कृत्रिम खुट्टा नेपालमै निःशुल्क
काठमाडौँ, २८ फागुन । विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ ।
चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो ।
कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम शुल्कमा विश्व बजारमा सेवा र्पुयाएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको छ ।
चौधरी ग्रुपद्वारा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा मंगलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र जयपुर फुटका संस्थापक डा. डीआर मेहताले सयौं नागरिकलाई साक्षी राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कल्याणकारी कामका लागि मेहतालाई भारत सरकारले सन् २००८ मा पद्मभूषण र सन् २०१२ मा राजीव गान्धी नेसनल सद्भावना अवार्डबाट सम्मानित गरेको थियो ।
‘कुनै कारणवश खुट्टा गुमाउनेको पीडा वास्तवमा अकल्पनीय हुन्छ । उनीहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराएर पीडामा मलम लगाइदिने हाम्रो प्रयास हो’, चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडितलाई प्राथमिकता दिनेछौं ।’
समझदारीअनुसार जयपुर फुटले बर्से्नि तीन सयवटा कृत्रिम खुट्टाका लागि आवश्यक पर्ने सामग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउनेछ । यसरी प्राप्त भएका सामग्रीबाट फाउन्डेसनले नेपालमै कृत्रिम खुट्टा तयार गरी निःशुल्क वितरण गर्नेछ । यसका लागि नवलपरासीमा उत्पादन केन्द्र खोलिने भएको छ । उत्पादन केन्द्र, प्राविधिक जनशक्ति एवं अन्य सञ्चालन खर्च चौधरी फाउन्डेसनले गर्नेछ ।
चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले यो परियोजनामार्फत चौधरी फाउन्डेसनको दायरा थप फराकिलो बनेको र मानव कल्याणका लागि संवेदनशील क्षेत्रमा योगदान र्पुयाउन लागिएको बताए । ‘हाम्रो प्रयासले नेपालमा खुट्टाको अभाव भोगिरहेका व्यक्तिमा नया“ ऊर्जा प्राप्त हुने विश्वास लिएका छौं’, मेहताले भने, ‘समाजसेवामा महत्ववपूर्ण योगदान र्पुयाइरहेको चौधरी फाउन्डेसनजस्तो प्रतिष्ठित संस्थास“ग सहकार्य गर्न पाउँदा म उत्साहित छु ।’ जयपुर फुटले मनिला, करा“ची, इस्लामाबाद, कोलम्बो, अफगानिस्तान, मौरिससलगायत स्थानबाट आफ्नो सेवा र्पुयाइरहेको छ ।
विश्वविख्यात अमेरिकी टाइम म्यागेजिनले जयपुर फुटले न्यूनतम शुल्कमा उच्चतम सेवा र्पुयाएको र कृत्रिम खुट्टा उत्पादन गर्ने अमेरिकी कम्पनीको तुलनामा निकै प्रभावकारी सेवा दिइरहेको टिप्पणी प्रकाशित गरेको थियो ।
अहिले नेपालमा उपलब्ध कृत्रिम खुट्टालाई २० हजार रुपैया“देखि एक लाख रुपैया“सम्म पर्छ । आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडित यो पहलबाट लाभान्वित हुनेछन् । नेपालमा दुर्घटना वा अन्य कारणले खुट्टा गुमाउने पीडित धेरै छन् । कृत्रिम खुट्टा किन्न नसकेर धेरै पीडित घरमै खुम्चिएर बस्नुपरेको छ । चौधरी फाउन्डेसनले निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराउन थालेपछि सबैको पहुँचमा पुग्ने ग्रुपका जनरल म्यानेजर पौडेल बताउँछन् ।
चौधरी फाउन्डेसनले कृत्रिम खुट्टा उत्पादनका लागि प्रक्रिया सुरु गरिसकेको बताएको छ । चौधरी ग्राममा निर्माण हुने कृत्रिम खुट्टाको फ्याक्ट्रीमा प्राविधिक सहयोग जयपुर फुटको हुनेछ भने सम्पूर्ण लगानी चौधरी फाउन्डेसनको । पछिल्लो समय चौधरी ग्रुप सामाजिक क्षेत्रमा सक्रिय रूपमा लागेको देखिन्छ । भूकम्पपीडितलाई घर बनाइदिनेदेखि दर्जनौं सामाजिक कार्यमा ग्रुपको योगदान छ ।
चौधरी फाउन्डेसनले भारतको जयपुर फुटसँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउन लागेको हो ।
(आजको अन्नपूर्ण पोष्ट दैनिकमा नवीन अर्यालले लेखेको समाचार)
1 Comments
-
मारवाडि सेवा सामितिको तर्फबाट सन् २००३ साल बाट नै नि: शुल्क रुपमा प्रदान गर्दै आएको यो किसिमको कृत्रिम अँग नेपाल मा विभिन्न ठाउँमा बितरण हुँदै आएको छ। यसले आवश्यकताको परिपूर्ति त अवश्य नै गर्नेछ । तर आर्थिक हिसाब मा सस्तो यो अंग प्राबिधिक रुपमा धेरै कम गुणस्तरको मानिन्छ । त्यसैले कुनै पनि संस्थाले कृत्रिम अंग पुनःस्थापना सेवा प्रदान गर्दा सम्बन्धित स्वास्थ्यकर्मी प्रोस्थेटिस्ट कै सुपरिवेक्षण मा सेवा दिनु अनिवार्य हुन्छ ।किनभने शारिरीक पुनःस्थापना स्वास्थ्य मा आधारित कार्य हो ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>