सुध्रिएन सरकारी स्वास्थ्य सेवा
पाल्पा, १ वैशाख । अस्पताल १५ शय्याको छ । तर यतिबेला भर्ना भएका बिरामी ५ जना मात्रै छन् । दमका बिरामीले दुस्खसाथ उपचार गराइरहेका छन् । तानसेन र छिमेकी गाविसका वृद्धवृद्धा उपचारका लागि भर्ना भएका हुन् । एकैपटक दुई जनालाई अक्सिजन लगाउन मिल्दैन । अस्पतालमा पानी पर्याप्त छैन । विद्युतो भोल्टेज नपुगेर ३ सय एमएमको एक्सरे मेसिन चल्न पनि मुस्किल छ । २ बजेपछि बिरामी आगमन शून्य हुन्छ । बिरामीको टिकट पनि १२ बजेपछि काटिँदैन ।
तानसेनमा रहेको पुरानो पाल्पा अस्पतालको अवस्था हो यो । यो अस्पतालाई सरकारले वर्षमा करोड बढी लगानी गर्छ । तर, सेवाग्राहीको संख्या भने बढेको छैन । तीनजना दरबन्दीको अस्पतालमा सरकारले ७ जना पठाएको छ । उनीहरू अधिकांश समय कामविहीन हुन्छन् । ‘सेवा दिने डाक्टरको कुनै कमी छैन,’ अस्पताल विकास समिति अध्यक्ष डा. पुरन वज्राचार्यले भने, ‘छात्रवृत्तिमा पढेका डाक्टरको हूल नै छ ।’ बिरामी जति आए पनि सेवा दिन सक्ने जनशक्ति रहेको उनले बताए । तर, यहाँ त्यत्ति बिरामी आउँदैनन् ।
सरकारले निस्शुल्क उपलब्ध गराउने ७० प्रकारका औषधि कहिल्यै पूरा पाइँदैन । ‘अस्पतालमा कमिसनको खेल छ,’ सार्वजनिक समारोहमै एक डाक्टरले आक्रोश पोखे । सरकारी अस्पतालमा बिरामीको चाप बढे पनि सेवामा सुधार आउन सकेको पाइँदैन । ‘सेवा सुविधा राम्रोसँग दिए पो सेवाग्राही पनि आउँछन्,’ स्थानीय तिलिसरा थापाले बताइन् ।
७ डाक्टर कार्यरत रहेको यस अस्पतालमा दैनिक बढीमा ६० बिरामी आउँछन् । ‘कुनै दिन अत्यधिक भीड हुन्छ,’ डा. भास्कर हुमागाईंले भने, ‘सधैं त्यसरी बिरामी आउँदैनन् ।’ उनले अस्पतालमा भर्ना हुने बिरामी कम आउने गरेको बताए । ४ वर्षयता छात्रवृत्तिमा पढेका भए पनि अनिवार्य सेवामा आउने क्रम बढेको छ । यहाँ दरबन्दी भएका मेडिकल सुपरिटेन्डेन्ट कहिल्यै बसेनन् । विगतमा अस्पतालमा डाक्टर नभएपछि सेवासुविधा पाइँदैन भन्दै सेवाग्राहीसमेत नआउने अवस्था थियो । अहिले डाक्टरको कमी नभएपछि अस्पतालमा बिरामी आउन थालेका छन् । सरकारले स्वास्थ्य बिमा सुरु गरेपछि बिरामीको चाप बढ्नुपर्ने हो । तर सोचेअनुसार बढेको छैन । अस्पतालमा ५ सय ३० प्रकारका औषधि बिमा गर्नेका लागि आवश्यक पर्छ । तर अहिले २ सय पनि छैन ।
भवनको अभाव, पर्याप्त उपकरण नहुँदा पनि पाल्पा अस्पतालमा बिरामी त्यत्ति आएको पाइँदैन । ‘दाँत देखाउन गएको एक्सरे नै रहेनछ,’ सेवाग्राही विपिन ढकालले भने । स्वास्थ्य कार्यालयले वार्षिक ७ लाख ५० हजारभन्दा बढी रकम प्रचार–प्रसारमा खर्च गरे पनि उपलब्धि नदेखिएको कार्यालयकै कर्मचारीको गुनासो छ ।
अस्पतालका केही स्वास्थ्यकर्मीको व्यवहारमा भने सुधार आउन नसकेको बिरामीको गुनासो छ । उक्त अस्पतालमा गरिब, असहाय, अपांगता, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकालाई निस्शुल्क उपचार गरिन्छ ।
(आजको कान्तिपुर दैनिकमा माधव अर्यालले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>