मिर्गौलाका बिरामी औषधि किन्नै सक्दैनन्



Download our app to get more features

काठमाडौं, १३ चैत । भक्तपुर सल्लाघारीकी सुनीता महर्जनको दुवै मिर्गौलाले काम गर्दैन । गत २ वर्षदेखि उनलाई साताको २ पटक डायलोसिस गर्नुपर्छ । ‘गहना बेचें, जग्गा बेचें, ऋणमा डुबें,’ उनले भनिन्, ‘अब गर्न केही बाँकी छैन, कसरी जुटाउनु उपचार खर्च ।’ ४५ वर्षीया महर्जन उपचार गराउँदा गराउँदै थाकेको बताउँछिन् । विपन्न परिवारकी उनलाई उपचारका लागि अहिले मासिक २५ हजार रुपैयाँ खर्च लाग्छ । ‘सरकारले डायलोसिस निस्शुल्क गरिदिएको छ, तर अरू खर्च धेरै छ,’ उनले भनिन्, ‘महिनैपिच्छे रगत जाँच्नुपर्छ, दैनिक औषधि खानुपर्छ, त्यहीअनुसारको फलफूल र तागतिलो खानेकुरा ।’

इमाडोलका तिलक केसी पनि मिर्गौलाका रोगी हुन् । ३ वर्षयता उनले पनि डायलोसिस गराउँदै आएका छन् । ‘जागिर छाडें, जग्गा बेचें, घर बेचें,’ उनले भने, ‘धेरै खर्चिलो रैछ यसको उपचार ।’ उनलाई अहिले मासिक २० हजार रुपैयाँ आवश्यक पर्छ । सरकारले दिएको निस्शुल्क डायलोसिसले केही राहत भए पनि खर्च कम नभएको उनको अनुभव छ । ‘औषधि धेरै महँगो छ, अरू टेस्ट पनि गरिरहनुपर्छ, खानेकुरा पनि पोषिलो चाहियो,’ उनले भने, ‘अब त बेच्न बाँकी केही छैन, कसैले ऋण पनि पत्याउँदैनन् ।’

सरकारले मिर्गौलाका बिरामीका लागि डायलोसिसको निस्शुल्क व्यवस्था मिलाएको छ । पहिले एकपटक डायलोसिस गर्दा २५ सय रुपैयाँ लाग्थ्यो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार निस्शुल्क डायलोसिस गर्ने सरकारको व्यवस्थाले बिरामीलाई केही राहत र्पुयाएको छ । 

उनका अनुसार अहिले मिर्गौला डायलोसिस गरेका बिरामीलाई अन्य खर्चमा मासिक २० देखि ३० हजार रुपैयाँसम्म लाग्छ । ‘बिरामीले डायलोसिसको अवस्था हेर्न महिना–महिनामा रगत जाँच्नुपर्ने र त्यसका लागि छुट्टै २५ सय रुपैयाँ लाग्ने बताए । ‘रगत बढ्ने इन्जेक्सन दिनुपर्छ, दैनिक औषधि खानुपर्छ,’ उनले भने, ‘यसका लागि थप १५ हजार रुपैयाँ लाग्छ । त्यस्तै एचआईभी र हेपटाइटिस ‘बी’ संक्रमणको पनि नियमित जाँच गराउनुपर्छ, थप २ हजार लाग्छ । विपन्न बिरामीले धान्नै सक्दैनन्,’ उनले भने ।

बिरामीले अन्य खर्च जुटाउन नसक्दा कतिले त डायलोसिस गर्नै छोडिदिने गरेको डा. काफ्ले बताउँछन् । सरकारले बिरामीका लागि ल्याउनरलैजान निस्शुल्क एम्बुलेन्सको व्यवस्था गरे थप राहत हुने उनको भनाइ छ । ‘अस्पतालमा कुरुवाघर या धर्मशालाको व्यवस्था भए, टाढाबाट आउने बिरामीलाई सहज हुन्छ,’ उनले भने ।

 

(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार)

Last modified on 2017-06-19 12:57:43

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts