आत्मविश्वासले क्यान्सरमाथि जित
चितवन, २७ फागुन । भरतपुर १० स्थित सिँचाइ रोडकी ४६ वर्षीया वन्दना खाँडको व्यस्तता अहिले बढेको छ । पहिले आफ्ना लागि बाँचेजस्तो लाग्थ्यो । अहिले उनी अरूका लागि बाँचेकी छन् । क्यान्सर जितेर नयाँ जीवन पाएसँगै उनको साहस बढेको छ । यो रोग लागेर निराश बन्नेहरूका लागि उनी प्रेरणाकी पात्र बनेकी छन् । अरूलाई बाँच्न हिम्मत प्रदान गर्दै हिँडिरहेकी छन् । त्यसैले अहिले उनलाई एकछिन फुर्सद छैन ।
अधिकांश समय क्यान्सर रोगविरुद्धको अभियानमा जुटछन् । सुरुमा उनको दाहिने स्तनमा गिर्खा देखा र्पयो । कताकता दुस्खेजस्तो अनुभूति हुन्थ्यो । शंका लागेर चिकित्सकलाई भेट्न गइन् । अल्ट्रा साउन्ड गराउँदा सानो गिर्खा देखियो । त्यसपछि ‘मेमोग्राफी’ परीक्षण गराइन् । ‘२०७२ भदौमा शंका लागेर चेक गराएँ,’ उनले भनिन्, ‘नभन्दै स्तनमा गिर्खा देखियो, परिवार र चिकित्सकको सल्लाहमा आशा अस्पतालमा अप्रेसन गराएँ ।’ उनलाई चिकित्सक गंगा सापकोटा र शारदा कुँवरले हिम्मत हार्न दिएनन् ।
भरतपुर क्यान्सर अस्पताल र दिल्लीबाट बायोप्सी रिपोर्ट आएपछि रोग लागेको पुष्टि भयो । पहिलो स्टेजको क्यान्सर भएकाले आत्तिन ुपर्ने अवस्था थिएन । ‘मलाई क्यान्सर भन्नेबित्तिकै मरिन्छ भन्ने कहिल्यै भएन,’ उनले भनिन्, ‘अब बाँच्दिन भनेर नकारात्मक सोच कहिल्यै आएन ।’ उनका २ छोरी, श्रीमान् र सासू छन् । महिलामा बढी हुने क्यान्सर भनेको स्तन र पाठेघरको हो । यसबारे सबै सचेत हुनुपर्ने उनी सुनाउँछिन् । रोगबारे छोरीहरूले पनि थाहा पाउनुपर्छ भनेर उनले दुवै छोरीलाई अस्पताल जाँदा साथै लान्थिन् ।
‘क्यान्सर भएको थाहा भयो, अब केमु चढाउँदा कपाल झर्छ भन्ने थियो, चिकित्सले मलाई आत्तिनु पर्दैन भन्दै हौसला दिन्थे,’ उनले भनिन्, ‘अस्पतालबाट आएर घरमा इन्टरनेटमा खोज्दा यो रोगबारे थाहा हुन्थ्यो, के–के साइड इफेक्ट हुन्छ भनेर जानकारी पाउँथें ।’ उनले सासू र माइतका बाबुआमालाई आत्तिने डरले क्यान्सर भएको बारे थाहा दिइनन् । कात्तिक ७ गते पहिलो केमो लगाइन् । ‘६ वटा केमोथेरापी गर्नुर्पयो,’ उनले भनिन्, ‘तर अस्पताल बसिनँ, केमो लगाएपछि घरमै आउँथें ।’ अस्पताल जाँदा उनले त्यहाँ क्यान्सर रोगले आत्तिएका धेरैलाई देखिन् । तर, कसैको मुहारमा हाँसो देखिनन् । उनीहरूको मुहारमा हाँसो भर्ने काम गर्थिन् उनी ।
चिकित्सकले बिरामीलाई राम्रोसँग परामर्श दिन नसक्दा बढी त्रस्त भएको उनले थाहा पाइन् । ‘यस्तो अवस्था देखेपछि साह्रै दुस्ख लागेर आयो,’ उनले भनिन्, ‘मैले उपचारका क्रममा क्यान्सर ठीक भएपछि यो रोगसम्बन्धी सचेतना चलाउने अठोट गरेकी थिएँ, आज त्यही अठोट पूरा गर्न ठाउँठाउँमा भरतपुरस्थित क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर गर्न सफल भएकी छु ।’ उनले उपचारका क्रममा घर फर्कने गाडीभाडासमेत नभएका बिरामीका आफन्तलाई फेला पार्थिन् । ‘बढी निराश महिला बिरामीलाई देख्थें, उनीहरू रोग लाग्यो, अब मर्छु, उपचार गर्दागर्दै श्रीमानको सम्पत्ति सकिने भयो भन्दै एकोहोरो निराशा पोख्थे,’ उनले भनिन्, ‘क्यान्सर लागेर आएका पुरुषहरू भने आफ्नै सम्पत्ति हो, सकिए पनि केही हुँदैन भन्थे ।’
क्यान्सर अस्पतालमा आउनेले उपचार गर्ने ठाउँ थाहा नपाएरै दिन बित्थ्यो । उपचारमा छुट पाइने कुरासमेत धेरैलाई थाहा हुँदैनथ्यो । उनले यसमा धेरैलाई सहयोग गरिन् । यस्ता दृश्यले उनलाई क्यान्सर सचेतना अभियान चलाउन झन् साहस मिल्दै गयो । ‘रोग लागे पनि हाँसेर बोल्ने भएकाले सबैले समस्या पर्दा मलाई सोध्थे,’ उनले भनिन्, ‘एक जनाले चितवनमा बसेकालाई पनि क्यान्सर रोग लाग्छ र ? भनेर सोध्दा म स्तब्ध बनें ।’ उनको गत फागुनमा केमु थेरापी सकियो । केमो चढाउँदा उनलाई सुरुमा पखाला चल्यो । मुखमा घाउ आयो । कपाल र्झयो । खान मन लाग्दैनथ्यो । ‘केमो चढाएर घर फर्किंदा कहिल्यै ओछयानमा आराम गरिनँ,’ उनले भनिन्, ‘आफूलाई बलियो र हिम्मतिली बनाउन टीभी हेर्थें, नेट चलाउँथें ।’
उनी ०५४ सालदेखि गैरसरकारी संस्थामा आबद्ध भएर काम गर्दै आएकी छन् । केयर नेपालमा प्रोजेक्ट म्यानेजरका रूपमा काम गर्थिन् । ३ जिल्ला हेर्थिन् । तर, उक्त कार्यक्रम ०७३ वैशाखबाट सकियो । उनलाई काठमाडौं गएर काम गर्ने अवसर दिइयो तर गइनन् । उनको सपना अब क्यान्सर रोगको सचेतना बढाउने छ ।
स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट अकालमा ज्यान फाल्न बाध्य महिलालाई बचाउनु छ । रोग लागेकालाई बाँच्न हिम्मत दिनु छ । अहिले घरमा ‘परिचय’ संस्था खोलेकी छन् । ०६६ सालमा स्थापना भएको संस्था बीचमा सक्रिय भएन । अब उनले यही संस्थामार्फत क्यान्सर सचेतनाको कार्यक्रम चलाउनेछिन् ।
(आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>