स्वास्थ्य चौकी सारेपछि सर्वसाधारण मर्कामा



Download our app to get more features

बारा, २० चैत । जीतपुर–सिमरा उपमहानगरपालिका १७ को जैतापुर बजारमा दुई दशकअघि स्थापना भएको स्वास्थ्य चौकी सारिएपछि उक्त क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन् । 

फागुन ३० गते चौकी सारिएको हो । त्यहाँबाट कलैया उपमहानगरपालिका २४ को सखुईस्थित रामजानकी प्राविको एउटा कोठामा सारिएको स्थानीयले बताए । त्यहाँ भौतिक संरचना नभएकाले सञ्चालनमा भने आएको छैन । चौकी इन्चार्ज रामएकवाल यादवले १० हजारभन्दा बढी स्थानीय सेवाबाट वञ्चित भएको बताए । 

चौकी सारिँदा दुई सातादेखि स्थानीयहरू आन्दोलित छन् । प्रमुख जिल्ला अधिकारी वीरजयनारायण यादवसहित प्रहरी प्रमुख, जनस्वास्थ्य, अस्पताल प्रमुख, चौकीका इन्चार्ज र स्थानीय बासिन्दाबीच पटक–पटक छलफल हुँदासमेत टुंगो लागेको छैन । विरोधमा स्थानीयले चौकीका अहेव रामनरेश साहलाई चैत ८ मा केहीबेर घेराउ गरेका थिए । लगत्तै प्रहरी टोलीले उनलाई मुक्त गरेको थियो । 

‘जनस्वास्थ्य प्रमुख, स्वास्थ्य मन्त्री नजिकका केही स्थानीय नेताको दबाबमा चौकीका इन्चार्ज यादवले सर्वसाधारणको सुविधामाथि खेलवाड गरे,’ स्थानीय नवराज खड्काले आरोप लगाए, ‘चौकी भित्रका औषधि, दराज, उपकरण, फर्निचर लगायतका सबै सामान कसैलाई जानकारी नदिई फागुन ३० मा ट्रयाक्टरमा लग्नुभयो ।’ 

अहिले स्वास्थ्य सेवाबाट वञ्चित भएकोले त्यसविरुद्ध स्थानीय प्रशासनमा उजुरी दिएको उनले बताए । सारिएको र साबिकको ठाउँ जैतापुर एकै गाविस मनहर्वामा पर्छन् । अहिले स्थानीय तह पुनस्संरचनापछि जैतापुर जीतपुरसिमरा उपमहानगरपालिकामा र चौकी सारिएको ठाउँ सखुई कलैया उपमहानगरपालिकामा परेको छ । स्वास्थ्य चौकी संरक्षण संघर्ष समिति संयोजक विजय चौधरीले सरकारी स्वास्थ्य संस्था मनोमानी उठाएर लगेपछि हजारौ सर्वसाधारणलाई समस्या भएको बताए । 

जैतापुरमा सरसफाइको समस्या, भवन जीर्ण र स्वास्थ्य चौकी सञ्चालन गर्ने ठाउँमा माछामासु लगायत बिक्रीको लागि बजार राखेपछि समस्या हुँदा स्वास्थ्य चौकी आफूले नभई सखुईका स्थानीयले सारेको इन्चार्ज यादवले दाबी गरे । उक्त स्वास्थ्य चौकी विद्यालयको जग्गामा थियो । २०५१ मा गाविसले भवन बनाएको थियो । ‘अहिले जग्गादाता रघुवर यादवले सुखईमा स्वास्थ्य चौकीको नाममा १६ कट्ठा जग्गा पनि दिएका छन,’ इन्चार्ज यादवले भने, ‘त्यसैले त्यहाँ भन्दा व्यवस्थित सञ्चालन अहिले सारिएको ठाउँमा हुन्छ ।’ 

 

(आजको कान्तिपुर दैनिकमा लक्ष्मी साहले लेखेको समाचार)

Last modified on 2017-06-18 16:53:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts