनि हो । औषधि नभएको घर सायदै होला । त्यसो त औषधि ट्याब्लेट, क्याप्सुल, झोल, इन्जेक्सन, मलम गरी विभिन्न रूपमा हुन्छन् । तर अन्य वस्तुको दाँजोमा औषधि जथाभावी राख्नु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण छ । किनकि कतिपय औषधि बालबालिकाले गल्तीवश खाए अकल्पनीय दुर्घटना निम्तिन्छ ।
भिटामिनका क्याप्सुल तथा झोल, एन्टिबायोटिक, दुखाइ कम गर्ने, ग्यास्टिक (ग्यास्ट्राइटिस) का औषधि, त्यसैगरी बेटाडिन, स्पिरिट आदि औषधि प्रायस् घरमा यत्रतत्र फालिएका हुन्छन् । डाक्टरको सल्लाह बमोजिम पुरै कोर्स नियमपूर्वक नखानाले, डाक्टरको पुर्जी्बिना आफैंले औषधि किनेर ल्याउनाले एवं डाक्टरको रेखदेख बिना पनि पटक–पटक औषधि फेरिराख्नाले यसरी घरमा अनावश्यक तवरले औषधि थुप्रिन्छ । यस्तो समस्याको समाधान के त ? के घरमा अनावश्यक तवरले औषधि थुप्रिने कार्य कम गर्न सकिन्छ ?
डाक्टरले प्रायः ५ वा ७ दिन, १० वा १४ दिनसम्म औषधि सेवन गर्न सल्लाह दिन्छन् । आफ्नो अनुकूलता हेरी नजिकको एउटै औषधि पसल वा अस्पतालबाट औषधि किन्ने गरेको खण्डमा कुनै विशेष परिस्थितिमा बीचमै औषधि फेर्नुपरे वा आफूसँग भएको औषधि फिर्ता गरी अर्को आवश्यक औषधि ल्याउनुपरे सजिलो हुन्छ । त्यसका लागि पैसा तिरेको बिल साँचेर राख्नु राम्रो हुन्छ ।
प्राथमिक उपचारको दृष्टिले वा साधारण स्वास्थ्य समस्याका लागि अकस्मात रूपमा चाहिने वा नभई नहुने कतिपय औषधि घरमै राख्नुपरे छुट्टै बाकस, दराजको व्यवस्था गर्नु राम्रो हुन्छ । यस्तो दराज वा बाकस (बट्टा) सिसा वा जालीयुक्त वा पारदर्शी प्लास्टिकको बट्टा भए राम्रो हुन्छ । लामो समयसम्म घरमा सञ्चय गरिराख्नुपर्ने भए बाकसको बाहिरपट्टि यसभित्र राखिएको औषधिहरूको सूची बनाइराख्ने, त्यसमा प्रस्टसँग औषधिको नाम, केका लागि, म्याद गुज्रिने मिति लेखिराख्ने गर्नुपर्छ । दुई–तीन चक्की औषधि बाँकी हुँदा कसै–कसैको कैंचीले काटेर फाल्ने बानी हुन्छ । यस क्रममा औषधिको नाम लगायत अन्य महत्त्वपूर्ण जानकारी पनि काटिएर जान सक्छ । अतस् एउटा कागजमा लेखी पोको पारेर राख्नुपर्छ । मार्करले स्थायी तवरले लेखिराख्न पनि सकिन्छ ।
निरन्तर खानुपर्ने औषधिहरू घरमा सञ्चय गरिराख्नुपर्ने हुन्छ । आफ्नो घरबाट औषधि पसल कति टाढा छ, त्यसैको आधारमा घरमा दुई–चार चक्की बाँकी छँदै ल्याइहाल्नु राम्रो हुन्छ । कतिपय औषधि सुख्खा ठाउँमा भण्डारण गरिराख्नुपर्ने हुन्छ भने कतिपय औषधि विशेष तापक्रममा रेफ्रिजेरेटरमा भण्डारण गरिराख्नुपर्छ ।
यी सावधानी अपनाउँदा–अपनाउँदै पनि औषधिहरू अनावश्यक तवरले थुप्रिन गए नजिकको अस्पताल वा स्वास्थ्य संस्थालाई चन्दास्वरूप दिन सकिन्छ । क्लब तथा संघ–संस्थाले पनि रक्तदान, आँखादान जस्तै घरमा थुप्रिरहेको औषधिको साटफेर कार्यक्रम राख्न सक्छन् । घरमा व्यवस्थित तरिकाले सञ्चय गरिराख्दा, औषधि पसलेलाई फिर्ता गर्नुपर्दा वा स्वास्थ्य संस्थालाई चन्दास्वरूप दिनुपर्दा औषधि कच्याक–कुचुक नपर्नेगरी, उत्पादन तथा म्याद गुज्रिने मिति देखिनेगरी राखिएको हुनुपर्छ । लामो समयसम्म अर्थात् मधुमेह, उच्च रक्तचाप, थाइरोइड, क्षयरोग, कोलेस्टेरोलका औषधिहरूको सञ्चय गरिराख्ने तरिका सम्बन्धित चिकित्सकलाई सोध्नुपर्ने पनि हुनसक्छ ।
घरमा औषधि हुनै नहुने होइन । सिटामोल, बुस्कोपान, ब्रुफेन, एमजिट लगायतका कतिपय औषधि घरमा हुनु नितान्त जरुरी छ । अन्य औषधिको दाँजोमा मलममा एक्सपायरी डेट (म्याद गुज्रिने मिति) हेर्न गाह्रो हुनसक्छ । आवश्यक परेको खण्डमा नजिकैको औषधि पसलमा गई फर्मा्सिस्टको सहयोग लिनुपर्छ ।
प्रसङ्ग औषधि मात्रको होइन, ओपिडी टिकट, प्रेस्क्रिप्सनका पन्ना, जाँच–पडतालका रिपोर्टहरू, एक्सरे, एमआरआई, सिटी स्क्यानको हुनसक्छ । त्यसमाथि एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआईका रिपोर्टहरू दोब्रयाउनु, कुच्याउनु पनि हुँदैन । घरमै पनि यी सबै मेडिकल कागजपत्रको भण्डारण सही तरिकाले गर्नुपर्छ । यस क्रममा मिति, डाक्टर, रोगको प्रकृतिअनुसार भण्डारण गर्नु राम्रो हुन्छ ।
(आजको कान्तिपुर दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>