पाठेघर फाल्न सीमा क्षेत्रका महिला सीमापारि



Download our app to get more features

बारा, २९ फागनु । सीमा क्षेत्रका महिलाले भारतको विभिन्न ठाउँमा गएर पाठेघरको शल्यक्रिया गर्ने गरेको पाइएको छ । 

नेपालमै सरकारले पाठेघरको सम्पूर्ण उपचार निस्शुल्क गरिदिने व्यवस्था गरेको भए पनि उनीहरू सीमापारि पुगेर महँगो शुल्क तिरेर पाठेघरको शल्यक्रिया गराउँछन् ।

बाराकी सीतादेवी सोनारले गाउँको स्वास्थ्य चौकीमा खुलेर आफ्नो समस्या भन्न अप्ठ्यारो लागेपछि भारतको फत्तेपुर गएर पाठेघर निकालेको बताइन् । यसका लागि उनले ३० हजार तिरिन् । भारतमा गरेको शल्यक्रियापछि स्वास्थ्यमा निकै समस्या आएपछि उनी जनस्वास्वास्थ्य कार्यालय कलैयाले चलाएको स्वास्थ्य शिविरमा पुगिन् । परीक्षण गर्दा उनको आधा मात्रै पाठेघर निकालिएको थाहा भयो । सीतादेवीले अहिले पनि स्वास्थ्य समस्या झेलिरहेकी छन् । 

सीतादेवी जस्तै भारत गएर पाठेघर फाल्ने अर्की पात्र हुन्– कैलारी देवी भानु । चिनजानकै व्यक्तिले भारत गएर पाठेघर जँचाउने सुझाव दिएपछि उतै गएको उनले बताइन् । नेपालमै निस्शुल्क पाठेघरको उपचार हुन्छ भन्ने आफूलाई थाहा नभएको उनले बताइन् । ‘नेपालभन्दा भारतकै अस्पताल नजिक पर्छ, त्यसैले उतै गएँ,’ उनले भनिन् । ७ सन्तानकी आमा कैलारी देवीले सुत्केरी भएका बेला प्रशस्त पोषणयुक्त खाना नपाएको बताइन् । 

पाठेघरको शल्यक्रियाका लागि सीमापारि जानेको संख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रोशनलाल चौधरीले बताए । ‘यता निस्शुल्क छ, सीमापारि पुगेर महँगो शुल्क तिरी–तिरी शल्यक्रिया गराउँदा रैछन्,’ चौधरीले भने ।

धेरै सन्तान जन्माउने महिला प्रायस् पाठेघर झर्ने समस्याले पीडित हुने गरेको जनस्वास्थ्य कार्यालय बाराकी पब्लिक हेल्थ नर्स माया शाहले बताइन् । 

सानो उमेरमा विवाह गर्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने गर्दा पाठेघर झर्ने समस्याले विकराल रूप लिँदै गएको प्रमुख चौधरीले बताए । ‘सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ, आराम गर्नुपर्छ भन्ने चेतनै छैन यहाँका महिलालाई,’ उनले भने, ‘कतिलाई थाहा छैन, कतिको परिवारले वास्ता गरेको देखिँदैन ।’ 

कार्यालयले गत जेठमा जबदी गाविसमा महिला स्वास्थ्य शिविरबाट पाठेघरको स्क्रिनिङ गरेको थियो । जसमा ८६ जना महिलामध्ये ६० जनामा पाठेघरको रोग देखिएको थियो । तीमध्ये १० जनाको त तुरुन्तै शल्यक्रिया गर्नुपर्ने स्थिति फेला परेको परिवार नियोजन शाखाका अधिकृत राघवेन्द्र कर्णले बताए । त्यस्तै पुरैनिया गाविसमा ५१ जना महिलाको पाठेघर जाँच गराउँदा ८ जनाको शल्यक्रिया गर्नैपर्ने अवस्था देखिएको उनले बताए । उनका अनुसार धेरै कम महिला मात्र स्वास्थ्य शिविरमा जाँचका लागि आउँछन् । 

‘घरघरै बोलाउन जाँदा पनि स्वास्थ्य शिविरसम्म आउन मान्दैनन्,’ उनले भने, ‘आफैं अस्पताल गएर स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने त चेतना नै छैन ।’ शिविरमा आएका महिलाले पनि सल्लाहबमोजिम उपचार गर्न नजाने, औषधि नखाने गरेको कर्ण बताउँछन् ।

‘भर्खरै महिनावारी भएकादेखि लिएर ८० वर्षसम्मका महिला पाठेघरका बिरामी छन्,’ पब्लिक हेल्थ नर्स शाह भन्छिन्, ‘तर महिलासँग पनि पाठेघरको समस्या भन्न लजाउँछन् । पुरुष डाक्टरसँग त परपर हुन्छन् । महिलाहरू रोग र पीडा दबाएर बस्छन् तर उपचार गराउँदैनन् ।’ अधिकांश महिला शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा मात्रै अस्पताल जाने गरेको स्वास्थ्य स्वयंसेविकाहरू बताउँछन् । 

आफ्नो गाउँठाउँको अस्पतालमा पाठेघरको रोगबारे भनेमा समाजले अपहेलना गर्ने डरका कारण भारत गएर उपचार गर्न प्रेरित हुने गरेको प्रमुख चौधरी बताउँछन् । यसमा सीमाका एजेन्टहरूले गुणस्तरीय स्वास्थ्य उपचार हुन्छ भन्ने प्रलोभनमा पार्ने गरेको उनी बताउँछन् । ‘यस्ता एजेन्टहरू सीमा वारपार छ्याप्छ्याप्ती घुमिरहेका छन्,’ उनले भने । समातेर कारबाही गर्ने कुनै निकाय नहुँदा उनीहरूले बढावा पाइरहेको चौधरीको ठहर छ ।

सीमापारि अदक्ष स्वास्थ्यकर्मीले शल्यक्रिया गर्ने गरेको पत्ता लागेको परिवार नियोजन अधिकृत राघवेन्द्र कर्ण बताउँछन् । ‘शल्यक्रिया नै गर्नु नपर्ने महिलाको पनि शल्यक्रिया गरिदिएको देखियो,’ उनले भने, ‘गन्हाउने पानी बगेकै आधारमा शल्यक्रिया गरिदिएको पनि पाइयो ।’ यो क्षेत्रका महिला पाठेघर उपचारका लागि भारतको घोडासाहन, मोतीहारी, ढाका, खैरवा जाने गरेका छन् । 

आर्थिक रूपमा विपन्न र अशिक्षित परिवारका अधिकांश महिलामा पाठेघरको रोग लाग्ने गरेको कर्णले बताए । ‘परिवार नियोजन गर्न नमान्ने र परम्परागत सोचाइका कारण होला, मुस्लिम महिलामा यो रोग बढी देखिएको छ,’ कर्णले भने, ‘छोटो जन्मान्तरमा धेरै सन्तान जन्माउनेलाई पाठेघरको रोग लाग्ने संभावना बढी हुन्छ । ललाइफकाइमा पर्ने र सीमापारि लैजान सजिलो हुने पनि तिनै महिलालाई हो ।’ 


(आजको कान्तिपुर दैनिकमा फातिमा बानु र लक्ष्मी साहले लेखेको समाचार) 

Last modified on 2017-06-19 16:03:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts