प्रभावकारी बन्दै स्वास्थ्य बिमा कार्यक्रम, ९ हजारभन्दा बढीले गराए बिमा



Download our app to get more features

कास्की, चैत २३ गते । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका जिल्लामा उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  

पछिल्लो पटक कास्की जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा नौ हजार ४०८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।  स्वास्थ्य बिमा गराएकामध्ये ९८८ जनाले बिमा बापतको उपचार सेवा पनि लिइसकेका छन् ।  

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका प्रबन्धक कृष्णप्रसाद भट्टराईले स्वास्थ्य बिमा गरेका बिरामीका लागि सम्झौता भएका अस्पतालबाट बिमितहरूलाई उपचार सेवा दिइरहेको जानकारी दिए ।  

उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा, हिमालय आँखा अस्पताल, सिसुवा अस्पताल लेखनाथ, मातृशिशु मितेरी अस्पताल, अर्मला प्राथमिक स्वास्थ्य केन्द्र, मातृशिशु, थुम्सिकोट र नाम्चेचौरका प्राथमिक स्वास्थ्य केन्द्रबाट बिमितहरूको उपचार भइरहेको छ । 

प्रबन्धक भट्टराईले समितिले सम्झौता गरेका अस्पतालबाट उपचार सेवा दिन नसके थप उपचारका लागि काठमाडौँका केन्द्रीय अस्पतालमा समेत बिरामी पठाइएको जानकारी दिए ।  भट्टराईले स्वास्थ्य बिमा लागू भएका अरु जिल्लामा भन्दा कास्कीमा ढिलो कार्यक्रम सुरु भएर पनि धेरै जना सदस्य बनाउन सफल भएको जानकारी दिए । 

कास्कीभन्दा केही सङ्ख्याले इलाम जिल्ला अगाडि रहे पनि कास्कीमा वैशाखसम्म सबैभन्दा बढी सदस्य रहेको जिल्ला बन्ने बताए । स्वास्थ्य बिमा दर्ता अधिकारी कृष्णचन्द्र थिङले पुसबाट कार्यक्रम सुरु भएको जानकारी दिँदै छोटो समयमै मानिसहरू स्वास्थ्य बिमाप्रति आकर्षित भएको बताए ।
  
बिमा कार्यक्रममा मध्यमवर्गीय नागरिक बढी आकर्षित भएको जानकारी दिँदै उनले बिमा कार्यक्रमले मानिस स्वास्थ्यप्रति पनि सचेत हुन थालेको बताए ।  

प्राथमिक स्वास्थ्य केन्द्रमा हुनुपर्ने एक्सरे, युएसजी, ईसीजी, सेमी अटो एनालाइजर लगायतका मेसिन नहुँदा समस्या भएको जानकारी उनले दिए । अहिले केन्द्रमा चिकित्सकहरू छन् तर सामान्य उपकरण नहुँदा उपचार सेवा प्रभावित भएको भट्टराईको भनाइ छ ।  

चार लाख ९६ हजार जनसङ्ख्या भएको कास्कीमा एक लाख २५ हजार ४५९ घर धुरी छन् ।  देशका आठ जिल्लामा सुरु भएको बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या कास्कीमा दोस्रो स्थान रहेको छ ।  प्रबन्धक भट्टराईले स्वास्थ्य बिमा कार्यक्रममा परिचयपत्रका आधारमा गरिबलाई सरकारले नै बिमाबापत रकम उपलब्ध गराउने भनिएकोमा उक्त व्यवस्था नहुँदा समस्या उत्पन्न भएको बताए ।  

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले अब तीन वर्ष्भित्र ७५ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने जानकारी दिए । उनले यो वर्ष जुम्ला, जाजरकोट, महोत्तरी, रोल्पा, मकवानपुर, पर्सा, सुनसरी, रौतहट, सोलुखुम्बु, सुर्खेत, बर्दिया र सिन्धुली जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

सरकारले अछाम, बैतडी, पाल्पा, म्याग्दी, कास्की, कैलाली, वाग्लुङ र इलाम जिल्लामा भने यसअघि नै स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसकेको छ ।  हाल एक परिवारको उपचार खर्चबापत ५० हजार रुपियाँसम्मको स्वास्थ्य बिमा सुविधा दिने गरिएको छ ।  


(आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेको समाचार) 

Last modified on 2017-06-18 16:26:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts