फरक रक्त समूहबीच मृगौला प्रत्यारोपण सेवा सुरु
            काठमाडौं, १९ चैत । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलो पटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।
‘एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट’ भनिने यस्तो सेवामा अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको नौ वर्षपछि सफलता पाएको हो । यो प्रत्यारोपणमा मृगौला दिने र लिने दुवै व्यक्ति स्वस्थ रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रा.डा.दिव्या सिंह शाह र प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा भएको यो प्रत्यारोपणमा प्रा.डा. उत्तमकुमार शर्मा, डा.महेशराज सिग्देल, डा.मुकुन्द काफ्ले, डा.मिदान श्रेष्ठ, डा.पवनराज चालिसे, डा.भोजराज लुइँटेल, डा.रविन नेपाललगायत विज्ञ सरिक थिए । हालसम्म रहेको ‘ओ’ रगत समूह बाहेकका सबै दाताले आफ्नै रगत समूहका व्यक्तिलाई मृगौला दान दिनुपर्ने बाध्यता अब हटेको डा.शाह बताउँछिन्, ‘हामीले यस्तै प्रकृतिको दोस्रो प्रत्यारोपण गर्नसमेत बिरामी भर्ना लिइसकेका छौं ।’
‘एवो इनकम्प्याटेवल’ जटिल प्रविधि भएकाले भारतमा पनि दुईरचार केन्द्रमा मात्र प्रत्यारोपण गरिने उनी बताउँछिन् । विज्ञका अनुसार यस्तो प्रत्यारोपण जापानमा बढी हुने गरेको छ । यस्तो प्रत्यारोपण गर्न बिरामीको पूर्व उपचार आवश्यक हुन्छ । यसका लागि दुई साताअघि नै बिरामीलाई अस्पताल भर्ना गरेर अलग रक्त समूहको मृगौला लिन शरीरमा उपयुक्त वातावरण बनाइन्छ । प्रत्यारोपणपछि समेत बिरामीको उपचार गरिन्छ ।
एक तथ्यांकअनुसार करिब ३० प्रतिशत सम्भावित मृगौलाको जीवित दातामा रगत समूह नमिल्ने समस्या देखिएको औंल्याउँदै डा.शाह भन्छिन्, ‘परिवारमा दाता उपलब्ध रहे पनि रगत समूह नमिलेर समस्यामा पर्ने गरेका थुप्रै केस हामीकहाँ आइरहेका थिए, अब उनीहरूले राहत पाउने छन् ।’ यो उपचारअन्तर्गत प्रत्यारोपण गर्ने व्यक्तिको रगतबाट ‘एन्टिबडी’ हटाइन्छ । यसपछि संक्रमणबाट जोगाउने ‘एन्टिबडी’ अर्थात् इन्ट्राभेनस इम्युनोग्लोविन सुईको माध्यमले हालिन्छ । यसपछि नयाँ मृगौलालाई एन्टिबडीबाट जोगाउन अन्य औषधिहरूसमेत दिइन्छ ।
फरक रगत समूहको मृगौला स्वीकार गर्न शरीरमा उपयुक्त वातावरण निर्माणका लागि भने करिब थप पाँच लाख रुपैयाँ खर्च लाग्ने औंल्याउँदै डा.शाह भन्छिनन्, ‘सामान्य प्रत्यारोपणमा करिब तीन लाख खर्च हुन्छ भने यसमा आठ लाख जति लाग्छ ।’ शिक्षण अस्पतालले ९ वर्षमा चार सय २१ वटा मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालले दुई वर्षअघि बालबालिकामा समेत मृगौला प्रत्यारोपण सुरु गरेको थियो । 
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>