गर्मी मौसममा निरोगी हुन...
काठमाडौँ, २७ चैत । गर्मी मौसममा मानिसलाई विभिन्न रोगले आक्रमण गर्ने सम्भावना भएको समय हो । गर्मी मौसममा भाइरसहरु सक्रिय हुने भएकाले झाडापखाला लाग्ने, पेट दुख्ने, भाइरल ज्वरो, आँखा पोल्ने, टाइफाइड तथा छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । यो मौसममा धुवाँ, धुलो पनि बढी उड्ने कारण आँखा, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या पनि अत्यधिक हुने गर्छ । जसले गर्दा यो मौसममा शरीरको छाला सुक्खा हुने र एलर्जी तथा दाद आउने समस्या निम्तिन्छ ।
गर्मी मौसममा रोग लाग्ने कारण तथा त्यसबाट जोगिने उपायबारे सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको सझाव यस्तो छ ः
१. गर्मी मौसममा शरीरबाट पसिना धेरै बग्ने तथा जल नष्ट हुनाले थकान महसुस बढी हुन्छ । यही कारणले टाउको दुख्नेजस्ता समस्या देखिन सक्छ । त्यसैले शरीरलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
२. यो मौसममा बासी तथा दूषित खाना, पानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यस्तो विषयमा हेलचक्र्याई गर्दा फोहोर हात, भाँडाकुँडा, झिँगा, लामखुट्टे आदिका कारण रोग लाग्ने सम्भावना हुन्छ । त्यस्तै, संक्रमित व्यक्तिबाट पनि अरुमा सर्न सक्छ ।
३. यो मौसममा विभिन्न सरुवा रोगका किटाणु सक्रिय हुने कारण सरुवा रोगबाट बच्न सजग हुनुपर्छ । बाहिरबाट घर फर्केपछि सफा पानीले हातखुट्टा राम्रोसँग धुनुपर्छ । बाहिरबाट घर फर्केपछि हातखुट्टा धुने बानी गर्दा ८० प्रतिशत मानिसमा सरुवा रोग लाग्दैन । धेरैजसो रोग बिरामीको संसर्गबाट सर्ने गर्छ ।
४. गर्मी मौसममा सरसफाइका साथसाथै खानेकुरामा पनि पनि ध्यान दिनु आवश्यक छ । सकेसम्म सफा अनि ताजा खानेकुरा र झोलिलो पदार्थ पिउनुपर्छ । बाहिरको खानेकुरालाई बन्देज नै गर्नु फाइदाजनक हुन्छ ।
५. गर्मी मौसममा खाएको कुरा पनि अपच्य हुन सक्छ । त्यसैले व्यक्ति स्वयं सचेत भएर रोग लाग्नबाट बच्नुपर्छ । गर्मी मौसममा जतिसक्दो सफा पानी अथवा झोलिलो पदार्थ पिउने गर्नुपर्छ । यस्तै, हात धुने, ताजा खानेकुरा मात्र खाने तथा वातावरण सफा राख्नाले पनि धेरै रोगबाट बच्न सकिन्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>