धामीको भर पर्दा गर्भवतीको मृत्यु



Download our app to get more features

रोल्पा, १९ चैत । धामीझाँक्रीको भर पर्दा एक गर्भवतीको ज्यान गएको छ । निकै ढिला गरेर अस्पताल र्पुयाइएकी उत्तरी रोल्पास्थित दुईखोलीकी २० वर्षीया विमला रोकाको उपचार हुनै नपाई शुक्रबार मृत्यु भएको हो । 

गर्भमै उनको बच्चाको मृत्यु भएको थियो । बेहोस भएपछि मात्र उनलाई अस्पताल लगिएको थियो । गर्भवतीको उचित स्याहार नहुँदा यस्तो समस्या देखापर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘खुट्टा सुन्निने, बेहोस हुने, काम्नेलगायत समस्या हुँदासमेत विमलालाई समयमै उपचार गर्न नल्याउँदा उनको मृत्यु भएको हो,’ जिल्ला स्वास्थ्य प्रमुख डा. भवानीप्रसाद शर्माले भने, ‘बिरामी भएको धेरैपछि उनलाई स्वास्थ्य संस्थामा ल्याइएकाले उपचार गर्नै पाइएन ।’

सुरुमा सामान्य बिरामी भएकी उनलाई स्वास्थ्य संस्थामा लैजानुको साटो धामीझाँक्रीको भर पर्दा उपचारमा ढिलाइ भएको हो । ‘समयमै उपचार पाएको भए उनको मृत्यु हुने थिएन,’ डा. शर्माले भने । सानै उमेरमै विवाह भएकी विमलाले स्थानीय स्वास्थ्य संस्थामा नियमित जाँच गराउनसमेत नआएको जिल्ला स्वास्थ्यले जनाएको छ । 

गाउँ–गाउँमा प्रसूति केन्द्र सञ्चालन गरिए पनि स्वास्थ्य संस्थाप्रति स्थानीयको विश्वास एवं आकर्षण बढाउन नसक्दा गर्भवती महिला कमै मात्र आउने गरेका छन् । रोल्पा अस्पतालका वरिष्ठ अहेब कुलबहादुर डाँगीले गाउँ तहसम्म स्वास्थ्यसम्बन्धी चेतनाको विकास गर्न सरकारले विशेष कार्यक्रम नल्याउँदासम्म यस्तो समस्या हटाउन गाह्रो हुने बताए ।

 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)

Last modified on 2017-06-18 17:16:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts