बिरामी बोक्न महिला र केटाकेटीको भर



Download our app to get more features

दिपायल, ६ चैत । गाउँमा वृद्ध र महिला मात्र छन् । स्कुले विद्यार्थी सबै विद्यालय जान्छन् । गाउँमा कसैको स्वास्थ्यमा खराबी देखियो भने कक्षा छाडेर कुदिहाल्नुपर्छ तिनै विद्यार्थीलाई । ’गाउँमा युवा कोही पनि छैनन्, महिला र हामीजस्ता विद्यार्थी मात्र छौं’, आदर्श गाउँपालिका ४ महादेवस्थान निवासी विनोद विष्टले भने, ’कोही बिरामी भयो भने पनि हामी नै बोकेर लैजान्छौं स्वास्थ्य संस्थामा ।’

उक्त क्षेत्रबाट स्वास्थ्य चौकी टाढा भएकाले गाउँमा कोही बिरामी परे स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ । पुरुषहरू रोजगारीको सिलसिलामा छिमेकी देश भारतलगायत मुलुक जाने गरेकाले डोटीका अधिकांश गाउँमा महिला, बालबालिका तथा वृद्ध मात्र छन् । ’डोटीका प्रायः सबै गाउँमा सडक पुगिसकेको छ । तर ती सबै प्रयोगमा छैनन् । सडक पुगेर के गर्नु ? हाम्रा दुःख हामीसँगै छन्’, स्थानीय बिस्नादेवी बोहराले भनिन्, ’सडक मात्र छन्, ती पनि साँघुरा भएका कारण गाडी चल्दैनन् ।’

विद्यार्थी नभएको बेला महिलाले दुई–तीन घन्टाको बाटो बोकेर बिरामीलाई अस्पताल लैजाने गर्नुपर्ने बाध्यता रहेको अर्की स्थानीय गोमा विष्टले बताइन् । ’महिला भनेर के गर्नु ? सबै काम नगरी सुखै छैन’, उनले भनिन्, ’सामान्य समस्या भए पनि दिनभरको बाटो छिचोलेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ झुँडाबासीको ।’ महादेवस्थान गाविस स्वास्थ्य चौकी टाढा रहेकाले यहाँका जनतालाई सामान्य रोगको पनि उपचार गर्न पनि समस्या रहेको महिला स्वास्थ्य स्वयंसेविका जयन्ती मल्लको भनाइ छ ।


बिरामी पर्दा करिब चार घन्टा पैदल हिँडेर स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यताले साह्रै समस्या निम्त्याएको नन्दराम रोका मगरले बताए । जनजाति बस्ती भएको जोरायल गाउँपालिका ४ लक्ष्मीनगर, थलीमा पनि न स्वास्थ्य संस्था छ न एउटा महिला स्वास्थ्य स्वयंसेविका छन् । ’महिला सुत्केरी हुँदा होस् या अन्य कुनै सामान्य बिमारी हुँदा चार घन्टा हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता छ’, रोका मगरले भने, ’स्वास्थ्य संस्था नपुर्याउँदै कतिपय बिरामी मृत्युसमेत हुने गरेको छ ।’


जिल्लाका अधिकांश बस्ती स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेको महादेवस्थान स्वास्थ्य चौकीका अहेव चन्द्रबहादुर विष्टले बताए । ’गाउँमा पुरुष नभएकाले यहाँका महिला तथा बालबालिकालाई समस्या हुने गरेको छ’, उनले भने, ’टाढाका बस्तीलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले नयाँ योजनाका साथ काम थाल्नुपर्छ ।’

डोटीका ग्रामीण भेगका बस्ती धेरै टाढाऔटाढा रहेकाले स्वास्थ्यको पहुँचमा ल्याउन गाह्रो परिरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख सतीश विष्टले बताए । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउने आफूहरूको प्रयास जारी रहेको उनको भनाइ छ ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्रबहादुर सिंहले लेखेको समाचार)

Last modified on 2017-06-19 15:41:40

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts