मागअनुसार औषधि आपूर्ति नहुँदा राप्ती अञ्चल अस्पताल फार्मेसी प्रभावहीन
दाङ, १६ चैत । राप्ती अञ्चल अस्पताल आफ्नै फार्मेसी सञ्चालन गर्न अक्षम देखिएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारी नीति रहे पनि मागअनुसार औषधि आपूर्ति नहुँदा प्रभावकारी हुन नसकेको हो ।
आफंैले सबै औषधि र्पुयाउन नसकेपछि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालले त आफ्नो हाताभित्रै साझा औषधि बिक्री कक्षसमेत सञ्चालन हुन दिइरहेको छ । यसअघि औषधि बिक्री गर्दै आएको साझा स्वास्थ्य सेवा अस्पतालले फार्मेसी चलाएपछि हट्नुपर्ने व्यवस्था थियो ।
अस्पतालले सबै औषधि व्यवस्था गर्न नसक्दा वैकल्पिक सहायताका लागि साझालाई पनि राखिएको अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. जनार्दन पन्थीले बताए । ‘हामीसँग सबै औषधि नहुन सक्छ । त्यस्तो बेला राति बिरामीलाई कता जाऊ भन्ने ?,’ उनले भने, ‘त्यसैले साझालाई पनि अस्पतालभित्रै औषधि बिक्री गर्न दिएका छौं ।’
भित्रै ठूलो मात्रामा औषधि राखेर साझा बसेपछि अस्पतालको फार्मेसी ओझेलमा परिरहेको छ । सबै औषधि साझामै पाइने भएपछि बिरामी त्यतै जान्छन् । ‘औषधि बिक्रीमा सक्षम हुन केही समय लाग्छ । औषधि खरिद प्रक्रिया जटिल हुँदा समस्या भइरहेको छ,’ पन्थीले भने, ‘हाम्रो पहिलो प्रयास हो, धेरै कुरा सिक्नु छ ।’
तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा पनि सबैखाले औषधि व्यवस्था गर्न कठिनाइ भएको छ । सरकारले ५ लाखभन्दा बढीको औषधि किन्दा टेन्डर गर्नुपर्ने भनेकाले तत्काल चाहिएको औषधि किन्न नसकिएको निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. पदम अधिकारीले बताए । ‘एक वर्षका लागि टेन्डर गर्नुपर्ने नियम छ । ८ सय प्रकारका औषधि चाहिनेमा २ सयसम्मको मात्र टेन्डर हाल्छन्,’ उनले भने, ‘सस्तो र फाइदा हुने खालका औषधि मात्र टेन्डर पर्छन्, चाहिएका पर्दैनन् । वर्षभरिको औषधि एकैचोटी ल्याउन पनि कठिन हुन्छ ।’
फार्मेसीमार्फत औषधि बिक्री गर्दा बिरामी र अस्पताललाई फाइदा भए पनि औषधि किन्ने प्रक्रियाले जटिल बनाइरहेको उनको भनाइ छ । ‘अस्पतालकै फार्मेसी हुँदा फाइदा त धेरै छन् । नाफाको ५० प्रतिशत बिरामीले पाउँछन् भने ५० प्रतिशत अस्पतालले,’ उनले भने, ‘यसअघि सबै नाफा एक जना व्यवसायीले मात्रै पाएको थियो । यसलाई अझ प्रभावकारी बनाउन औषधि खरिद प्रक्रिया सहज हुनुपर्छ । चाहिएको बेला औषधि किन्न पाइने अवस्था हुनुपर्छ ।’ पहिले डाक्टरले बिरामी जाँच्ने मात्रै काम गर्ने गरेकोमा अहिले फार्मेसीको थप बोझ थपिएको डा. अधिकारीले बताए । एकातिर डाक्टरकै अभाव छ भने अर्का्तिर फार्मेसीको प्रभावकारितामा समस्या ।
अञ्चल अस्पतालमा १४ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि हाल चार जना मात्रै कार्यरत छन् । ‘दरबन्दीअनुसार १० जना डाक्टर छैनन् । ५० वटा सबै शय्यामा बिरामी छन्,’ उनले भने, ‘तैपनि काजमा आएका डाक्टरको सहयोगले अहिलेसम्म सेवा दिइरहेका छौं ।’
उपक्षेत्रीय अस्पतालमा पनि जनशक्ति अभाव छ । नाक, कान, घाँटीका डाक्टर छैनन् । डा. ढुण्डिराज पौडेल सरुवा भएर वीर अस्पताल गएपछि अर्को डाक्टरको व्यवस्था हुन सकेको छैन । प्रत्येक विषयमा तीन जना विशेषज्ञ डाक्टर भए सेवा दिन सजिलो हुने अस्पतालका प्रमुख डा. पन्थीले बताए ।
(आजको कान्तिपुर दैनिकमा दुर्गालाल केसीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>